
काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुलीले तोकेको इजलास बहिष्कार गर्दै आएका न्यायाधीशले सर्वोच्चमा विदा माग गर्दै निवेदन दिएका छन्।
सर्वोच्च स्रोतका अनुसार दीपकराज जोशी, चोलेन्द्रशमशेर राणा, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाश राउत, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानले बिदा माग गर्दै प्रधानन्यायाधीशलाई निवेदन बुझाएका हुन्।
मंगलबार र बुधबार इजलासमा नबसेका न्यायाधीश अनिलकुमार सिन्हाले भने बिदा माग गरेका छैनन्। स्रोतका अनुसार ८ जना न्यायाधीशले चैत ६ गते सम्म बिदा माग गरेका छन्।
जोशीले मंगलबार इजलास कक्षमा गई ललितपुर जिल्ला अदालतको पूर्व निर्धारित कार्यक्रममा जानुपर्ने भएकाले मात्र मुद्दा हेर्न नसक्ने बताएका थिए। तर, उनले बुधबार मुद्दा पनि मुद्दा हेरेनन्। यस्तै मंगलबार इजलास कक्षमा गएका प्रकास रावतले पनि बुधबार मुद्दा हेर्न अस्वीकार गरेका थिए। बाँकीं ५ जना न्यायाधीशहरु मंगलबार कुनै कारण नदेखाई इजलासमा गएका थिएनन्।
स्रोतले भन्यो, ‘अदालत आउने मुद्दाको सुनुवाइ नगर्ने भनेर आलोचना हुन् थालेकाले उनीहरुले बिदा माग गरेका हुन्।’
बुधबार प्रधान र भट्टराईले बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गरेका थिएनन्।
वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणाले गत सोमबार साउन २१ देखि नै प्रधानन्यायाधीश गोपाल पराजुली सेवानिवृत्त भएको घोषित गर्दै इजलासबाट बाहिरिएपछि अदालतमा न्यायाधीशबीच ध्रुवीकरण बढेको छ।