
काठमाडौँ- सामाजिक अभियन्ता महावीर पुनको अगुवाइमा कोरोना भाइरसको संक्रमणबाट बच्न भक्तपुरमा आल्मुनियमबाट पीपीई बुथ बनाउन थालिएको छ।
खास गरी चिकित्सकलाई बाहिरबाट आउने विरामीको चेकजाँच गर्न सजिलो होस् भनेर पीपीई बुथ बनाउन लागिएको अभियन्ता महावीर पुनले देश सञ्चारलाई जानकारी दिए। उनले भने, ‘हामीले यो पीपीई बुथ विशेष गरी चिकित्सकको लागि सजिलो होस् भनेर बनाउन थालेका हौँ। तर यो बनाउने खर्च विभिन्न समूहहरु आफैँ सक्रिय भएर गरिरहनुभएको छ।’
उनले चिकित्सकलाई चाहिने आवश्यक मास्क, पञ्चा, चश्मासहितको पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) भने नि:शुल्क दिइरहेको बताए। उनले भने, ‘ संकटको यो घडीमा भने हामीले पीपीई निशुल्क दिइरहेका छौँ। हामी पहिला मानवताको नाताले सोचौँ। कोरोनाविरुद्ध अभावमा एक जुट हौँ। अनि बल्ल व्यापार र पैसा कमाउने हो।’
उनका अनुसार अहिलेसम्म चिकित्सका लागि जाँच गर्ने पीपीई बुथ भक्तपुर अस्पताल, टिचिङ अस्पताल, महाराजगञ्ज, सैनिक अस्पताल, वीर अस्पताल, कैलाली, पोखरा, बुटवल, विर्तामोड लगायतमा पुर्याइसकिएको छ।
उनले भने, ‘हामीलाई चारैतिरबाट पीपीई बुथको माग भइरहेको छ। हामीसँग पैसा नभए पनि आइडिया छ। हामी आइडिया दिन्छौँ, बनाउने समूहहरुले आफैँ पैसा तिरेर लैजान थालेका छन्।’
उनका अनुसार पीपीई बुथ भक्तपुरको महालक्ष्मी आल्मुनियममा बनिरहेको छ।