धनगढी- ११ औ संस्करणको सुदूरपश्चिम महोत्सव धनगढीमा सुरु भएको छ। महोत्सवको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा विजयी नारदमुनि रानाले उद्घाटन गरे।
आयोजक कैलाली उद्योग वाणिज्य संघले प्रमुख अतिथि रानालाई १६ बुँदे माग पेस गरेर १६ किलोको माला लगाइिदएको छ। महोत्सवको माध्यमबाट सुदूरपश्चिमको समग्र विकासका लागि २०६३ सालबाट २१ बुँदे माग राख्दै सांकेतिक माला आन्दोलन सुरु भएको थियो।
११ औँ संस्करणसम्म आइपुग्दा जम्मा ६ माग मात्रै आंशिक रुपमा पूरा भएका छन् भने गौरीफन्टा नाका स्तरोन्नतिको माग थपिएको छ। २०६३ सालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई २१ किलोको माला पहिर्याएर सुरु भएको सांकेतिक माला आन्दोलनको परम्परा अहिलेसम्म जारी छ । तर ११ बर्षमा ६ ओटा माग पनि पुर्ण रुपमा पुरा नभएपछि यो परम्पराको अन्त्य हुन सताव्दी लाग्ने देखिएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, एमाले नेता भीम रावल लगायतले सुदूरपश्चिमबासीले लगाएको गह्रुँगो माला पहिरिसकेका छन्।
यस्तै महोत्सवको उद्घाटनका अवसरमा प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले उद्योग वाणिज्य संघले बुझाएका मागहरु पुरा गर्न आफुले सक्दो पहल गर्ने बताए। प्रदेश सभा सदस्य डिल्लीराज पन्तले पनि लामो समयदेखिका माग पूरा नभएकोमा दुःख व्यक्त गर्दै पूरा गराउन पहल गर्ने बताए। महोत्सव १० दिनसम्म चल्ने छ।
यस्ता छन कैलाली उद्योग वाणिज्य संघका १६ बुँदे माग
१. गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिनुपर्ने।
२.प्रदेश नं.७ मा उद्योग स्थापना प्रोत्साहन स्वरुप १० वर्षसम्म ट्याक्स फ्री जोन घोषणा गरिनु पर्ने।
३. धनगढीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गरिनुपर्ने।
४. विशेष औद्योगिक क्षेत्रको स्थापना र विशेष औद्योगिक प्याकेजको ब्यबस्था गरिनुपर्ने।
५ .प्रदर्शनीस्थलको निर्माण गरिनुपर्ने।
६. अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण गरिनुपर्ने।
७.प्रदेश नं. ७ लाई चीनसँग जोड्ने नाका खुलाउनुपर्ने।
८.पश्चिम सेती जलविद्युत आयोजना निर्माणको शिघ्र कार्यान्वयन र प्रदेश नं. ७ लाई लोडसेडिङमुक्त गरिनुपर्ने।
९. प्रदेश स्तरीय पर्यटन केन्द्रको स्थापनाका साथै खप्तड, शुक्लाफाँटा,घोडाघोडी जस्ता पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गरिनुपर्ने।
१०. कृषि विश्वविद्यालयको स्थापना गरिनुपर्ने।
११. प्रदेश सभा सम्मेलनगृहको स्थापना गरिनुपर्ने।
१२.प्रदेश सांस्कृतिक संग्रहालय निर्माण गरिनुपर्ने।
१३.चिसापानीदेखि गड्डाचौकी सम्म वन जङगल नरहेका पुराना बजारहरुको जग्गा दर्ता गर्नुपर्ने
१४.सूचना प्रविधि क्षेत्रको स्थापना गरिनुपर्ने।
१५. दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको शिघ्र कार्यान्वयन गरिनुपर्ने।
१६. सेती अञ्चल अस्पताललाई सुविधासम्पन्न क्षेत्रीय अस्पतालको रुपमा विकास गरिनुपर्ने।
पूरा भएका मागहरु
१. गेटा विमानस्थल धावनमार्ग कालो पत्रे।
२. अप्टिकल फाइबर विस्तार।
३. सुदूर पश्चिमालञ्चल विश्वविद्यालय स्थापना।
४. छैटौ राष्टिय खेलकुद आयोजना तथा रंगशाला निर्माण।
५.आईसीयु स्थापना।
६.दुग्ध प्रशोधन केन्द्र।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































