
नेपालगञ्ज– बन्दै गरेको दुई तले घरको एउटा कोठा। एउटा पलङ, टेबुल अनि र्याक। भुइँमा ग्यास चुलो अनि सामानहरु छरपस्ट।
२०२८ सालको ‘गाउँ फर्क राष्ट्रिय अभियान’मार्फत राजनीति थालेकी सत्यवती कुर्मीको नेपालगञ्जस्थित बासस्थानको दृश्य हो, यो। एक्लो जीवन अनि गुमनाम बन्दै गएकी सत्यवतीको कुनै दिन नेपालगञ्जमा जगजगी नै थियो। २०४६ को जनआन्दोलनमा काठमाडौंसम्म पुगेर आन्दोलनमा सहभागी भएकी गजेन्द्रनारायण सिंहको सद्भावना पार्टीकी नेता सत्यवती २०६२/०६३ को दोस्रो जनआन्दोलनमा जिल्लामा हुने निर्णयहरुमा मात्रै होइन, २०६३ को मधेस आन्दोलनको शुरुवातकी नेतृत्वकर्ता हुन्।
दोस्रो जनआन्दोलनमा सात दलमा सद्भावनाको तर्फबाट जिल्लाका हरेक निर्णयमा हस्ताक्षर गर्ने सत्यवती २०६३ पुस १० गते सद्भावनाले आव्हान गरेको मधेस आन्दोलनको नेपालगञ्जमा अगुवाइ गरेकी थिइन्। पार्टीको केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष रहेकी सत्यवतीले अगुवाइ गरेको आन्दोलनको क्रममा केहीले स्थानीय वीपीचोकमा गाडी तोडफोड गरेपछि शुरु भएको थियो, मधेस आन्दोलन।
मधेस आन्दोलनले धेरै फुच्चे नेताहरु ‘सत्ता’मा पुगे। उचाइ बढ्यो। सत्यवती जहाँको तहीँ रहिन्। ‘आफ्नो मान्छे नभएकाहरु माथि पुग्दैनन्, सत्यवतीले अनुभव सुनाइन्।
राजनीतिमा सत्यवतीको योगदान कम होइन। गाउँ फर्क अभियानका क्रममा मनोनित सदस्य भएकी सत्यवतीलाई पछि धेरैले नाम नै ‘मनोनित’ राखिदिएका थिए। सत्यवती सदस्य रहेको बेला सोहनलाल चौधरी अध्यक्ष र प्यारेलाल कुर्मी उपाध्यक्ष थिए। २०३६ सालको जनमत संग्रहमा उनले निरदललाई मत दिएकी थिइन्।
२०४६ को आन्दोलन चलिरहदा रामचन्द्र टण्डन, गौरी महपालले सत्यवतीलाई सद्भावनाका अध्यक्ष गजेन्द्रबाबुसँग भेट गराए। त्यसपछि उनी त्यही पार्टीमा लागिन्। २०४८ मा केन्द्रीय सदस्य भइन्। २०४९ को स्थानीय निकायको चुनावमा सत्यवतीले बेलहरी गाविसको अध्यक्षमा प्रतिस्पर्धा गरिन् । जित्न भने राप्रपाका विनयदास कुर्मीले जिते।
२०५१, २०५६ मा सत्यवती सद्भावनाको तर्फबाट संसदीय चुनाव लडिन्। मधेसवादी दलहरु बढ्दै थिए। सत्यवती तमलोपामा गइन्। २०६४ मा समानुपातिकको एक नम्बरमा नाम राखियो। सभासद भने बनाइएन। २०६७ सालमा सत्यवतीलाई हेटौडा सिमेन्ट कारखानाको अध्यक्ष मनोनित गरियो। राजनीति गरेर मिलेको लाभदायी पद त्यही हो। त्यसपछिका चुनावमा उनको नाम समानुपातिक राखिन्छ। माननीय भने बनाइँदैन।
हाल सत्यवती राजपाको केन्द्रीय सदस्य छिन्। बैठकका बेला बाहेक अरुलाई पार्टीले खोज्दैन। उनलाई पनि राजनीतिदेखि वितृष्णा बढ्दै गएको छ। ‘त्याग, तपस्या हाम्रो धेरै भएपनि मनोनित गर्ने बेलामा नेताहरुले आफन्त कि आफ्ना जातीलाई गर्छन्, सत्यवतीले भनिन्।
घरबाट बाहिर ननिस्किने मधेसी समुदाय र त्यसमा पनि महिला भएर लामो समयदेखि राजनीतिक आन्दोलनमा होमिएकी सत्यवतीले दुःखै दुःख पाएपनि त्यो त्यागलाई केन्द्रमा बस्ने नेताहरुले कहिल्यै बुझेनन्। ‘राजनीतिमा लागेको भनेर मेरै मामा धेरै वर्षसम्म बोलेनन्,’ सत्यवतीले भनिन्, ‘घर, समाजका चुनौतीलाई पार गर्दै राजनीतिक आन्दोलनमा होमियो। पछिल्ला नेताहरुको बेइमानी देख्दा राजनीतिप्रति घृणा लाग्छ।’ उनले नेताहरु लोपीपापी र राजनीतिलाई व्यापार ठान्न थालेको बताइन्। ‘नेता त गजेन्द्रबाबुजस्तो हुनुपर्छ, उनलाई कुनै लोभलालच थिएन, सत्यवती भन्छिन्, अधिकारको लडाइँ थियो।’
