विज्ञान लेख

तपाईँ-हामी बसेको यो बहुब्रम्हाण्डको आकार कत्रो छ?

तपाईँ-हामी बसेको यो बहुब्रम्हाण्डको आकार कत्रो छ?
+
-

विज्ञान लेखन मेरा लागि किञ्चित पनि सहज छैन। त्यही पनि अन्नपूर्ण दैनिकदेखि प्रारम्भ भएको यो लेखन आजका दिनसम्म येनकेन प्रकारेण चलिरहेको छ। झन्डै तीनवर्षे यस अवधिमा विज्ञान विषयक लेखन अन्तर्गत २ सयभन्दा बढी लेख लेखिसकेँ। अनलाइन पेपरमा प्रवेश गराउने श्रेय उनै युवराज घिमिरे दाइलाई छ, जसले २०१० ताका राजधानी दैनिकको सम्पादक हुँदा मलाई पुनः लेखन क्षेत्रमा फर्किन हौस्याउनुभएको थियो। अब त अनलाइनमै लेख्न मजा लाग्छ, कारण यहाँ स्थानको अभाव हुँदैन र लेखसँग सम्बन्धित विभिन्न फोटो राख्ने सुगमता पनि हुन्छ जुन प्रिन्ट मिडियामा सम्भव हुन्न।

विज्ञान लेखन मेरा लागि सहज छैनको अर्थ लेख्न गाह्रो हुन्छ भन्ने होइन। आशय यो हो, कुनै एउटा लेख लेख्ने क्रममा म यति ध्यानस्थ हुन पुग्छु कि त्यो लेख पूर्ण भएपछि मेरो मस्तिष्क विषयशून्य हुन पुग्छ। मेरा लागि विज्ञान लेखन क्षुद्र किसिमको ध्यान नै बनेको छ। मस्तिष्कको यस विषयशून्यताले केही दिनसम्म नयाँ लेखको तानाबाना नै निर्मित हुँदैन। यस्तो अवस्थामा सहायक हुन्छन्- चन्द्र खाकी, ,जीवेन्द्र सिम्खडा ,सरोज ज्ञवाली, मोहन दाहालजस्ता केही मित्र जसले विज्ञान विषयक चर्चा वा कुनै प्रश्न गरेर मलाई लेख्ने विषय उपलब्ध गराइदिन्छन्। विगत केही महिनादेखि मोहनजी बेपत्ता हुनुभएको छ, सम्पर्कमै हुनुहुन्न। मेरा केही उत्तम लेखको गर्भाधान उहाँसँगको चर्चामै भएको हो। उहाँको प्रश्न-प्रतिप्रश्न र पूरक प्रश्नले दुइ तीन कप चियापान गर्दैमा एउटा लेखको विषयवस्तु वा सेरोफेरो तयार हुन्थ्यो। मेरो काम  त्यस वार्तालापलाई लिपिबद्ध गर्ने मात्र हुन्थ्यो।

एलियन विषयक लेख पूर्ण गरे उपरान्त विषयशून्यावस्थामा थिएँ, यस्तो बेला फेसबुक नै सहायक हुन्छ। फेसबुकमा रमिरहँदा मित्र मनोज दाहालले म्यासेन्जरमा सन्देश पठाएँ- एलियनबारे पढेँ,  गज्जब लाग्यो। मलाई एउटा जिज्ञासा छ, ‘यो ब्रह्माण्ड कत्रो होला?’

फेसबुकमा झुन्डिनुको मेरो अभीष्ट पूरा हुन गयो उनको सन्देश एवम्‌ सोधाइले। १० मिनटजति म उनका जिज्ञासा विषयक समाधान लेखिरहेँ। अन्तमा उनले यसै विषयबारे एउटा लेख लेख्न भने।

म्यासेन्जरमा उनलाई धन्यवाद नभने पनि अब उनलाई धन्यवाद प्रेषित गर्दै उनले सुझाएको विषयवस्तुमा यथोचित  सरल भाषामा लेख्ने प्रयास प्रारम्भ गर्दैछु।

ब्रह्माण्ड कत्रो छ? यसको जबाफ त बड़ो संक्षिप्त छ – ९३ अर्ब  प्रकाशवर्ष।

खगोल विज्ञानको अध्ययन गर्दा पृथ्वीका धनपतिले बोकेको अहंकार हेर्दा विद्रूप हाँसो हास्न मनलाग्छ। अनन्त ब्रह्माण्डमा  १२,७५६ किमी व्यास भएको एउटा गुच्चा न हो पृथ्वी! ब्रह्माण्डसँग तुलना गर्दा यसको अस्तित्व एउटा परमाणु जत्रो पनि त छैन। ब्रह्माण्डको एउटा परमाणु जत्रो संरचनाभित्र रहेका मुर्खहरुले आफ्नो सम्पदाको बखानमा व्यर्थ समय खेर फाल्छन्? आखिर उनीहरुसँग भएको भनिएको सम्पदा पनि यो सानो पृथ्वीकै ससाना अंशमात्र होइन र?

