
धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमण जाँच गर्ने पिसिआर मेसिन जडान भइरहेको छ ।
संघीय सरकारले कोरोना भाइरस कोभिड १९ जाँच गर्ने मेसिनसहितका आवश्यक उपकरण पठाएपछि बुधबार बिहानदेखि जडान सुरु भएको छ । मंगलबार साँझ सेनाको हवाई ट्रक मार्फत मेसिन र किट लगायतका सामान धनगढी पुर्याईएको थियो । बुधबार बाईसेफ्टी क्याविनेट समेत धनगढी पुगेपछि जडान सुरु भएको सेती प्रादेशिक अस्पतालका कोरोना भाईरस हेर्ने फोकल प्रशन डाक्टर जगदीश जोशीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको लागि आएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले स्वास्थ्य कार्यालयमा प्रयोगशाला स्थापनाको काम सुरु गरेको बताए ।
उनले भने–‘मेसिन स्टल र भ्यालीडेसनको काम चाँडै सकियो भने, आज साँझ नै परीक्षणको काम शुरु गछौं ।’ उनका अनुसार उक्त मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिपोर्ट आउनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पठाइएको यो मेसिनबाट काम थालिएपछि कोरोना परीक्षणको लागि काठमाडौं जानुपर्ने छैन । हालसम्म सुदूरपश्चिमका अस्पतालबाट नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको थियो । जस अनुसार अहिले सम्म २६ जनाको परीक्षण गरिएको जसमा एक जनाको मात्र पोजेटिभ देखिएको छ ।