
बन्दुक सम्बन्धी कानुन कडा बनाउन माग गर्दै अमेरिकामा विद्यार्थी तथा विद्यालयका शिक्षक कर्मचारीले प्रदर्शन गरेका छन् । एक महिनाअघि फ्लोरिडाको पार्कल्याण्डमा रहेको विद्यालयमा भएको गोलीकाण्डमा १७ जनाको ज्यान गएपछि सुरु भएको प्रदर्शनले घटनाको एक महिना पुगेको दिन बुधबार विशाल प्रदर्शन भएको हो ।
अमेरिकाका विद्यालयले बुधबार पार्कल्याण्डको स्कुलमा भएको गोलीकाण्डमा ज्यान गुमाएका १७ जनाको सम्झनामा १७ मिनेट पढाई बन्द गरेका थिए । बुधबार घटना भएको पार्कल्याण्डको मार्जरी स्टोनम्यान डग्लस हाइस्कुलका विद्यार्थी फुटबल मैदानमा जम्मा भएर एक अर्कालाई अंकमाल गरे ।
प्रदर्शनकारीले बन्दुक सम्बन्धी हिंसा कम गर्न विधायक असफल भएको आरोप लगाएका छन् । उनीहरुले बन्दुक सबन्धी कानुन कडा बनाउनु पर्ने माग गरेका छन् भने बन्दुक किन्न उमेर पनि बढाउनु पर्ने माग गरेका छन् । फ्लोरिडामा उमेर हद बढाएर २१ वर्ष पुर्याइएको छ । तर देशभर यो नियम लागु हुनु पर्ने उनीहरुको माग छ ।
ह्वाइट हाउसले यो हप्ता सार्वजनिक गरेको योजनामा भने उमेर हद २१ बनाउने कुरा उल्लेख गरिएको छैन । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालयका शिक्षक तथा कर्मचारीलाई हतियार दिने प्रस्ताव भने गरेका छन् ।
बुधबार भएको प्रदशृनमा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा सरोकारवालको सहभागिता थियो । उनीहरुले बन्दुक नभई मानिसको सुरक्षा गर्नु पर्ने, अब यस्तो घटना कहिले नहोस्, अब त अति भयो जस्ता नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागी विद्यार्थीले आफूहरु आउँदो सन् २०२० मा हुने चुनावमा भोट हाल्न योग्न हुने भएकाले बन्दुक सम्बन्धी कानुन कडा बनाउन नभए चुनावमा आफूहरुले त्यस अनुसारकै निर्णय गर्ने पनि चेतावनी दिए ।
यसअघि मंगलबार गएको फेब्रुअरीमा १७ जनाको ज्यान लिने गरी अन्धाधुन्ध गोली चलाउनेलाई मृत्युदण्डाको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ ।
न्यायीक अधिकारीले फ्रोरिडाको एक हाइस्कुलमा अन्धाधुन्ध गोली चलाउने १९ वर्षे निकोलास क्रुजलाई मृत्युदण्ड दिनु पर्ने माग गर्दै मंगलबार मुद्दा दायर गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
क्रुजले प्रहरी समक्ष आफ््नो अपराध स्वीकार गरिसकेका छन् । उनले आफूले विद्यालयमा प्रवेश गरेर विद्यार्थीलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएको र त्यसपछि हतियार छोडेर भागेको बताएका छन् ।
संघीय जाँच आयोग एफबिआईले क्रुजका बारेमा आफूहरुले एक वर्षअघि नै सूचना पाए पनि प्रभावकारी सावधानी अपनाउन नसक्दा घटना भएको स्वीकार गरिसकेको छ ।
न्यायीक अधिकारीले मंगलबार दर्ता गरेको मुद्दामा अपराध जघन्य र निर्दयी रहेकाले क्रुजलाई मृत्युदण्ड दिनु पर्ने माग गरिएको छ ।
अन्धाधुन्ध गोली चलाउने क्रुज विद्यालयका पूर्व विद्यार्थी हुन् । उनलाई विद्यालयले निष्काशन गरेको थियो । उनले आफ्नो साथमा एक भन्दा धेरै मेसिनगन ल्याएको र अन्धाधुन्ध गोली चलाएको सरकारी अधिकारीले बताएका थिए ।
क्रुजले विद्यालय भित्र गोली चलाउन पूर्व बाहिरी क्षेत्रमा पनि गोली चलाएका थिए । यो सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा ठूलो र घातक गोलीकाण्ड हो । सन् २०१२ मा केन्टुकीमा एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको थियो ।
यो घटनापछि भएको विरोध प्रदर्शन र दबाबका कारण फ्लोरिडामा बन्दुक सम्बन्धी कानुन कडा पारिएको छ ।