तर, यति जबाफमात्रै लेखेमा तपाईँ देशसञ्चारमा प्रकाशित गरेर मेरो चिया-चुरुटको बन्दोबस्त गर्नुहुन्न। जबाफ त यही नै हो, तर आउनुस् यसै जबाफको सेरोफेरोमा म तपाईँलाई ब्रह्माण्ड भ्रमण गराएर आफ्नो चुरुटको व्यवस्थापन गर्छु।

मित्र मनोज, पहिला यो स्पष्टसँग बुझ्नुस‍्, प्रकाशवर्ष भनेको समय नाप्ने यूनिट होइन, यो दूरी नाप्ने यूनिट हो। तपाईँलाई थाहै छ- प्रकाश एक सेकेण्डमा २ लाख ९९ हज़ार ७ सय ९२ किमी यात्रा गर्छ। एक मिनेटमा प्रकाशले तय गर्ने दूरी हुन आउँछ- १ करोड़ ७९ लाख ८७ हज़ार ५ सय २० किमी। झर्को नमानी पढ्नुस्, प्रकाशले १ घन्टामा १ अर्ब ७ करोड ९२ लाख ५१ हजार २ सय किमी यात्रा गर्छ। यसै अनुसार एक दिनको अवधिमा (२४ घन्टामा ) प्रकाशले २५ अर्ब ९० करोड  २० लाख २८ हजार ८ सय किमी यात्रा गरिसकेको हुन्छ। अब गणना गरौँ- प्रकाश एक वर्षमा कति  किमी यात्रा गर्छ- यो हुन आउँछ ९४ खर्ब ५४ अर्ब २४ करोड ५ लाख १२ हजार किमी।

यो लेख पढिराख्नुभएका सबै मित्रले ध्यान दिनु होला- प्रकाशले १ वर्षको समयमा ९४ खर्ब ५४ अर्ब किमीभन्दा बढी यात्रा गर्छ। हाम्रो सूर्यबाट निस्केको प्रकाश जसलाई १४ करोड़ ९६ लाख किमी टाढा रहेको पृथ्वीसम्म आउन जम्मा ८ मिनेट २० सेकेण्डको  (५ सय सेकेण्ड) समय  लाग्छ, यही प्रकाश एक वर्षमा ९४ खर्ब ५४ करोड किमीभन्दा टाढासम्मको यात्रा गर्छ। प्रकाशले एक वर्षमा तय गर्ने यही दूरीको मानलाई एक प्रकाशवर्ष दूरी भनिन्छ। सूर्य र पृथ्वीबीचको दूरीलाई खगोलीय भाषामा ८ मिनेट २० प्रकाश सेकेण्ड भनिन्छ।

यति बढी गतिले यात्रा गरे पनि सूर्यको  प्रकाशलाई हाम्रो सौर्यमण्डलको सीमाना पार गरी अर्को सौर्यमण्डल ‘प्रोक्सिमा सेन्टुरी’ सम्म पुग्न ४ दशमलब २ वर्षको समय लाग्छ। खगोल विज्ञानको भाषामा हाम्रो सौर्यमण्डलदेखि सबैभन्दा नजिक रहेको अर्को सौर्यमण्डल  ‘प्रोक्सिमा सेन्टुरी’  को दूरी किमीमा हिसाब नगरी सजिलोका लागि प्रकाशवर्षमा गणना गर्ने गरिन्छ। ‘प्रोक्सिमा सेन्टुरी’ र हामीबीच ४ दशमलब २ प्रकाशवर्षको दूरी छ। हामीबाट ‘प्रोक्सिमा सेन्टुरी’को दूरी किमीमा हिसाब गर्दा ३ सय ९७ खर्ब ७ अर्ब ८१ करोड १ लाख ५० हजार ४ सय किमी हुन आउँछ। अब तपाईँले पक्कै बुझ्नु भयो होला, यति लामा अंकको हिसाब गर्न झन्झटिलो हुन्छ।

यसै कारण खगोल विज्ञानले ब्रह्माण्डका विराट दूरी मापन गर्न प्रकाशवर्ष यूनिटको प्रयोग गर्छ। ब्रह्माण्डको विराटता नाप्न किमी यूनिटमा सम्भव छैन। किमी यूनिट हाम्रो पृथ्वीका लागी उपयुक्त हुने यूनिट हो अथवा हद्द भए चन्द्रमा ( ३,८४,४०० किमी ) एवं सूर्यको  (१४,९६००००० किमी)  दूरी नाप्न उपयोग गर्न सकिन्छ। यसपछिका दूरी नाप्न खगोल विज्ञानले ‘एस्ट्रोनोमिकल यूनिट’ (एयू) प्रयोग गर्छ।

