
धनगढी-स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन्।
उनले संघीय सरकारले संघ मार्फत प्रत्येक प्रदेशमा एक अस्पताल र एक प्रतिष्ठान बनाउने नीति लिएको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशमा प्रतिष्ठान बन्न सक्ने यही गेटा रहेको बताए।
बुधबार गेटा मेडिकल कलेजको निरिक्षण गर्दै मन्त्री ढकालले भने –‘भौतिक संरचना निर्माणको अवस्था आशालाग्दो रहेको छ, यथाशिघ्र निर्माण कार्य सम्पन्न गरिनुपर्छ।’ उनले समय अगावै निर्माण कार्य सम्पन्न भए थप आवश्यक रकम निकासा गराउन मन्त्रालयले पहल गर्ने बताए।
मन्त्री ढकालले भने –‘नेपालमा स्वास्थ्य क्षेत्रमा धेरै कुरा सुधार्नुपर्ने देखिन्छ तर, विश्वमै आँखाको उपचारमा भने गेटा आँखा अस्पताल राम्रो छ।’ उनीसँगै अनुगमनमा रहेका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले प्रतिष्ठान बनाउन शुरु देखिनै पहल भएको बताए। ‘२०६५ सालदेखि यो कलेजको काम अघि बढेको थियो।
त्यस समय दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउन विधेयकको मस्यौदा पनि तयार गरिएको थियो’ मन्त्री भट्टले भने –‘तर, २०६८ सालमा संविधान सभा विघटन भएपछि त्यसको काम अघि बढ्न पाएन । अब यसलाई प्रतिष्ठानका रुपमा अघि बढाउन स्वास्थ्य मन्त्रीज्यूले नेतृत्व लिनुपर्छ।’
गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका अध्यक्ष चेतराज पन्तले आधारभूत भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा रहेकोले अध्यापन कार्य सञ्चालनका लागि यसको प्रतिरुप ‘मोडेल’को टुङ्गो लगाइनुपर्ने बताए। उनले यसै आर्थिक वर्षभित्र न्यूनतम उपकरणहरु पनि ल्याइसकिने बताए।
मन्त्री ढकालले गेटा मेडिकल कलेजसंगै गेटा आँखा अस्पताल र कञ्चनपुर स्थित महाकाली प्रादेशिक अस्पतालको पनि निरीक्षण गरेका थिए।