
धनगढी- सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले तल्लो चमेलिया आयोजना प्रदेश सरकारले नै बनाउने गरी पहल गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिको बुधबार बसेको बैठकले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरासँग छलफल गदै बैतडी र दार्चुलाको सीमा नदी चमेलियामा २० मेगावाट क्षमताको तल्लो चमेलिया आयोजना आफैले निर्माण गर्ने गरी पहल गर्न निर्देशन दिएको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा प्रदेश मन्त्रीपरिषदले चालू आर्थिक बर्षको भदौ महिनामा सो आयोजना आफैले बनाउने गरी संघीय सरकारसंग अनुमति माग्ने निर्णय गरेको थियो।
मन्त्रीपरिषदले निर्णय गरेको एक महिनापछि संघीय सरकारले सो आयोजना निर्माणका लागि सर्भे गर्ने अनुमति एक निजी क्षेत्रको कम्पनी खप्तड हाइड्रो प्रालिलाई दिने निर्णय गरेको थियो।
अर्थ विकास तथा प्रकृतिक स्रोत समितिको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री बोहराले सो आयोजना बनाउने उद्देश्यले प्रदेश सरकारले संघीय सरकारसंग अनुमित मागे पनि नपाइएको बताए। आफ्नो अधिकार क्षेत्रभित्र रही आयोजना सम्पन्न गर्न सक्ने गरी बजेट राखेर अनुमति माग्दा पनि नपाइएको मन्त्री बोहराको भनाई छ।
संघीय सरकारले जलविद्युत आयोजना सम्बन्धी बर्गीकरण गर्दै ३ मेगावाट सम्मका आयोजना स्थानीय तहले निमार्ण गर्न सक्ने र ३ मेगावाट देखि २० मेगावाट क्षमतासम्मका आयोजना प्रदेश सरकारले बनाउन सक्ने गरी हस्तान्तरण गरे पनि चमेलियामा प्रदेश सरकारको जानकारी बिनै निजी कम्पनीलाई दिइएकोले सो आयोजना आफैले बनाउने गरी फेरी पहल गर्न मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति हर्कबहादुर कुँवरले बताए।