
काठमाडौँ– गायिका आस्था राउतले प्रहरीलाई अमर्यादित शब्द प्रयोग गरेको प्रमाणित भएमा कारवाही हुने प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण वज्राचार्यले यो विषय अनुसन्धानको क्रममा रहेकाले सत्य तथ्य छानविन भएपछि प्रमाणित भए कारवाही हुने बताइन्।
‘एयरपोर्टमा भएको घटनाको भिडियो सार्वजनिक भयो। भिडियोमा के भएको छ भन्ने मात्र देखिन्छ। हामीले हाम्रो कर्मचारीलाई सोधपुछ गरिसकेका छौँ’, उनले भने, ‘आस्था हाम्रो सम्पर्कमा आउनुभएको छैन, हामी केही कदम चाल्नु अगाडि उहाँको कुरा पनि सुन्न चाहन्छौँ।’
वज्राचार्यका अनुसार दुवैलाई साथ राखेर कुराकानी गरिनेछ र गल्ती जसको हो, उसलाई कारवाही गरिनेछ। आस्थाको फेसबुकबाट सार्वजनिक भएको भिडियोमा उनले प्रहरीलाई सम्बोधन गरेको शब्द अमर्यादित देखिएका छन्। अनुसन्धानको क्रममा प्रमाणित भए उनलाई कानुन अनुसार कारवाही गरिनेछ।
आस्था राउतका विषयमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दायर हुन सक्ने बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यलय काठमाडौँ अन्तर्गत मुद्दा दर्ता हुनेछ। कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूका अनुसार कसूर पुष्टि भए ५ महिना देखि १ वर्षसम्म कैद र पाँचसयदेखि १ लाख रुपैयाँ जरिवाना हुन्छ।