
अहिले सारा विश्व नै कोरोना भाइरस कोभिड -१९ ले आक्रान्त बनेको छ। कोभिड -१९ संक्रमणको कारक सार्स – सीओभी २ लाइ लिएर विश्वका अधिकांश नागरिक दुविधा, अन्योल र भयग्रस्त बनेका छन्। हातहातमा मिडिया हुने वर्तमानको उपलब्धिका कारण चारैतिरबाट अनेकौ किसिमका समाचार आइरहेका छन्।
यस्ता अधिकांश जानकारी अथवा समाचार भ्रमजनित र भयजन्य भए पनि केही मात्रामा आशालाग्दो एवं आश्वासन प्रदान गर्ने पनि रहेका छन्। सर्वत्र यतिविघ्न विविधतापूर्ण कुरा प्रसारित भइरहेको हेर्दा एक जना मित्र वाक्क लागेर सोध्नुहुन्छ- कोभिड-१९ विषयक यति धेरै समाचार किन प्रसारित भइरहेका छन्? समाचारबाट प्राप्त भएको जानकारीले व्यक्तिलाई आश्वस्त गर्नुको सट्टा झनै असहज किन बनाइरहेको छ?
यसको मूल कारण समाजमा व्याप्त विज्ञान – शिक्षा सम्बन्धी निरक्षरता एवं शिक्षाको न्यूनता नै हो। विश्वकै अधिकांश मानिस यस कोरोना भाइरसरूपी विपद्भन्दा पहिला विज्ञान विषयक पठन पाठनमा खासै रूचि राख्दैन थिए। विज्ञानका पुस्तक अथवा लेख रचनाले चाहेको मनोरञ्जन प्राप्ति हुँदैन थियो। आम मानिस ज्ञान प्राप्तिभन्दा पनि मनोरञ्जनका लागि पढ्ने मानसिकता राख्छन्।समाज अझै पनि अतिशय भावुक, कलाप्रेमी वा कथाजीवी छ। भावनात्मक, संवेदनात्मक, रागात्मक, कल्पनात्मक एवं चमत्कारिक कथा साहित्यमा नै उसको असीम रूचि छ। ऊसँग देवासुर संग्रामका पौराणिक कथादेखि प्राचीन एवं ऐतिहासिक कथा- साहित्यको विस्तृत सरस र समृद्ध साहित्यिक परम्परा छ।
आधुनिक युगका नवयुवा यस परम्पराबाट टाडिए पनि कथात्मक शैलीबाट मुक्त हुन सकेका छैनन्। यसबाट टाढिए पनि उनको सम्बन्ध हलीवुड र बलिवुडसँग गाँसिन पुग्यो। उनको विज्ञान सम्बन्धी ज्ञान हलीवुडीय- बलीवुडीय फिल्मबाटै प्रभावित र निर्देशित छ। यस्तोमा व्यावहारिक कठोर सत्यका रूपमा कोभिड-१९ जस्तो महामारीको प्राकट्य हुँदा उनका मनमा यस्ता विचार आउन थाल्छन् –
१- पृथ्वीका मानिसको कुनै अपराधका कारण दण्डस्वरूप यो महामारी देखा परेको हो र यसको समाप्ति कुनै चमत्कारले नै हुन्छ।
२- यस महामारीका लागि कुनै एक देश – जाति -जनसंख्या उत्तरदायी रहेको छ।
३- विश्वका वैज्ञानिकले यसको भ्याक्सिन बनाउन यतिको समय किन लगाइरहेका छन्?
४- यस महामारीका पछाडि कुनै अन्तर्राष्ट्रिय षड्यन्त्र छ।
भाइरस संक्रमण र मानव शरीरको यस प्रवृतिबारे ठोस रूपमा केही ज्ञात हुन सकेको छैन। यस विषयमा अहिले नै केही भनिहाल्नु फेरि चमत्कार र भयकै खेती गरे तुल्य हुन्छ।
मानिसको मस्तिष्कले दण्डको विधानलाई जति चमत्कारिक ठान्छ, वास्तविकता त्यसो होइन। मानिसले गरेको प्रकृतिको अन्धदोहनको दण्ड स्वाभविक नै हो र यो सम्पूर्ण मानव जातिले कुनै न कुनै दिन भोग्नैपर्छ। तर चमत्कार- जादू — षड्यन्त्र – तिलस्मी हलीवुडीय फिल्मबाट के ग्रहण गर्नु सम्यक हुन्छ, के हुन्न यो समझदारी विकसित गर्नु परम आवश्यक छ। फेरि यस्तो समझदारीले मात्रै पुग्दैन यो विवेक पनि आवश्यक पर्छ, जे ग्रहण गरिएको हो त्यो अभिधा हो कि लक्षणा ! तपाईले सिकेको कुरा ‘लिटरल’ हो कि ‘मेटफोरिकल’?
सबैभन्दा दुर्भाग्य र विभ्रमको स्थिति त त्यसबेला सिर्जना हुन्छ जब चमत्कारका पछि दौडिने जमातले ‘मेटफोरिकल’ रूपमा भनिएका उत्योक्तिलाई ‘लिटरल’ ठानेर हठ प्रदर्शित गर्न थाल्छ।
अहिलेको कोभिड- १९ कै कुरा गरौँ। धेरैजनाको जिज्ञासा छ के यो भाइरस संक्रमण मानव मलबाट फैलिन सक्छ? के संक्रमित व्यक्तिको झूठो भोजन वा पानीबाट पनि संक्रमण फैलिन सक्छ?
