
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आतंकित बनिरहेको छ। हाल नेपालमा यसको संक्रमण नदेखिएपनि यसको चपेटामा जनताहरु परेका छन्। तर, यस्तो विषम परिस्थितिमा नेपालमा केही मानिसहरुले एक अर्कालाई सहयोग गर्दै मानवता देखाइरहेका छन्।
मकवापुरको चित्लाङ स्थायी घर भएका हरिहर लामिछानेले आफ्नो कलंकीमा रहेको घरमा भाडामा बस्नेहरुको तीन महिनाको भाडा नलिने घोषणा गरेका छन्। लामिछानेले चैत, बैशाख र जेठ महिनाको भाडा नलिने भएका हुन्। धेरै मानिसको जनजीवन प्रभावित भई काम धन्दा गुमेको भन्दै उनले भाडा नलिने बताएका हुन्। उनको कलंकीस्थित घरमा भाडामा दुई परिवार बस्दै आएका छन्।
यता ललितपुरको ग्वार्को घर भएकी सुष्मा राईले पनि सामाजिक सञ्जाल मार्फत एक महिनाको भाडा नलिने बताएकी छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) कि पूर्व आइसिसी सदस्य राइले कोरोनाले पर्न गएको आर्थिक मन्दीका कारण एक महिनाको भाडा नलिने निर्णय गरेको बताइन्।
संकटको बेला सबै संयमित बनौँ, परिस्थिति जस्तोसुकै होस् मनस्थिति बलियो बनौँ भन्दै उनले मानविय सहयोग गर्नु सबैको कर्तव्य भएको बताएकी छन्।