
काठमाडौं- राष्ट्रियसभाले गणेश तिमिल्सिनालाई सभाको अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा गरेको छ।प्रोटेम स्पीकर (जेष्ठ सदस्य) तारा देवी पोखरेले निर्वाचित गरियोस भनेर पत्र पढ्न सासद खिमलाल भट्टराईलाई अनुरोध गरेकी थिइन्।
त्यस पछि सासद सुमन राज प्याकुरेल र दिनानाथ शर्माले तिमिल्सिनालाई निर्वाचित गरियोस भन्ने प्रस्तावमा समर्थन गरेका थिए। तारा देवीले तिमिल्सिना सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन्।उनी वाम गठबन्धनका तर्फबाट निर्विरोध निर्वाचित भएका थिए।

संसद बाहिर गणेशप्रसाद तिमिल्सिनालाई बधाई दिनका लागि नेपालीझण्डा लिएर उपस्थित भएकाहरु। तस्बिर-दीपा दाहाल/देश सञ्चार
अध्यक्ष पदका लागि सोमबार भएको मनोनयन दर्तामा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो।बुधबार दिउँसो एक बजे राष्ट्रियसभाको बैठक बोलाइएको भए पनि साढे १ बजे बसेको थियो।
यसैबीच राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ। राष्ट्रियसभाको अध्यक्ष पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्ष महिला हुनुपर्ने छ।
५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई-दुई जना र राष्ट्रपतिबाट मनोनित तीन जना सदस्य छन्।