
काठमाडौँ– गृह मन्त्रालयले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’ले गरेको निर्णय पालना नगरे कारबाही गर्ने चेतावनी दिएको छ।
आइतबार विज्ञप्ति जारी गर्दै समितिको उक्त निर्णय उल्लंघन भएको पाइएमा कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।
उच्चस्तरिय समितिको बुधबार (चैत ५)को बैठकले सिनेमा हाल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेलमैदान, जिम, हेल्थ क्लब, म्युजियम, डान्सबार तथा क्लबहरु चैत्र मसान्तसम्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो।
उक्त बैठकले सार्वसाधारणहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन भन्दै सार्वजनिक स्थलमा २५ जनाभन्दा भेला हुन नपाइने निर्णयसमेत गरेको थियो। यस्तै सार्वजनिक बसमा पनि सिट क्षमताभन्दा बढी यात्रु चढाउने नपाइने समितिकाे निर्णय थियो।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द गर्ने घोषणा गरेका थिए। साथै उनले सोमबार चैत १० गतेबाट लामो दूरीका बस सञ्चालन नहुने समेत घाेषणा गरेका थिए।
यी लगायतका अन्य निर्णयहरु पालना गर्न आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको हो। उक्त निर्णयहरु पालना नभए कारबाही गरिने गृहले चेतावनी दिएको हाे।