
सिमकोट – सुर्खेतबाट हुम्लाका लागि खाद्यान्न ढुवानी गर्ने क्रममा सिमकोट पास छिरेर रन वेमा ल्याण्ड गर्ने तयारीमा रहेको तारा एयरलाई एक्कासी हुरी चलेपछि ल्याण्ड गर्न निक्कै सकस भयो ।
रन वे मा ल्याण्ड गर्नु भन्दा करिब दुई सय मिटर वरै खोचमा हावा एक्कासी बढ्दा डाइभर्ट गर्नु परेपछि उक्त जहाजलाई अवतरण गर्न सकस भएको हो ।
तारा एयर भन्दा दुई मिनेट अगाडि समिट एयरको जहाज सिमकोट विमानस्थलमा अवतरण भएको थियो । त्यसको ठिक दुई मिनेटपछि तारा एयरको जहाजले अवतरण प्रयास गरेको थियो ।
तर विमानस्थल अगाडि (सिमकोट गाउँ रहेको क्षेत्रमा पर्ने दुई वटा खोच) मा एक्कासी हुरी चल्दा जहाजलाई ल्याण्ड गर्न कठिन भएको नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख बिष्णु प्रसाद अधिकारीले बताए । तर विमानस्थलको टचमा भने हावा नभएको उनले बताए । उतैबाट हावाले जहाज अनव्यालेन्स हुँदा ल्याण्ड गर्न कठिन भएको थियो ।
सुर्र्खेतबाट खाद्यान्न भरेको ताराको ट्वीनीटर जहाजले चार पटक चक्कर मार्नु परेको थियो । हावाले गर्दा जहाज निक्कै हल्लिएको देखिन्थ्यो । जहाजले हावाको कारण रन वेमा ल्याण्ड गर्न नसक्दा आवाज पनि भिन्न आउने गरेको थियो । तर क्याप्टेनको अथक प्रयासका बिच चौथो पटककमा भने जहाज ल्याण्ड गर्न सफल भएको थियो ।
हिमाली तथा पहाडी क्षेत्रको उडानका क्रममा यस्तो घटना पाइलटहरुका लागि सामान्य बताइन्छ ।