
धनगढी – सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममा दुई लाख ५३ हजार छ सय २० जना आवद्ध भएका छन् । यो प्रदेशमा रहेका नौ जिल्ला मध्ये सातवटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ ।
सुदूरपश्चिम प्रदेश बिमा बोर्ड कार्यालय धनगढीका अनुसार २०६८ सालको जनगणना अनुसार प्रदेशको कुल जनसंख्या २५ लाख ५२ हजार पाँच सय १७ रहेकोमा हालसम्म स्वास्थ्य बिमा कार्यक्रममा दुई लाख ५३ हजार छ सय २० जना आवद्ध भएका हुन् ।
स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन पाँच जना सदस्य भएको परिवारका लागि वार्षिक तीन हजार, ५ सय र पाँच जना भन्दाबढी परिवार भएकालाई प्रतिव्यक्ति थप सात सय रुपैयाँ शुल्क रहेको छ ।
स्वास्थ्य बिमामा आबद्ध भएकालाई वार्षिक एक लाखसम्मको उपचार निशुल्क हुने प्रावधान छ । बोर्डका सुदूरपश्चिम प्रदेश संयोजक जनक साउदले सुदूरपश्चिम प्रदेशमा कैलालीमा सबै भन्दा बढी स्वास्थ्य विमित तथा दार्चुलाबाट हालसम्म सबैभन्दा कम स्वास्थ्य विमित रहेको बताए ।
बिमा बोर्डका अनुसार कैलालीमा एक लाख ३९ हजार आठ सय २० जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् भने दार्चुलामा छ हजार मात्रै हालसम्म आवद्ध भएका छन् । त्यस्तै, बझाङमा ३० हजार चार सय ५०, बाजुरामा २६ हजार छ सय ५०, अछाममा २७ हजार, बैतडीमा १३ हजार र कञ्चनपुरमा १० हजार सात सय जना स्वास्थ्य विमित रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३९ हजार तीन सय एक जनाले स्वास्थ्य बिमा कार्यक्रमबाट स्वास्थ्य सेवा लिएका छन् । बिमा कार्यक्रम अन्र्तगत प्रदेशका सात जिल्ला गरी तीन करोड ८१ लाख पाँच हजार दुई सय ६२ रुपैयाँ लगानी भइसकेको बोर्डले जनाएको छ ।
संयोजक साउदले बिमा कार्यक्रम हरेक गरिव, विपन्न तथा आर्थिक रुपमा कमजोर रहेका व्यक्तिलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन लागु गरिएको बताए ।
उनले सेवा प्रादायिक संस्थाको सेवामा सुधार नहुनु, दर्ता सहयोगीले बिमाबारे बुझाउन नसक्नु लगायतका कारण बिमा कार्यक्रममा सबै आवद्ध हुन नसकेको बताए ।