सूर्य र पृथ्वीबीचको दूरीलाई नै १ ‘एस्ट्रोनोमिकल यूनिट’ भनिन्छ। १ ‘एस्ट्रोनोमिकल यूनिट’मा १४ करोड़ ९६ लाख किमी हुन्छन्। सौर्यमण्डलका विभिन्न पिण्ड तथा ग्रहहरुबीचको दूरी ज्ञात गर्न यसै ‘एस्ट्रोनोमिकल यूनिट’ को प्रयोग गरिन्छ।  पृथ्वीदेखि शनि ग्रहको दूरी ८ दशमलब ५२ ‘एयू’, अरुण ग्रहको दूरी  १८ दशमलब २१ ‘एयू’ र वरुण ग्रहको दूरी  २९ दशमलब ०९’एयू’ छ। यी ग्रहको दूरी किमीमा ज्ञात गर्न ‘एयू’लाई  १४,९६००००० ले गुणन गर्दा हुन्छ। हाम्रो सौर्यमण्डलको सीमाना १५० ‘एयू’सम्म रहेको मानिन्छ। यसपछिको आकाशलाई अंतरतारकीय आकाश (interstellar  space) भनिन्छ। अंतरतारकीय आकाशपछिका दूरी नाप्न प्रकाश वर्ष यूनिटकै प्रयोग गरिन्छ। किनकि यहाँ ‘एस्ट्रोनोमिकल यूनिट’ सानो पर्न जान्छ। माथि ‘प्रोक्सिमा सेन्टुरी’ को दूरी ४ दशमलब  २ प्रकाशवर्ष रहेको उल्लेख गरिएको थियो। एक प्रकाशवर्षमा ६३,१९६ ‘एस्ट्रोनोमिकल यूनिट’ हुन्छन्। यस हिसाबले ‘प्रोक्सिमा सेन्टुरी’ र हाम्रो दुरी २,६५,४२३  ‘एयू’ हुन आउँछ। फेरि लामो अंकको समस्या हुन थाल्छ। यसैले खगोल विज्ञानले अंतरतारकीय आकाशपछिका विराट दुरी नाप्न ‘एयू’ को सट्टा प्रकाशवर्ष यूनिटको प्रयोग गर्छ। बुझ्नुस्, प्रकाशवर्ष यूनिट पनि मिलिमिटर, सेन्टीमिटर, मिटर, किलोमिटर, ‘एस्ट्रोनोमिकल यूनिट’ सरह दूरी नाप्ने यूनिट हो। दूरी नाप्ने सबैभन्दा ठूलो यूनिट ‘पार्सेक’ हो।  एक ‘पार्सेक’मा ३ दशमलब २६ प्रकाशवर्ष हुन्छन्।

पृथ्वीमा दूरीबारेका सबै गणना किमी यूनिटबाट गर्न सकिन्छ। पृथ्वी छ नै कत्रो?

खगोल विज्ञानको अध्ययन गर्दा पृथ्वीका धनपतिले बोकेको अहंकार हेर्दा विद्रूप हाँसो हास्न मनलाग्छ। अनन्त ब्रह्माण्डमा  १२,७५६ किमी व्यास भएको एउटा गुच्चा न हो पृथ्वी! ब्रह्माण्डसँग तुलना गर्दा यसको अस्तित्व एउटा परमाणु जत्रो पनि त छैन। ब्रह्माण्डको एउटा परमाणु जत्रो संरचनाभित्र रहेका मुर्खहरुले आफ्नो सम्पदाको बखानमा व्यर्थ समय खेर फाल्छन्? आखिर उनीहरुसँग भएको भनिएको सम्पदा पनि यो सानो पृथ्वीकै ससाना अंशमात्र होइन र?

यस गुच्चाको सतहको क्षेत्रफल जम्मा ५१,००,७२००० वर्ग किमी छ, यसमा पनि दुई तिहाइभन्दा बढी भाग महासागरले ओगटेका छन्। पृथ्वीको कुनै एक बिन्दुबाट सर्वाधिक टाढाको बिन्दु २० हजार ३७ किमी मात्रै हुनसक्छ। ४० हजार ७५ किमीको यात्रामा त पृथ्वीको एक फन्को नै पूरा हुन्छ।

