
धनगढी– थरुहट नेता लक्ष्मण थारुले आफ्नो अधिकारका लागि आमरण अनशन बस्ने घोषणा गरेका छन्। थरुहट/थारुवान मोर्चा कैलालीले शनिबार धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लक्ष्मण थारुले फागुन १ गतेदेखि धनगढीमा आमरण अनशनमा बस्ने बताए।
मोर्चाका केन्द्रीय संयोजक थारुले शान्ति र सद्भावका लागि फागुन १ गतेदेखि आन्दोलनको घोषणा गरेको बताए। ‘अब हामीले शान्ति र सद्भाव नबिग्रने गरी आन्दोलनको घोषणा गरेका छौँ’, उनले भने, ‘फागुन १ गतेदेखि मेरै नेतृत्वमा धनगढीमै आमरण अनशन शुरु गर्छौँ।’
फागुन २ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन गर्ने र त्यतीले पनि भएन भने फागुन ५ गतेदेखि ३ दिन आमहड्तालको घोषणा गर्ने संयोजक थारुले बताए।
सोही अन्तरक्रिया कार्यक्रममा खसान राष्ट्रिय संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीर ठगुन्नाले राज्य पुनःसंरचनाको क्रममा खसहरू अन्यायमा परेको बताए।
उनले भने,‘शासकहरूले हामीलाई जातिवादी भन्छन् तर जातीयता त सत्तामा बस्नेले एकल जातीय शासन चलाइरहेका छन्। हामी त पीडित हौँ। आफ्नो अधिकार मात्रै खोजेका हौँ।’
आफूहरूलाई खसआर्य भनी एउटैमा राखेपछि अन्यायमा परेकोले थरुहट आन्दोलनप्रति ऐक्यवद्धता जनाएको उनको भनाइ छ। मोर्चाले १४ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ।
माघ ८ गते काठमाडौँमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चाले आफ्नो पहिलो माग अन्तर्गत सांसद रेशम चौधरी लगायतलाई रिहाइकाे माग अघि सारेको छ।
आफूहरूलाई सूचनाको अधिकारबाट वञ्चित गरिएको भन्दै संयोजक थारुले प्रतिवेदनहरू सार्वजनिक गरिनु पर्ने माग राखे। साबिक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सुदूरपश्चिम प्रदेश आफूहरूलाई अमान्य रहेको बताउँदै मोर्चाले पहिचानको आधारमा १० जोड १ कायम गरी राज्यको पुनःसंरचना गरिनुपर्ने माग गर्दै आएको छ।