
धनगढी- बझाङको छविसपाथिभेरा गाँउपालिकामा लाग्ने धार्मिक मेला बान्नीकी चैतली सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीहरु सहित ९ जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
कोभिड १९ को महामारी फैलिन नदिन लकडाउन भइरहेको समयमा यहाँका स्थानीय बासिन्दाहरुले लकडाउनको बेवास्ता गर्दै मेला आयोजना गरेको भन्दै बुधबार उनीहरुलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले बताए।
पक्राउ पर्नेमा छविसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडा अध्यक्ष केशवराज जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना छन्।
यहाँ जनप्रतिनिधिसँगै बान्नी मष्टा मन्दिरका पूजारी निर्पराज जोशी र उनका दुईजना सहयोगी फसलपाते पण्डित डम्बरबहादुर धामी , पुजारी जयकृष्ण जोशीलाई पक्राउ गरेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए।
उनीहरुसँगै एक जना स्थानीय रजबार ईन्द्रबहादुर सिहँ र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भक्रषहेको बोहराले जानकारी दिए।
बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आवश्यक अनुसन्धान भइरहेको र लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएका छन्। लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुलाई एक सय रुपैयाँ जरिवाना वा एक महिनासम्म कैद र ६ सय जरिवाना वा ६ महिनासम्म कैदको व्यवस्था रहेको उनले बताए।
कोरोनाको त्रासमा देश नै लकडाउनमा भएको समयमा यहाँका स्थानीय बासिन्दाले लकडाउनको बेवास्ता गर्दै चैत्र २४ गते हजारौँको संख्यामा मानिस बोलाएर मेला सम्पन्न गरेका थिए। बझाङको छबिसपाथिभेरा गाँउपालिका वडा न. ३ को बान्नीचौरमा चैतली मेला लागेको थियो।
हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन मनाइने बान्नीको चैतली यस वर्ष चैत्र २४ गते परेको थियो। सरकारले वैशाख ३ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनि कार्यक्रम नगर्न तथा सभा सम्मेलन, अनावश्यक भिडभाड गर्नमा रोक लगाएको भए पनि छविसपाथिभेरा गाउँपालिका वडा नं. ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानीयको घुइँचो नै लागेको थियो।