सम्पूर्ण सौर्यमण्डलकै ९९ दशमलब ८ प्रतिशत द्रव्यमान सूर्यसँग छ।  सम्पूर्ण सौर्यमण्डलको द्रव्यमान २×१०३० किलोग्राम छ। यसलाई १ ‘सौर्य द्रव्यमान’ (Solar mass) भनिन्छ। खगोलविद्ह‌रुले अन्य ठूला संरचनाको द्रव्यमान हाम्रै सौर्यमण्डलको सापेक्ष गणना गर्छन्। जस्तो कि ‘मिल्की वे’ को द्रव्यमान खगोलीय भाषामा १ दशमलब ५४ ट्रिलियन ‘सौर्य द्रव्यमान’ बराबर छ। सौर्यमण्डलको द्रव्यमान २×१०३० किलोग्रामको ९९ दशमलब ८ प्रतिशत सूर्यसँग छ,  बाँकीको ० दशमलब २ प्रतिशत भागमै बाँकीको सौर्यमण्डल अस्तित्ववान छ। यो ० दशमलब २ प्रतिशतमा पनि बृहस्पति, शनि, अरुण, वरुणजस्ता ग्रह पृथ्वीभन्दा ठूला छन्। अन्य करोडौँ साना संरचनाहरु छन्। वास्तवमै पृथ्वीका अर्बपति र तिनका सन्ततिहरुले खगोल विज्ञान पढे ठूलै मात्रामा पृथ्वीमा हुने तँछाडमछाड कम हुने थियो।

लोकल ग्रुप अफ ग्यालेक्सी।

पृथ्वी सौर्य मण्डलको छैठौ नम्बरको ठूलो संरचना हो, हाम्रो चन्द्रमा भने १४ औँ नम्बरको ठूलो संरचना हो, निसन्देह सूर्य सबैभन्दा ठूलो पिंड अथवा संरचना हो। यो पृथ्वीभन्दा १ सय ९ गुना ठूलो गुच्चा हो। तर सूर्य ब्रह्माण्डको सबैभन्दा ठूलो संरचना होइन। हाम्रो सूर्य ‘मिल्की वे  गैलेक्सी’का अर्बौँ तारामध्ये मध्यम दर्जाको तारा हो। ब्रह्माण्डको कुरा छाडौँ-  ‘मिल्की वे गैलेक्सी’ मै सूर्यभन्दा ठूला तारा छन्। हाम्रो सूर्य ‘मिल्की वे गैलेक्सी’को केंद्रबाट झण्डै २८ हज़ार प्रकाशवर्ष टाढा छ। सूर्यले ‘मिल्की वे गैलेक्सी’को ‘ग्यालेक्टिक सेन्टर’को परिक्रमा गर्छ, यसलाई आफ्नो एक परिक्रमा पूरा गर्न २२-२४ करोड वर्षको समय लाग्छ।अस्तित्वमा आएदेखि सूर्यले जम्मा २० वटा परिक्रमा पूरा गरेको छ। अहिले २१ औँ परिक्रमाको क्रममा छ। ‘मिल्की वे गैलेक्सी’ २०० -४०० अर्ब ताराहरुको संयुक्त घर हो। घरको विस्तार (अब क्षेत्रफल लेख्न कस्तो कस्तो लाग्यो ) १ लाख प्रकाशवर्षभन्दा बढी छ। ‘मिल्की वे’ को एउटा कुनाबाट अर्को कुनासम्म पुग्न प्रकाशलाई १ लाख वर्ष लाग्छ। ‘नासा’को ‘हब्बल स्पेस टेलिस्कोप’ (Hubble Space Telescope) तथा ‘यूरोपियन  स्पेस एजेन्सी’को ‘गाया’ (Gaia) टेलिस्कोपले पत्ता लाएअनुसार ‘मिल्की वे’ को द्रव्यमान १ दशमलब ५४ ट्रिलियन  ‘सौर्य द्रव्यमान’ बराबरी छ।

हामी पृथ्वीमा ७ दशमलब ७ अर्ब मानिस पुगेकोमा चिन्ता व्यक्त गर्छौँ, प्रकृति शायद संख्यामै खेल्न रमाउँछ। एउटा ‘गैलेक्सी’मै खर्बौँ तारा हुन्छन्। खर्बौँ तारा भएका ‘गैलेक्सी’को संख्या नै २ खर्बभन्दा बढ़ी छ ब्रह्माण्डमा। ‘मिल्की वे’ नजिकको अर्को ‘गैलेक्सी’लाइ ‘एन्ड्रोमेडा’ नामाकरण गरिएको छ। वास्तवमा तपाईँ हामी कोही पनि छिमेकी होइनौँ,सबैजना एउटै घर ‘मिल्की वे’का सदस्य हौँ, हाम्रो असली छिमेकी, नजिकको छिमेकी ‘एन्ड्रोमेडा गैलेक्सी’ हो। काश! हामी पृथ्वीबासीले यति कुरा आत्मसात गर्नसके हामी बीचका धेरै मनोमालिन्य तिरोहित हुने थिए- घरकै सदस्यबीच केका लागि बैर?