राजनीतिक आन्दोलनका क्रममा सत्यवती कतिपटक थुनिएकी छन् भने कति पटक भोक हड्तालमा बसेकी छन्। ‘अधिकारको लडाइँमा धेरै लडाइँ लडियो,’ सत्यवतीले भनिन्।
मरेको बेला श्रीमानको मुख देखे
२०२२ साल फाल्गुनमा सत्यवती कुर्मीको विवाह भयो। विवाह हुँदा कुर्मीको उमेर १४ वर्षको थियो। बाँकेको बेलहरी–७ मा घर थियो। विवाह भएको ६ महिनामै श्रीमान बिते। भदौमा ‘उहाँ’ बित्नुभयो, कुर्मीले श्रीमानको नाम नलिएर भनिन्।
मधेसी समुदायमा विवाह भएपछि गौना, थौना, आला–चाला गरेपछि मात्रै दुलहीलाई घरमा लगिन्छ। यी प्रक्रिया तीनदेखि पाँच वर्षभित्र गरिन्छ। ‘विवाह भयो, गौना, थौना नहुँदै श्रीमान विते, कुर्मीले भनिन्, मैले श्रीमानको मुख मरेको बेलामा देखे।’
बालविवाह अनि ६ महिनामै श्रीमान बितेपछि सत्यवतीलाई विभिन्न प्रकारका लाल्छनाहरु लगाउन थालियो। बालविधुवा सत्यवतीलाई पछि धेरैजना माग्न आए। घरपरिवारले दबाब दिए। उनले विवाह गरिनन्। ‘अर्को लोग्ने पनि मर्दैन भन्ने ग्यारेन्टी त थिएन,’ सत्यवतीले भनिन्, बरु एक्लै बस्छु भनेर कस्सिएँ।’ बुवाको फुपू विहे नगरेर बसेको उनले देखेकी थिइन्।
बाँकेका कुर्मी परिवारसँग जग्गाजमिन प्रशस्त छन्। जग्गाजमिन धेरै हुनेमध्येकैसँग विवाह भएकी सत्यवतीले पछि मुद्दा लडेर केही अंशमा जग्गा पाइन्।
सत्यवती अहिले पनि एक्लै बस्छिन्। आफैँ खाना बनाउने खाने, बोल्ने साथी कोही छैनन्। ‘मलाई एक्लो जिन्दगी नै रमाइलो लाग्छ,’ सत्यवतीले भनिन्, ‘जे निर्णय गरे पनि आफैँ, कार्यान्वयन गर्ने पनि आफैँ।’
दाजुहरुको छोराहरु कहिलेकाहिँ आउँछन्। घरतिरको उनको सम्बन्ध छैन। लडेर अंश लिएकी उनको घरतिर आवतजावत नै छैन।
एक्लै बोर लाग्दैन? सत्यवती भन्छिन्, ‘मलाई त एक्लै बस्ने बानी परिसक्यो। साँझ टिभीमा समाचारहरु हेर्छु। फुर्सद हुँदा मोबाइलमा महाभारतलगायत धार्मिक कुराहरु हेर्छु। यसरी नै जिन्दगी अगाडि बढिरहेको छ।’
पुरानो ग्रील उद्योग
नेपालगञ्जको सुर्खेतरोडस्थित धम्बोझीको विनायक गेष्टहाउस नजिकै एउटा ग्रिल उद्योग छ। सत्यवती ग्रिल उद्योग हो, त्यो।
विभिन्न ठाउँबाट सर्दै पछिल्लो दुई दशकदेखि त्यहाँ रहेको ग्रिल उद्योग सत्यवती कुर्मीको हो। उनले २०३८ सालदेखि ग्रिल उद्योग चलाइरहेकी छन्। ‘त्यतिबेला मेरो, एकजना अग्रवाल र सिन्हाको मात्रै ग्रिल उद्योग थियो,’ सत्यवतीले भनिन्, ‘मैले पश्चिममा महेन्द्रनगर पहाडका विभिन्न जिल्लामा सटर बनाएर पठाएको छु।’
मधेसी समुदाय, बालविधुवा भएपनि सत्यवतीको हिम्मत कम थिएन। ‘मैलो हलो जोतेको छु। फलाम कुटेको छु,’ सत्यवती भन्छिन्, ‘महिला भएर यस्तो काम गर्ने भनेर धेरै खिस्सी गर्थे। मैले भने हिम्मत हारिन।’ मेहनत गर्नुपर्छ अरुको कुरा सन्नु हुँदैन, सत्यवती भन्छिन्।
सम्पत्ति छ भने महिलालाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ, सत्यवतीको भोगाइ छ। ‘सम्पत्ति नहुनेलाई हेपिन्छ, हामीसँग सम्पत्ति थियो, काम गर्ने आँट थियो, कसैले हेप्न सकेनन्,’ सत्यवतीले भनिन्।
सत्यवतीले अहिले भने ग्रिल उद्योग अर्का व्यक्तिलाई चलाउन दिएकी छन्। ‘सामान भाडामा दिएको छु,’ सत्यवतीले भनिन्। पुर्ख्यौली जग्गा बेचेर सत्यवतीले अहिले धम्बोझीमा घर बनाइरहेकी छन्। बन्दै गरेको दुई तले घरमा बसेर कुराकानी गरिरहँदा उनलाई मजदुरको हात रोकियो कि भन्ने धेरै खुल्दुली थियो।