
सिमकोट – सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा सरकारले लकडाउनकाबिच पनि हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्न थालेपछि ७५ जना मजदूरहरुले रोजगारी पाएका छन् ।
एक हप्तासम्म लकडाउनको कारण हवाई सेवा बन्द हुदा बेरोजगार बनेका ती मजदूरहरुले हवाई सेवा सुचारु भएसँगै काम पाएका हुन् ।
सिमकोट विमानस्थलबाट लिमिटेडको गोदामसम्म खाद्यान्न ढुवानी गर्ने ७५ जना भरियाले काम पाएको लिमटेडका सिमकोट शाखाका निमित्त प्रमुख शिवराज घिमिरेले बताए ।
उनीहरुलाई कोरोना संक्रमणबाट बच्न निर्धारित सामाजिक दूरी कायम गरि हिँड्न प्रहरीले व्यवस्था मिलाएको छ ।
सामाजिक दूरी अनुसार लामबद्ध भएर भरियाहरुले भारी बोक्दै आएका छन् । प्रत्येक भरियाले ६० देखि ९० केजी खाद्यान्न बोकेर गोदामसम्म ल्याउने गर्छन् ।
भरिया बाँच नेपालीले जहाज चल्न थालेसँगै रोजगारी पाईदा दैनिक गुजारा चलाउन सहज भएको बताइन् ।