
धनगढी– आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब पहिलो पटक खप्तड गोल्डकपको फाइनलमा पुगेको छ।
धनगढी रंगशालामा शनिबार भएको पहिलो सेमिफाइनलमा विभागिय टीम नेपाल एपिएफ क्लबलाई हराउँदै सुदूरपश्चिम–११ पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो।
विभागीय टिम एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो। सुदुरपश्चिम–११ को जितमा विक्रम सिंह ठकुरीले दुई गोल गरे। एपीएफका आशिष लामाले एक गोल फर्काए।
रोमाञ्चक बनेको खेलको तीनै गोल पहिलो हाफमा भएको थियो। घरेलु समर्थकको साथ पाएको सुदुरपश्चिमले एपीएफविरुद्ध खेलको आठौं मिनेटमा अग्रता बनायो। विक्रमले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। उनले एपीएफका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे।
खेलको ११ औं मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दै सुदूरपश्चिमलाई २–० को अग्रता दिलाए। त्यसपछि खेलको २४ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल २–१ मा ल्याए। डिबक्सको अगाडी प्राप्त बललाई आशिषले दुई डिफेन्डर र आयोजकका गोलरक्षक सुजित विसीलाई बिट गर्दै गोल गरे।
दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेलकाे नजिजा सुदूरपश्चिमले २–१ ले आफ्नो पक्षमा बनायो।
खेलको म्यान अफ दि म्याच सुदूरपश्चिमका विक्रम चुनिए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी पाए।
अब उपाधिका लागि आयोजक सुदूरपश्चिमले थ्री स्टार र हिमालयन शेर्पा क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ। आइतबार प्रतियोगिताको दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन्।
फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २१ लाख १ रुपैँया तथा उपविजेताले १० लाख १ रुपैँया हात पार्नेछन्।