
झापा– महिलालाई कमजोर ठान्ने नेपाली समाज। महिलाले पुरुष सरह बलको काम गर्न सक्दैनन् भन्न मान्छे हिच्किचाउँदैनन्। तर चाहे भने पुरुष सरह वा पुरुषले भन्दा मजबुद तरिकाले सुरक्षा पहरा लगायत काम सम्पन्न गरेर देखाउँछन् भन्ने उदाहरण अचेल प्रशस्त देख्न पाइन्छ।
अझै पनि महिलालाई चुलाचौकाको काममा सीमित गराइन्छ। यो नेपाली समाजको तीतो यथार्थ हो। जति नै समानुपातिक सहभागिताको नारा लगाए पनि व्यवहारिक पक्ष भने निकै कमजोर छ जुनसुकै क्षेत्रमा। तर अहिले जुनसुकै सार्वजनिक स्थलहरु सुरक्षा पहरामा महिलाको उत्तिकै सहभागिता देख्दा लाग्छ ‘उनीहरुले गरेको काममा के कमी छ र ?’
अहिले बैंक तथा अन्य वित्तीय संस्था, अस्पताल, ठूल्ठूला डिपार्टमेन्ट स्टोर, सपिङ मल जस्ता सार्वजनिक स्थलहरुको सुरक्षाको जिम्मा महिला सुरक्षा गार्डहरुलाई दिने गरिएको छ। उनीहरुलाई सुरक्षा गार्ड राख्नेहरु उनीहरु काम देखेर दंग पर्ने गरेका छन्। काममा इमान्दारीता उनीहरुको सबल पक्षको रुपमा ठानिन्छ।
विगतमा पुरुषहरुले गर्ने सुरक्षा गार्डको काममा महिलाहरुको आकर्षण बढ्न थालेको छ। महिलाहरु सुरक्षा गार्डको काममा उत्तिकै सक्षम छन् भन्ने कुराको उदाहरण अहिले सुरक्षा गार्डको भूमिका निर्वाह गरिरहेका महिलाहरुले देखाएका छन्।
पहिला सुरक्षा निकायमा काम नगरेकाहरु पनि तालिम लिएर सुरक्षा गार्डको काम गरिरहेका छन्। कतिपय स्थानमा त महिला सुरक्षा गार्डकै माग आउन थालेको सुरक्षा गार्ड कम्पनीका सञ्चालकहरु बताउँछन्।
अर्जुनधारा १० झापाकी लक्ष्मी गिरीले विर्तामोडको हनुमान सेन्ट्रल सपिङ हाउस अगाडि सुरक्षा गार्डको काम गरेको करिब पाँच वर्ष भयो।
उनी दिनमा आठ घन्टा काम गर्छिन्। जब उनी सुरक्षा गार्डको काम गर्न थालिन् त्यो बेला महिलामा खासै चासो थिएन सुरक्षा गार्डको काममा।
अहिले सुरक्षा गार्ड राख्नेहरुले नै महिला खोजी खोजी राख्न थालेको गिरी बताउँछिन्।

लक्ष्मी गिरी।
उनले भनिन्, ‘कोही बेला महिलाहरु नै मादक पदार्थ पिएर झगडा गर्छन्। ट्वाइलेट तथा बाथरुमका सिसा फुटाइदिन्छन्। उनीहरुलाई त्यहाँबाट निकाल्न पनि महिला नै चाहिने भएकाले महिला सुरक्षा गार्डको माग बढेको छ।’
विगतका चुनावका बेला म्यादी प्रहरी भएकाहरु सुरक्षा गार्ड कम्पनीका रोजाइमा पर्ने गरेका छन्।
विर्तामोड नगरपालिका–९ घर भएकी पूजा थापा मगर पनि म्यादी प्रहरी थिइन् र अहिले उनलाई सुरक्षा गार्डको जागिर खान सहज भएको छ।
पूजा भन्छिन्, ‘हामी पनि पुरुष जतिकै आठ घण्टा उभिएर काम गरिरहेका छौं। आत्मवल प्रशस्त छ। त्यो भएन भने त कसरी काम गर्ने र !’
तर म्यादी प्रहरी नभएकाहरु पनि केही समय तालिम लिएर सुरक्षा गार्ड भएका छन्।
इलाम दानाबारी घर भएकी रामकुमारी खातीले करिब एक साताको तालिम लिएर झापा विर्तामोडको एउटा सपिङ सेन्टरको सुरक्षाको जिम्मा लिएकी छिन्।
खातीले भनिन्, ‘हामीले पनि ध्यान दिएर काम गर्ने हो भने सकिँदो रहेछ भन्ने लागेको छ।’
आर्थिक अवस्था कमजोर भएका तर शारीरिक अवस्था मजबुद भएका महिलाहरुले सुरक्षा गार्डको काम रोज्न थालेको सुरक्षा गार्डका कम्पनीहरु बताउँछन्।
सुरक्षा गार्ड कम्पनीका एकजना सञ्चालक विजय बस्नेत भन्छन्, ‘खासगरी मन्टेश्वरी स्कूल, अस्पताल जस्ता क्षेत्रमा महिलाको माग बढेको छ। पाँच जना गार्ड माग भएको ठाउँमा दुई जना महिला खोज्छन्।’
कम्पनी सञ्चालकहरुकाे अनुसार माग अनुसारको महिला सुरक्षा गार्डको संख्या पुर्याउन अझै सकिएको छैन। तर खटाइ अनुरुपको तलब सुविधा पाउन भने उनीहरुलाई निकै गाह्रै छ।