‘एन्ड्रोमेडा गैलेक्सी’ र’ मिल्की वे’ का बीच २५ लाख प्रकाशवर्षको सानो दूरी छ। ‘मिल्की वे’का कुनै पनि ताराको प्रकाश ‘एन्ड्रोमेडा गैलेक्सी’सम्म पुग्न २५ लाख वर्ष लाग्छ। ‘मिल्की वे गैलेक्सी’का कुनै पनि प्राणीलाई ‘एन्ड्रोमेडा गैलेक्सी’ पुग्न कति समय लाग्छ? यसको हिसाबकिताब गर्ने तरखरतिर नलागेर म तपाईँलाई हामी मानव भनाउदा सर्वश्रेष्ठ प्राणीको गति क्षमताको रहस्य उजागर गर्न चाहन्छु। पृथ्वीको उन्नत विज्ञानले हासिल गरेको अधिकतम गति १७-१८ किमी प्रति सेकेण्ड मात्रै हो। अर्थात अहिलेसम्म विकास भएका सबैभन्दा उत्कृष्ट रकेटको गति १७-१८ किमी प्रति सेकेण्ड मात्रै छ।

यस गतिले हाम्रै सौर्यमण्डलको निकटतम अर्को सौर्यमण्डल’ प्रोक्सिमा सेन्टुरी’ पुग्न  नै ७० हज़ार वर्षको समय लाग्छ। यो सत्यतथ्य थाहा हुँदाहुँदै ‘एन्ड्रोमेडा गैलेक्सी’ पुग्न कति समय लाग्छ जान्ने किञ्चित पनि जिज्ञासा रहँदैन। ‘एन्ड्रोमेडा गैलेक्सी’ आकारमा ‘मिल्की वे’ भन्दा झण्डै दोब्बर छ। यसको विस्तार २ लाख २० हजार प्रकाशवर्षसम्म छ। यस ‘गैलेक्सी’को तारा संख्या ‘मिल्की वे’मा रहेका ताराभन्दा धेरै बढी छ। वैज्ञानिकहरुको अनुमानअनुसार ‘एन्ड्रोमेडा’मा तारा संख्या ८ सय देखि १ हज़ार अर्बसम्म छ। आकारमा झण्डै दोब्बर र तारा संख्या पनि दोब्बरभन्दा बढ़ी रहेको ‘एन्ड्रोमेडा’को द्रव्यमान भने ‘मिल्की वे’ को आधा मात्रै छ। यसको कारणबारे विस्तृत जानकारी नभए पनि वैज्ञानिकहरुका अनुसार यसको प्रमुख कारण यस ‘गैलेक्सी’मा ‘डार्क म्याटर’को  मौज्दात बढी हुनु हो। ‘डार्क इनर्जी ‘तथा ‘डार्क म्याटर’ का बारेमा विज्ञानसँग नाम मात्रको जानकारी छ।

मिल्की वे र एन्ड्रोनोमा कोलाइड हुँदाको दृश्य।

तर, शायद दुई ठूला छिमेकीको  (एन्ड्रोमेडा र मिल्की वे गैलेक्सी) आपसमा बढी प्रेम छ। दुबै एक अर्कालाई भेट्न व्यग्र छन्। दुबै एक अर्काको नजिक पुग्ने तरखरमा गति गरिरहेका छन्। अबको ४ अर्ब वर्षपछि यी दुबै ‘गैलेक्सी’ संयुक्त (colide) हुन पुग्छन्। यी दुबैको महामिलनमा विनाश र सृजनको नवीन अध्याय कोरिन्छ। तर, तपाईँ र म त के, त्योभन्दा धेरै पहिला पृथ्वीकै अस्तित्व बाँकी रहँदैन। सूर्यले भने आफ्नो रेड गेंट ( Red Giant ) अथवा व्हाइट ड्राफ ( White Dwarf ) अवस्थामा यस घटनाको दर्शन गर्न पाउने छन्। दुबै ‘ग्यालेक्सी’ आपसमा ‘कोलाइड’ भएर  ‘मिल्किमेडा’ नामक नयाँ ‘ग्यालेक्सी’ अस्तित्वमा आउने छ।

‘ग्यालेक्सी’ पनि ग्रुपमा छन्। ‘मिल्की वे’, ‘एन्ड्रोमेडा’ दुबै ‘ग्यालेक्सी’ को आफ्नो ‘लोकल ग्रुप’ छ। ‘लोकल ग्रुप’मा रहेका ‘ग्यालेक्सी’ लाई ‘स्याटेलाइट ग्यालेक्सी’ भनिन्छ। ‘मिल्की वे’ का ‘स्या‍टेलाइट ग्यालेक्सी’मा  ‘सैजिटेरियस ड्राफ ग्यालेक्सी’ ( Sagittarius Dwarf Galaxy), ‘लार्ज मयागेलनिक क्लाउड’ (Large Magellanic Cloud), ‘स्माल मयागेलनिक क्लाउड’ ( Small Magellanic Cloud ),  ‘कैनिस मेजर ड्राफ ग्यालेक्सी’ (Canis Major Dwarf Galaxy ),  ‘उर्स माइनर ड्राफ ग्यालेक्सी’ (Ursa Minor Dwarf Galaxy ) , ‘लियो -१’ ( Leo -1 ), ‘लियो-२’  (Leo II ) ,’ उर्स मेजर -१ ड्राफ ग्यालेक्सी ‘(Ursa Major I Dwarf Galaxy), ‘उर्स मेजर -२ ड्राफ ग्यालेक्सी’ (Ursa Major II Dwarf Galaxy)  लगायत थुप्रै ‘ग्यालेक्सी’ छन्।

