
धनगढी – निर्माणाधिन धनगढी अत्तरिया जोड्ने ६ लेन सडक आयोजना अन्तर्गत निर्माण हुने तीन वटा पुलको ठेक्का अनिश्चित बनेको छ ।
सडक निर्माणको काम ७० प्रतिशत बढी सम्पन्न भइसक्दा सोही सडक अन्तर्गत निर्माण गरिनुपर्ने मोहना पुल, गेटा स्थित मनहरा खोला र गेटी खोलामा निर्माण गरिने पुलको ठेक्का भने अझै नभएको मोहना अत्तरिया सडक आयोजना कार्यालयले जनाएको छ ।
सडक निर्माणका लागि तीन वर्ष अघि नै ठेक्का दिएर काम अघि बढिसक्दा पुलको ठेक्का प्रक्रिया भने अझै अनिश्चित छ ।
करिब पौने दुई अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने मोहना अत्तरिया खण्डको १४ किलोमिटर ६ लेन सडकका लागि तीन वटा पुल निर्माण गरिनु पर्ने गरी डिजाईन तयार गरिएको थियो ।
आयोजना कार्यालयका अनुसार कन्सलटेन्टले निर्माण गरेको डिजाईनलाई सडक विभागले अझै अध्ययनमा सिमीत राखेका कारण पुलको ठेक्का प्रक्रिया लम्बिएको देखिन्छ । ‘अध्ययन चित्त बुझ्दो भएको खण्डमा मात्रै सडक विभागले पुलको डिपिआर तयार पार्ने हो’ ६ लेन सडक आयोजना प्रमुख होमबहादुर एसीले भने–‘यदी केही त्रुटि भेटिएको खण्डमा फेरि सच्याइन लगाइन्छ, विभागको मापदण्ड अनुसार डिजाईन तयार भएपछि मात्रै डिपिआर तयार हुन्छ, त्यसपछि टेण्डर प्रक्रियामा जाने हो ।’
उनले चालु आर्थिक वर्षमा पुलको ठेक्का मात्रै हुने र काम अर्को वर्ष धकेलिने सम्भावना बढेको बताए । ‘पुलको टेण्डर नै हुन बाँकी छ’ आयोजना प्रमुख एसीले भने–‘टेण्डर हुनासाथ काम सुरु भएमात्रै यसैवर्ष देखि पुल निर्माण सुरु हुन सक्दछ, नत्र अर्को आर्थिक वर्षमा धेकेलिने सम्भावना बढेको छ ।’
‘हामीले जतिसक्दो छिटो डिपिआर तयार पार्न विभागलाई दबाब दिइरहेका छौं’ उनले भने–‘सायद चाँडै नै डिपिआर स्वीकृत भएर टेण्डर हुन सक्दछ ।’
पुलको डिपिआर नै तयार नभइसकेका कारण लागत कति लाग्ने भन्ने बारेमा पनि प्रष्ट नभएको उनले बताए । आयोजना प्रमुख एसीका अनुसार ६ लेन सडक योजना निर्माण गर्ने समयावधि जेठ सम्मका लागि थप्ने तयारीका साथ विभागले मन्त्रालयमा फाइल पठाएको छ ।
काममा तीव्रता
पछिल्लो समय मोहना अत्तरिया ६ लेन सडक निर्माणको कामले तीव्रता पाएको छ । कार्तिक सम्म ४० प्रतिशत मात्रै काम सम्पन्न भएको सडकको प्रगति पुष महिना सम्म ७० प्रतिशत बढी भएको छ ।
सरकारले आयोजनाको म्याद नथप्ने अडान लिए संगै सडक निर्माणको जिम्मा लिएका ठेकदार कम्पनिले धमाधम काम गरे पछि प्रगति ह्वात्तै बढेको सडक आयोजना कार्यालयले जनाएको छ ।
सडक आयोजना प्रमुख होमबहादुर एसीका अनुसार सुरुमा ठेकदारले डेढ वर्ष सडकको म्याद थप्न माग गरेको भएपनि सरकारले म्याद थपमा कडाई गरेपछि निर्माण कम्पनि झस्किएका थिए ।
जेठमै सडकको निर्धारित म्याद सकिएसँगै म्याद थप हुने आशामा बसेका निर्माण कम्पनीले साउन सम्म पनि म्याद थप हुने सम्भावना नदेखेपछि वर्षामा समेत काम अगाडि बढाएका थिए । आयोजना प्रमुख एसीले ठेक्दारसँग निरन्तर समन्यव गरी काम गर्न दवाव दिएका कारण पनि पछिल्लो समय सडक निर्माणको कामले तिब्रता पाएको बताए । उनले नयाँ वर्षमा पिच सडकमा हिड्ने योजना सहित काम भइरहेको बताए ।
आर्थिक वर्ष २०७३÷०७४ मा तीन खण्डमा तीन वर्ष भित्रै काम सक्ने सम्झौता भएपनि तोकिएको म्याद भित्र भने ४० प्रतिशत मात्रै आर्थिक प्रगति भएको थियो । सम्झौताअनुसार ६ लेन सडकको दोश्रो र तेश्रो खण्ड लुम्बिनी राजेन्द्र निर्माण सेवा तथा लामा राजेन्द्र निर्माण सेवाले ठेक्का पाएको थियो । जसको म्याद जेठ १४ गते नै सकिएको छ ।
यसैगरी शर्मा, नागार्जुन कन्ट्रक्सनले ठेक्का पाएको पहिलो खण्ड निर्माण गरिसक्नु पर्ने समय पनि जेठ २४ गते सकिएको थियो । सडकको बाँकी काम सम्पन्न गर्न अझै डेढ वर्ष थप समय निर्माण कम्पनीले माग गरिरहँदा ६ लेन सडक आयोजनाले भने १ वर्ष म्याद थप्ने गरी सडक विभागमा सिफारिस गरेको थियो । तर सडक विभागले भने मंसिर सम्मका लागि मात्रै स्वीकृति गरेको आयोजना प्रमुख एसीले बताए ।