लन्डन-इंलिस प्रिमियर लिग फुटबलको यो सिजन लेस्टर सिटीले पछिल्ला चार खेल लगातार जितेको छ । १७ खेल समाप्तीमा २६ अंक जोडेको लेस्टर अंक तालिकाको आठौं स्थानमा छ।
यो सिजन लेस्टरको उपाधि जित्ने सम्भावना लगभग सकिएको छ । किनभने अब २१ खेल बाँकी रहँदा लेस्टर शिर्षस्थानको म्यानचेस्टर सिटीभन्दा २३ अंकले अगाडि छ । तर युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना भने बाँकी छ ।
सन् २००८ मा इंलिस फुटबलको तेस्रो डिभिजनमा रहेको लेस्टर सन् २०१५/१६ सिजन प्रिमियर लिगको विजेता बनेको थियो । प्रिमियर लिगमा उक्लिएकै दोस्रो वर्ष लेस्टरले उक्त सफलता हात पार्दा यस नतिजालाई खेलकुद इतिहासमा ठूला टोली निराश भएको घटनाका रुपमा उल्लेख भएको थियो।
त्यतिबेला इंलिस क्लबका जायन्टहरु म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल, म्यानचेस्टर युनाइटेड र लिभरपुलका क्लब लेस्टरसामु नतमस्तक भएका थिए । गत सिजन घरेलु लिगमा १२ औं स्थानमा रहेको लेस्टरले त्यतिबेला उक्त प्रतियोगितामा खेलेका ३८ मध्ये १८ खेलमा पराजय ब्यहोरेको थियो।
कमजोर प्रदर्शनकैबीच क्लाउडियो रानिएरीले लेस्टरको प्रशिक्षकबाट बर्खास्त हुनु परेको थियो । युरोपियन च्याम्पियन्स लिगमा भने लेस्टर क्वार्टरफाइनलसम्म पुगेको थियो जुन इंलिस क्लबका लागि ठुलो सफलता हो।
यो सिजन लेस्टरका दुई स्टार स्टाइकर जेमी भार्डी र माहरेजले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन्। भार्डीले सात र माहरेजले पाँच गोल गरेका छन् । दुई वर्षअघि लेस्टर घरेलु लिगमा विजेता बनेको बेला त्यतिबेला भार्डीले २४ र माहरेजले १७ गोल गरेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