‘एन्ड्रोमेडा’ को ‘लोकल ग्रुप’ मा पनि थुप्रै ‘ग्यालेक्सी’ छन्। यस ‘लोकल ग्रुप’ को विस्तार १ करोड प्रकाशवर्षसम्म छ। एन्ड्रोमेडा र मिल्की वेको लोकल ग्रुपका बीच झण्डै २६०० प्रकाश वर्षको दूरी छ। यसै दूरीबाट दुबै ‘लोकल ग्रुप’ले  १ सय २३ किमी प्रति सेकेण्डको गतिमा एक अर्काको परिक्रमा गर्छन्।

हामी पृथ्वीमा ७ दशमलब ७ अर्ब मानिस पुगेकोमा चिन्ता व्यक्त गर्छौँ, प्रकृति शायद संख्यामै खेल्न रमाउँछ। एउटा ‘गैलेक्सी’मै खर्बौँ तारा हुन्छन्। खर्बौँ तारा भएका ‘गैलेक्सी’को संख्या नै २ खर्बभन्दा बढ़ी छ ब्रह्माण्डमा। ‘मिल्की वे’ नजिकको अर्को ‘गैलेक्सी’लाइ ‘एन्ड्रोमेडा’ नामाकरण गरिएको छ। वास्तवमा तपाईँ हामी कोही पनि छिमेकी होइनौँ,सबैजना एउटै घर ‘मिल्की वे’का सदस्य हौँ, हाम्रो असली छिमेकी, नजिकको छिमेकी ‘एन्ड्रोमेडा गैलेक्सी’ हो।

‘एन्ड्रोमेडा’ र ‘मिल्की वे’ को ‘लोकल ग्रुप’ का सबै ‘ग्यालेक्सी’ अर्को ठूलो ग्रुप ‘लोकल सुपरक्लस्टर’  (Local Super Cluster) का सदस्य हुन्। यसलाई  ‘भिर्गो सुपरक्लस्टर’ (Virgo Super Cluster) भनिन्छ। यस ‘लोकल क्लस्टर’ अथवा ‘भिर्गो क्लस्टर’मा  सयभन्दा बढ़ी ‘ग्यालेक्सी’का ‘लोकल ग्रुप’ छन्। ‘भिर्गो क्लस्टर’को विस्तार ११ करोड प्रकाशवर्षसम्म छ।

‘भिर्गो लोकल सुपर क्लस्टर’ अर्को ठूलो समूह  ‘लयनिकिया सुपर क्लस्टर’  ( Laniakea Super cluster ) को सदस्य हो।  ‘लयनिकिया सुपर क्लस्टर’ को विस्तार ५२ करोड प्रकाशवर्ष छ। यस्ता अनेकौँ ‘सुपर क्लस्टर’ छन्। खगोल विज्ञानमा रूचि नहुनेलाई पढ़न दिक्क नै लाग्यो  होला, तर मलाई विश्वास छ, दुईचारजनाका लागि भए पनि यो मनोरञ्जक नै भयो होला।  तर यस लेखमा वर्णित एउटा कुरालाई सत्य नमान्नु होला कि ब्रह्माण्डको विस्तार ९३ अर्ब प्रकाश वर्ष मात्रै छ। किनकि मित्र हो हाम्रो ब्रह्माण्ड प्रकाशको गतिभन्दा पनि तीव्र गतिले वृद्धि भइरहेको छ।

लेख लामो नभएको भए ब्रह्माण्ड कसरी प्रकाशभन्दा पनि तीव्र गतिले वृद्धि भइरहेको छ भन्नेबारे उल्लेख गर्ने थिए। यसबारे चर्चा कुनै अन्य लेखमा गरौँला। तर यति जानिराख्नुस्- यसले आइन्स्टाइनले भनेको ‘प्रकाशभन्दा तीव्र गति हुन सक्दैन’ भन्ने मान्यताको खण्डन गर्दैन।  ब्रह्माण्डको प्रकाशभन्दा तीव्र गतिले भइरहेको विस्तारले  प्रकाशको गति विषयक नियतांकको  (C= 299792  kimi  constant )  उल्लंघन गर्दैन।

