विराटनगर- मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वीखण्डको ६ सय ८१ किलोमिटर सडकमा सवारीसाधन सञ्चालनमा आएका छन्।
पाँचथरको चियोभञ्ज्याङदेखि तेह्रथुमको म्याङलुङ्गसम्म सवारी सञ्चालन हुँदा यात्रुलाई आवतजावतमा सहज भएको छ।
पूर्वको पाँचथरदेखि पश्चिमको बैतडीसम्म फैलिएको उक्त सडकखण्डको पूर्वी खण्डमा यातायातका साधन सञ्चालनमा आउन थालेका हुन्।
पूर्वीखण्डको ६ सय ८१ किलोमिटर लम्बाइमध्ये केही भाग यसअघि नै निर्माण भइसकेको सडकलाई प्रयोगमा ल्याइएको इन्जिनियर सुरेश तुम्वाहाम्फेले जानकारी दिए।
करिब ४० अर्ब रुपैयाँ लगानी लाग्ने भनिएको लोकमार्गले पहाड क्षेत्रको ३९ जिल्ला मध्ये २४ जिल्लाका १९ सदरमुकामलाई समेटेको छ।
यो लोकमार्गले पहाडको २ सय १५ वटा बस्तीका करिब ७० लाख स्थानीयलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्नेछ।