यस प्रश्नको जबाबमा स्पष्ट भन्न सकिन्छ- सार्स -सीओभी-२ भाइरसको नाम मै स्वसन (रेस्पिरेटरी ) विशेषण संयुक्त रहेको छ। यसको अर्थ यो कोरोना भाइरस हवामा उपस्थित स-साना थोपा (ड्रपलेट) बाट सर्छ।
यति मात्र होइन कुनै वस्तु अथवा सतह (टेबल, कुर्सी, रेलिङ, लुगा ,कप, गिलास आदि) मा टाँसिन पुगेका यी ‘ड्रपलेट’ अन्य स्वस्थ व्यक्तिले ती वस्तु छुँदा पनि भाइरस संक्रमण सर्न सक्छ।
अहिलेसम्म कोभिड़ -१९ का मुख्य रूपमा ज्ञात लक्षण स्वसनतन्त्र (रेस्पिरेटरी सिस्टम ) सँग सम्बधित छन्। तर पछिल्लो समयमा भएका अनेको केस स्टडीमा यस संक्रमणमा पेट सम्बन्धी लक्षण पनि देखिएका छन्। संक्रमित व्यक्तिको मल परीक्षणमा भाइरसको ‘आरएनए’ मात्रै होइन, पुरै भाइरस पनि भेटिएको पुष्टि भएको छ।
सार्स – सीओभी २ ले संक्रमित व्यक्तिको पाचन प्रणालीसँग के र कस्तो सम्बन्ध बनाइरहेको छ, यस विषयक शोध भइरहेको छ। शोधको परिणाम प्राप्त हुन अझै समय लाग्छ। यस विषयबारे अनुसन्धानरत विशेषज्ञहरुले आशंका व्यक्त गरेका छन् – सार्स -सीओभी २ बाट संक्रमित व्यक्तिहरुले (तर तिनमा अझैसम्म संक्रमणको लक्षण नदेखिएको) मलबाट भाइरस निष्काषित गरिरहेका छन्। भाइरस संक्रमण र मानव शरीरको यस प्रवृतिबारे ठोस रूपमा केही ज्ञात हुन सकेको छैन। यस विषयमा अहिले नै केही भनिहाल्नु फेरि चमत्कार र भयकै खेती गरे तुल्य हुन्छ।
शरीर विज्ञानबारे ज्ञान हुने व्यक्तिलाई थाहा छ, कुनै पनि संक्रमण हुनासाथ शरीरको ‘इम्यून सिस्टम’ले अनेको ‘फाइटर’ कोशिकाको निर्माण गरी संक्रमणका कारणलाई नष्ट गर्ने अभियान चलाउँछ। ‘इम्यून पावर’ बलियो भएका मानिसको ‘फाइटर’ कोशिकाले संक्रमण रोक्छन्, नष्ट गर्छन् अथवा कुनै माध्यमले शरीरबाट बाहिर पठाउँछन्। संक्रमण प्रारम्भ भएका व्यक्तिमा (तर जाँच गर्दा कुनै लक्षण नदेखिएका) यसरी मलबाट भाइरस बहिर्गमन हुनुमा ‘इम्यून सिस्टम’ को विजय हो भन्नु हतारमा गरिएको निष्कर्ष हुनसक्छ, हामीलाई अझै सम्म यसको वास्तविकता थाहा छैन। तर यो प्रमाणित भइसकेको छ नाक र घाँटीबाट नमूना लिएर ‘आरटीपीसीआर’ जांच गर्दा ‘निगेटिभ रिपोर्ट’ आएका व्यक्तिको मलमा भाइरस पाइएका छन्।
यसबाट हामीले के शिक्षा ग्रहण गर्ने ? यो अति खतराको कुरा पनि त हुनसक्छ ! जबसम्म विज्ञान संक्रमणको अध्ययनमा लागेको छ, संक्रमण सम्बन्धी सबै जानकारी प्राप्त हुँदैनन्। हाम्रो दायित्व र कर्तव्य हुन्छ, हामी विज्ञानले यस विषयक दिएका सबै निर्देश पालन गरौ । स्वच्छतालाई जीवनकै अंग बनाऊ। राम्ररी हात धोऔँ, भोजनको शुद्धता कायम गरौँ। पानीको शुद्धता कायम गरौँ। घरको कुनाकुना स्वच्छ राखौँ। भयग्रस्त मानसिकताले रोगसँग लडन सकिँदैन। जागरूकता नै सबैभन्दा बलियो अस्त्र हो।
विज्ञानको सुस्त गतिमा गुनासो नगर्नुस्। विज्ञान कुनै जादूको शो होइन, न हलीवुडको एक -दुई घन्टे फिलिम हो। जीवनको यथार्थमा सतत संघर्ष पछि मात्रै सफलता अर्जित हुन्छ, यहाँ हातको सफाइ वा चलाखीले कुनै काम हुँदैन।
सत्यको सबैभन्दा सुन्दर र रहस्यमय पक्ष नै यही हो- सत्य आकर्षक हुन्न ,अनाकर्षक हुन्छ । यसै कारण अधिकांश मानिस सत्यको अनाकर्षण प्रति आकृष्ट हुन सक्दैनन । यही कारण हो अधिकांश मानिस विज्ञानको वास्तविक वा यथार्थ पक्षलाइ पढ्दैनन । विज्ञानलाइ कथा कहानीका रूपमा पढ़न रुचाउछन र यिनै कथा गल्प पढेर फिक्शन फिल्म हेरेर विज्ञान बारे धारणा बनाउछन ।
लेखक – डा.स्कन्द शुक्ल
पुनर्लेखन -ज्ञानमित्र