
पाेखरा – बागलुङकी कोरोना (कोभिड–१९) भाइरस पाँचौं संक्रमित १९ वर्षीया युवतीको त्यहीँ रहेको धवलागिरी अञ्चल अस्पतालमा उपचार गरिने भएको छ ।
स्वास्थ्य सामान्य र स्थिर भएकाले आवश्यक मेडिकल सामग्रीको बन्दोबस्तीसहित अञ्चल अस्पतालमै थप उपचार गरिन लागेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद विन्दु शर्माले जानकारी दिए ।
‘युवतीको स्वास्थ्य अवस्था हामीले जानकारी लिइरहेका छौं, अहिले सामान्य छ भन्ने सूचना छ,’ उनले भने, ‘अस्पताललाई आवश्यक मेडिकल सामग्री पोखराबाट अहिले पठाउने र त्यहीँ उपचार हुनेछ ।’
शनिबार दिउँसो कोरोना पोजेटिभ भएको पुष्टि भएपछि उनलाई राति मात्र उक्त अस्पतालको आइसोलेसनमा ल्याई राखिएको थियो । अस्पतालमा आइसियु बेडको व्यवस्था नहुँदा संक्रमित युवतीलाई बागलुङमा उपचार गर्न जटिल हुने सोही अस्पतालका चिकित्सकले बताएका थिए ।
निर्देशनालयले भने सामान्य अवस्थामा त्यहीँ राखेर उपचार गर्न र आवश्यक मेडिकल सामग्री सहित १ भेन्टिलेटर पनि उपलब्ध गराउने भएको निर्देशक डा शर्माले जानकारी दिए । अस्पतालमा चिकित्सकको अभाव नभएको बताउँदै उनले भने, ‘पोखराबाट मेडिकल टिमको साथमा भेन्टिलेटर, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) जादैँ छ ।’
शनिबार कोरोना पुष्टि भए लगत्तै काठमाडौं लैजाने भन्ने निश्कर्षमा निर्देशनालय पुगेपनि संक्रमित युवतीको स्वास्थ्य सामान्य रहेको हुँदा बागलुङमै उपचार गर्न सकिने भएको निर्देशक डा शर्माले बताए ।
गृह र स्वास्थ्य मन्त्रालयले पनि शनिबार नै उक्त युवती सहित परिवारका अन्य सदस्यलाई बागलुङमै थप उपचारको प्रबन्ध गर्न निर्देशन दिएका थिए । तर उक्त अस्पतालमा आइसियु र भेन्टिलेटरको हालसम्म प्रबन्ध छैन ।
संक्रमित युवती बेल्जियमदेखि कतार ट्रान्जिट बनाई ४ चैतमा कतार एअरवेजको ‘क्यूआर ६५२’ विमानमा नेपाल आएकी थिइन् । सोही दिन काठमाडौंदेखि यति एअरको विमानमा पोखरा झरेर जीपमार्फत बागलुङ पुगेको स्थानीय जनप्रतिनिधिको भनाई छ । परिवारको अन्य सदस्यलाई सेल्फ आइसोलेसनमा राखिने र लक्षण देखिएपछि मात्र थप उपचार अघि बढाइने भएको छ ।
उनको ११ गतेमात्रै स्वाब संकलन भएको थियो । त्यसअघि ७ चैतमा अञ्चल अस्पतालमा गई स्वास्थ्य जाँच गराउँदा सामान्य ज्वरो र खोकी भनी चिकित्सकले घरमै पठाएका थिए ।
तर सोही विमानमा फ्रान्सबाट आएकी काठमाडौंकी १ युवतीमा कोरोना पुष्टि भएपछि स्थानीय सरकारी अधिकारीहरुले घरमै गई उनको नमूना लिएका थिए ।
उनमा १५ चैत शनिबार मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जनाएका थिए ।
उनीसहित नेपालमा ५ जनामा कोरोना पुष्टि भएको छ । १ जना उपचार पछि घर फर्किसकेका छन भने, बाँकी चिकित्सकको निगरानीमा उपचाररत छन् ।