
धनगढी-सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा कैलालीका पाँच स्थानीय तह शिक्षा शाखा प्रमुखविहीन छन्। शिक्षा शाखा प्रमुख नभएपछि स्रोत व्यक्तिको भरमा सञ्चालन हुदै आएका छन्।
देश सघीय संरचनामा गइ स्थानीय सरकार गठन भएको साढे दुई वर्ष भन्दाबढी बितिसक्दा समेत यहाँका तीन गाउँपालिका र दुई नगरपालिका अझै स्रोत व्यक्तिको भरमा सञ्चालन हुँदै आएका हुन्।
जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये भजनी नगरपालिका र लम्कीचुहा नगरपालिका तथा मोहन्याल गाउँपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिका शिक्षा शाखा प्रमुखविहीन भएका हुन्। शिक्षा शाखा प्रमुख बिहीन भएपछि उल्लेखित स्थानीय तहले स्रोत व्यक्तिहरुलाई करारमा लिएर शिक्षा शाखा सञ्चालन गरिरहेका छन्।
शिक्षा शाखामा कर्मचारी नहुँदा शिक्षा सम्बन्धी कामकाज गर्न असहज भएको सम्बन्धित स्थानीय तहले जनाएका छन्। नगरपालिकामा उपसचिव एक, शाखा अधिकृत एक र एक प्राविधिक सहायक तथा गाउँपालिकामा एक शाखा अधिकृत र एक प्राविधिक सहायकको दरबन्दी रहेको छ।
तर, कैलालीका पाँच स्थानीय तहमा त्यो दरबन्दी पदपूर्ति हुनसकेको छैन्। दरबन्दी पदपूर्ति नहुँदा शिक्षासम्बन्धी कामकाज समस्या भइरहेको भजनी नगरपालिका अध्यक्ष शेरबहादुर चौधरीले बताए।
दरबन्दी पदपूर्तिका लागी मन्त्रालयमा पत्र पठाए पनि अहिलेसम्म कर्मचारी नपठाएको चौधरीले बताए। उनले शिक्षा शाखा प्रमुख बिहीन हुँदा स्थानीय तहलाई स्रोत व्यक्तिको भरमा सेवाप्रवाह गरिरहेको बताए।
संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएको छ। संविधानको व्यवस्थासँगै नगरपालिकाको नगर शिक्षा शाखाको प्रमुख र गाउँपालिकामा गाउँ शिक्षा शाखामा शिक्षाका अधिकृत खटाइएका हुन्।
साविकका विद्यालय निरीक्षकको जिम्मेवारीमा रहेका शिक्षाका अधिकृतलाई नै स्थानीय तहमा शिक्षा शाखा प्रमुखका रूपमा खटाइएको थियो।
शिक्षा अधिकारी नहुँदा स्थानीय तहमा शिक्षा कार्यक्रम, नीति नियम निर्माण, विद्यालयको व्यवस्थापन, अनुगमन र निरीक्षणको काम प्रभावित हुने गरेको छ।