
धनगढी– उत्कृष्ट संस्थामा छनौट भइ सहुलियतमा विद्युतीय सामाग्री उपलब्ध गराउने प्रलोभन देखाउँदै युग कवि सिद्धिचरण फाउण्डेशनको आइसिटीमा परेको भन्दै सिलबर एण्ड लाइबेरी नामक काठमाडाैँको एक संस्थाले सुदूरपश्चिम तथा प्रदेश ५ का साना किसान सहकारी संस्था र शैक्षिक संस्थालाई नक्कली सामाग्री उपलब्ध गराइ ठगी गरेको पाइएको छ।
नक्कली सामग्री विक्री वितरण गरी ठगिभइरहेको जानकारी पाएपछि बिहीबार कम्प्युटर एशोसियसन अफ नेपाल कैलाली तथा प्रदेश महासंघले धनगढी फाउण्डेसनको विक्रीस्थलमा छानविन गर्न जिल्ला प्रशासन कार्यालय कैलालीसँग आग्रह गरेको थियो। प्रशासनले छानविनका लागि पठाइएको टोलीले छानविन गर्दा सिलबर एण्ड लाइबेरी नामक संस्थाले प्यान विलको प्रयोग गरी सामग्री वितरण गरेको, वितरण गरिने सामग्रीसमेत नक्कली भएको पाइएको कम्प्युटर एशोसियसन अफ नेपाल सुदूरपश्चिम सचिव धिरज बोगटीले बताए।
उनका अनसार सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर–५ का केही शैक्षिक संस्था र साना किसान महिला कृषि सहकारी संस्थालाई फाउण्डेसनले ‘तपाईको संस्था उत्कृष्टमा परेकाले दुई लाख बराबरको विद्युतीय सामाग्री उपलब्ध गराइने छ’ भन्दै काठमाडाैँबाट कम्पनीले म्यासेज पठाउने गरेको थियो। तर सोही म्यासेजमा सुविधा प्राप्त गर्न सेवा लिने संस्थाले ४५ हजार बैंक जम्मा गर्नुपर्ने प्रावधान पनि उल्लेख गरिएको थियो। म्यासेजलाई आधार मान्दै फागुन ४ गते देखि ८ गतेसम्म मात्रै सुदूरपश्चिम तथा मध्यपश्चिमका १५ संस्थाले धनगढीस्थित सम्पर्क कार्यालयमार्फत सिलबर एण्ड लाइबेरीको सामाग्री लगिसकेका छन्।
कम्पयुटर एशोशियसन अफ नेपाल कैलालीका अनुसार संस्थाले उपलब्ध गराएका कम्प्यूटर, प्रिन्टर, पुस्तक, पेन ड्राइभ, सीसी क्यामेरा, प्रोजेक्टर लगायतका सामाग्रीको वास्तविक मूल्य भने २२ देखि २५ हजारसम्म छ। तर सिलबर एण्ड लाइबेरीले तिनै सामाग्री लाई दुई लाख मूल्य बराबरको रहेको भन्दै सहकारी तथा शैक्षिक संस्थालाई अनुदानका नाममा ठगी गरेको एशोसियसनको आरोप छ।
कम्प्युटर एशोसियसन अफ नेपाल कैलालीका अध्यक्ष नरेश धामीका अनुसार शिद्धिचरणको आईसिटीमा परेको भन्दै सिलबर एण्ड लाइबेरीले उपलब्ध गराइएका सामाग्री नक्कली रहेका छन्। ती सामाग्री बजारमा प्रयोग हुन समेत छोडेको छ। ‘युग कवि सिद्धिचरण फाउण्डेसनले उपलब्ध गराएका सामाग्री पूर्णरुपमा नक्कली छन्’, उनले भने,‘फाउण्डेसनले झुक्याएर सहकारी तथा शैक्षिक संस्थाबाट ठूलो रकम असुल गरेको छ।’
‘केन्द्रीय कृषि सहकारी संघको सिफारिसमा युग कवि सिद्धिचरण फाउण्डेसनबाट तपाईको संस्था आइसिटीमा छनौट छ। धनगढी चौराहमा गएर आफ्नो सामान बुझ्न अनुरोध छ। सामान बुझ्न जाँदा ४५ हजारसहित संस्थाको मागपत्र अनिवार्य लैजान अनुरोध गरिएको म्यासेज आएको थियो’, बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड कञ्चनपुरकी अध्यक्ष कमला रेग्मीले भनिन्, ‘त्यसैका आधारमा हामी धनगढी सम्म पुगेका हौँ।’
आफुहरुले बैङ्कमा पैसा जम्मा नगरे पनि कञ्चनपुरका अधिकांंश सहकारी संस्थाले तोकेको पैसा तिरेर सामाग्री लगेको उनले बताइन्।
आन्तरिक राजस्व कार्यालय कैलालीका कर अधिकृत नगेन्द्र थारुले भने धनगढी कार्यालयमा प्राप्त कागजात जफत गरी अध्ययन भइरहेको बताए। उता युग कवि सिद्धिचरण फाउण्डेसन काठमाडाैँका कार्यालय प्रमुख प्रकाश बडालले कर्मचारीको कमजाेरीका कारण केही त्रुटी भएको भन्दै हालसम्म वितरण गरिएका सबै सामग्री फिर्ता गरिने बताए।
उनले आफू आमाको मृत्यु भएपछि दुई महिना कार्यालय बाहिर रहँदा केही कर्मचारीले सम्झौता विपरितका विद्युतीय सामाग्री पठाएको बताउँदै सबै सामाग्री फिर्ता गरेर नयाँ सामाग्री उपलब्ध गराउने बताए। फाउण्डेसनको धनगढी सम्पर्क कार्यालयमा कार्यरत कर्मचारी रुपा चौधरीले भने आफूलाई केही जानकारी नभएको र फागुन १ गते देखि मात्रै आफूले काम गरेको बताइन्।
कडा कारवाही गर्न माग
उपभोक्तालाई ठगि गरी नक्कली सामाग्री विक्री वितरण गरेको भन्दै कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघ प्रदेश कार्यालय र कैलाली शाखाले दोषीको आवश्यक छानविन गरी कारबाही गर्न माग गरेको छ।
केन्द्रीय कृषि सहकारी संघको सिफारिसमा युग कवि सिद्धिचरण फाउण्डेसनबाट म्यासेजहरु विभिन्न सहकारी तथा विद्यालयहरुलाई पठाएर न्यून गुणस्तरको कम्प्युटर तथा प्रिन्टर विक्री वितरण गरिरहेको सिलबर एण्ड लाइबेरी नामक फर्मले ठगी गरेकाे भन्दै कडा कारवाहीको माग गरिएको हो।
जिल्ला र प्रदेश कार्यालयद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण उपभोक्ताहरुलाई कुनै पनि वस्तु वा सेवा लिदा सम्वन्धित निकायसंग परामर्श गरी लिन हुन र व्यवसायीले पनि कानुनी प्रक्रिया पुरा गरेर मात्र गतिविधि संचालन गर्न र गैर कानुनी कार्य गर्ने संस्थालाई कारवाही गर्न माग गरिएको छ।