
धनगढी– धनगढीमा जारी पाँचौँ हाईलेण्डर ‘फारवेष्ट पशुपति कप’ फुटबल प्रतियोगिताको उपाधि स्टार सिटी युवा क्लवले जितेको छ।
प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम–११ लाई १–० ले पराजित गर्दै स्टार सिटीले उपाधि जितेको हो। स्टार सिटीको उपाधिमा विक्रम सिंहले निर्णायक गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयको एक मिनेटमा गोल गरे। विदेशी खेलाडी ओरियलको पासमा विक्रमले सुन्दर गोल गरेका थिए।
प्रतियोगिताको विजेता बनेको स्टार सिटीले पाँच लाख नगदसहित ट्रफी र मेडल पाएको छ भने उपविजेता बनेको सुदूरपश्चिम–११ ले २ लाख ५० हजारमा चित्त बुझाएको छ।
माघ १७ गतेदेखि सुरु भएको पाँचौँ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता शनिबार सकिएको हो। पाँचौ संस्करणको विजेता बनेको स्टार सिटीले प्रतियोगिताका विभिन्न विधामा समेत कब्जा जमाएको छ।
स्टार सिटीका कुवेर सिंह प्रतियोगिताको उत्कृष्ट खेलाडी बने। उनले नगद २५ हजार प्राप्त गरे। उत्कृष्ट प्रशिक्षक स्टार सिटीका कुमार शाही, उत्कृष्ट गोलरक्षक स्टार सिटीका प्रियम खड्का, उत्कृष्ट रक्षक स्टार सिटीका राकेश हमाल, सर्वाधिक गोलकर्ता स्टार सिटीका विक्रम सिंह भए।
त्यस्तै उदयमान खेलाडी फारवेष्ट पशुपति युवा क्लबका रोहित सिंह भए। उनीहरुले जनही १५–१५ हजार रुपैयाँ पुरस्कार पाएका छन्। विजयी खेलाडीहरुलाई एक समारोहका बीच नगद शिल्ड तथा पुरस्कार वितरण गरिएको छ।
आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका मेयर नृप ओड रहेका थिए।
फारवेष्ट पशुपति युवा क्लब छैँठाैँ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो। उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन्।