दृश्य ब्रह्माण्डको विस्तार ९३ अर्ब  प्रकाशवर्ष संज्ञानमा आएको धेरै वर्ष भइसक्यो। विज्ञानले भन्छ- ब्रह्माण्ड प्रतिपल विस्तार भइरहेको छ। मैले यो लेख्दा ब्रह्माण्डको जुन आकारको छ, त्यो अर्को पंक्ति लेख्दासम्म बढोत्तरी भइसक्छ। यस कारणले कुनै एक समयमा ब्रह्माण्ड कत्रो छ भन्ने तपाईँको जिज्ञासाको उत्तर दिनु सम्भव छैन। किनकि उत्तर दिँदादिँदै नै  ब्रह्माण्ड लाखौँ किमी विस्तारित भइसकेको हुन्छ।

अहिले मुलुकमा करोड  शब्दको व्यापक प्रचारप्रसार भइरहेको छ। करोडको फेरमा मन्त्रीको ‘स्टाटस’ नै भूतपूर्व हुन गएको छ। म पनि तपाईँलाई करोड मूल्य बराबरको एउटा जानकारी दिन्छु। यो  ९३ अर्ब प्रकाश वर्षसम्मको विस्तारमा जुन अनेकौँ भीमकाय संरचनाहरुको थुप्रो छ, त्यहाँ जीवन छ कि छैन भन्नेबारे त कुनै अनुमान लगाउन सकिँदैन किनकि जीवन हुनलाई अनेकौँ शर्त क्रमअनुसार पालना हुनुपर्छ। जीवनलाई आवश्यक हुने शर्त ब्रह्माण्डको कुनै अर्को कुनामा जुटिसकेका छन् वा कालान्तरमा जुट्न सक्छन्- त्यसको निर्क्यौल मानवीय प्रज्ञाले गर्न सम्भव छैन। तर, मानवीय प्रज्ञाले एउटा कुरा ज्ञात गरिसकेको छ जसबारे थाहा पाउँदा तपाईको मस्तिष्कमा खलबली हुनु पर्ने हो।

मिल्की वे।

सम्पूर्ण  ब्रह्माण्डमा पृथ्वीजस्तो  ‘डेन्स’ अर्को कुनै पिंड छैन। पृथ्वीको ‘डेन्सिटी’ ५ दशमलब ५१४ ग्राम प्रति घन सेन्टिमिटर (सेन्टिमिटर क्यूब) छ। यस ‘डेन्सिटी’ ले पृथ्वीको द्रव्यमान ५.९७२३७×१०२४ किलोग्राम छ। पृथ्वीबाहेक ब्रह्माण्डको कुनै पनि अर्को पिंडमा उपलब्ध अणुका बीच पृथ्वी जस्तो खँदिलोपना छैन। आकारका हिसाबले त्यहाँ  पृथ्वीभन्दा अणुको संख्या बढी हुनसक्छ, कैयौँ पिंडमा छ पनि। त्यहाँ उपलब्ध भएको अणु संख्याले त्यस पिंडको द्रव्यमान पनि पृथ्वीभन्दा करोडौँ-अर्बौँ गुना बढ़ी छ, तर त्यहाँका अणुको खँदिलोपना पृथ्वीका अणुजस्तो छैन।

कैयन ग्रहको ‘डेन्सिटी’ त पानीभन्दा पनि कम छ। जस्तो कि हाम्रै सौर्यमण्डलको शनि ग्रह। शनि ग्रहको ‘डेन्सिटी ‘पानीभन्दा पनि कम छ। शनि ग्रहलाई पानीको विशाल महासागरमा राख्ने हो भने यो पानीमाथि पौडिरहन्छ। ज्ञात सम्पूर्ण ब्रह्माण्डकै ‘डेन्सिटी’ झण्डैझण्डै शून्यकै हाराहारीमा छ, भनौँ हाम्रो सम्पूर्ण ब्रह्माण्डलाई कुनै ठूलो ताल बनाएर राख्ने हो भने ब्रह्माण्ड तालमाथि पौडिरहन्छ।

दृश्य ब्रह्माण्डको  डायमीटर (व्यास ) ९३ अर्ब प्रकाशवर्ष हो । यसको आयतन (Volume )  ४×१०८० घन किमी (kimi cube ) छ। डायमीटर र आयतनको तुलनामा सम्पूर्ण ब्रह्माण्डको द्रव्यमान भने अत्यंत कम  १.५×१०५३ किलोग्राम मात्रै छ।

हाम्रै सौर्यमंडलको द्रव्यमान २×१०३०  किलोग्राम छ। ब्रह्माण्डको तुलनामा एक अणु जत्रो पनि त छैन हाम्रो सौर्यमंडल ! ब्रह्माण्ड अत्यंत हलुको छ, रिक्त छ। यसको औसत ‘डेंसिटी’   ९. ९×१०२७ किलोग्राम प्रति घनमिटर मात्रै छ। तपाईँलाई सजिलो हुने गरी कसरी बुझाउँ? यसलाई यसरी बुझ्ने प्रयास गर्नुस् कि ब्रह्माण्डको अनन्त विस्तारमा प्रति घनमिटर स्थानमा ६ वटा प्रोटोन (Protons) मात्रै छन्।

ब्रह्माण्ड अनन्त कालसम्म विस्तार भइरहन्छ। ब्रह्माण्ड बाहिर के छ? ब्रह्माण्डभित्र पदार्थबाहेक के छ? यसबारे विज्ञानलाई विस्तृत रूपमा केही थाहा छैन। हो, अलिअलि जे थाहा छ त्यो के हो भने सम्पूर्ण ब्रह्माण्ड ‘डार्क इनर्जी’ र ‘डार्क म्याटर’ले भरिपूर्ण छ। दृश्य ब्रह्माण्ड (यहाँ रहेका सम्पूर्ण पदार्थ) ४ दशमलब ९ प्रतिशत मात्रै छ। ब्रह्माण्डको ‘कन्टेंट’ मा अझै ६८ दशमलब ३ प्रतिशत ‘डार्क इनर्जी’ र २६ दशमलब ८  प्रतिशत ‘डार्क म्याटर’को उपस्थिति छ।

वैज्ञानिकहरुको अनुमानअनुसार ‘डार्क एनर्जी’ र ‘डार्क म्याटर’ नै ब्रह्माण्डको ‘एक्सिलरेसन’को कारण हो। यदि ब्रह्माण्डको विस्तार हुनुका पछाडि ‘डार्क म्याटर’ र ‘डार्क इनर्जी’ नै कारण हुन् भने त ब्रह्माण्ड अहिले आफ्नो मूलस्वरुप को ५ प्रतिशत पनि बनिसकेको छैन। ब्रह्माण्डको भित्र अथवा बाहिर (जुन शब्द र शैलीमा भने पनि) अझै ९५ प्रतिशत ‘इनर्जी’ र ‘म्याटर’को रूप त ‘डार्क फेज’ मै छ।

अन्तमा कुरा तापमानको। पृथ्वीमा हुने न्यूनतम र अधिकम तापमानबारे तपाईँहरुलाई ज्ञात नै होला। सूर्यको तापमान ५६  सय डिग्रीदेखि १५  करोड डिग्री सेल्सियससम्म हुन्छ। परमाणु बमको विस्फोटनमा तापमान ३५ करोड डिग्री सेल्सियससम्म पुग्छ। अत्यधिक द्रव्यमान भएका ताराहरुको जीवनकालको अन्तमा तापमान ३ अर्ब डिग्री सेल्सियससम्म पुग्छ। युग्म प्रणालीका न्यूट्रॉन तारा (binary neutron star system) एक आपसमा ‘कोलाइड’ हुँदाको तापमान ३ खर्ब ५० अर्ब डिग्री सेल्सियस हुनेगर्छ।  हुन त पृथ्वीमै वैज्ञानिक प्रयोजनका लागी ‘सर्न पार्टिकल एक्सिलेटर’मा  १० ट्रिलियन डिग्री सेल्सियस तापमान बनाइसकिएको छ।

‘बिग बैंग’ भएको १०४३ सेकेण्ड पछिको तापमान १०२८ डिग्री सेल्सियस थियो। कालान्तरमा तापमान कम  हुँदै गएर सृष्टि प्रारम्भ भयो। वैज्ञानिक मतानुसार १.४१७×१०३२  डिग्री सेल्सियस नै ब्रह्माण्डमा हुनसक्ने सर्वाधिक तापमान हो। यसलाई ‘ प्लान्क तापमान’ भनिन्छ। ‘बिग बैंग’ पछि तापमान सेलाउँदै आएको छ। सेलाउने  क्रममा छ। ब्रह्माण्डमा सबैभन्दा कम तापक्रम  ‘अब्सोल्युट जिरो’ तापमान माइनस २७३ दशमलब १५ डिग्री हुनसक्छ। यो तापमान भनेको सृष्टिको अन्त हुनु हो। अहिले ब्रह्माण्डको औसत तापमान माइनस २७० दशमलब ४२४५ डिग्री सेल्सियस छ। पृथ्वी र सूर्यजस्ता ब्रह्माण्डका केही अतिशय क्षुद्र बिन्दु तातो हुँदै गए पनि समस्त ब्रह्माण्ड भने सेलाउने क्रमतिर अग्रसर छ। ब्रह्माण्डको अन्त तातो भएर होइन, सेलाएर हुन्छ। भनौँ तापमान माइनस २७३ दशमलब १५ डिग्री सेल्सियस पुगेको दिन ब्रह्माण्डको अंतिम दिन हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?