
धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालले नियुक्ति पत्र लिन गरेको अनुरोधलाई १४ जना स्टाफ नर्सले अस्वीकार गरेकी छन्।
उनीहरुलाई तीन पटकसम्म नियुक्तिका लागि बोलाइए पनि नियुक्ति लिन अस्वीकार गरेको सेती प्रादेशिक अस्पतालले जनाएको छ। उनीहरुले कोरोना भाइरसको डरले नियुक्ति पत्र लिन नमानेको बुझिएको छ।
अस्पतालले १० माघको सूचनापछि लिखित तथा अन्तरवार्ता परीक्षाबाट योग्यता क्रममा रहेका बैकल्पिक आवेदकलाई चैत ५, १२ र २४ गते गरी तीन पटकसम्म नियुक्तिका लागि बोलाइए पनि १४ जना स्टाफ नर्सले नियुक्ति लिन अस्वीकार गरेकी हन् ।
अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार माघ १० गतेको विज्ञापनपछि पहिलो रोजाइँमा रहेका २३ जनालाई सुरुमा भर्ना गरेको थियो । २० जनालाई बैकल्पिकमा राखिएको थियो।
कोरोनाको जोखिम बढेपछि बैकल्पिकमा नाम निकालेका १५ जनालाई सुरुमा र त्यसपछि थप ५ जनालाई पनि नियुक्तिका लागि पटक–पटक बोलाएको तर ६ जनाले मात्र नियुक्ति पत्र बुझेको श्रेष्ठले बताए।
अस्पतालले उनीहरुलाई पटक–पटक सूचना जारी गरेर नियुक्ति पत्र लिन खबर गरेपनि नआएकोले नयाँ भर्नाका लागि अर्को सूचना जारी गरेको अस्पताल प्रमुख डाक्टर हेमराज पाण्डेयले बताए।
उनले बैकल्पिकमा नाम निकालेका स्टाफ नर्सलाई नियुक्तिका लागि धेरै पटक फोन गरेको पनि गरेको तर कोही नआएपछि बिहीबार नयाँ भर्नाका लागि पाँच दिने सूचना जारी गरेको जानकारी दिए।
सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाको जोखिम बढेसँगै सेती प्रादेशिक अस्पताललाई कोरोना उपचार विशेष अस्पताल घोषणा गरेको छ । अहिले यो अस्पतालमा चार जना संक्रमितको उपचार भइरहेको छ भने ६ जना शंकास्पद विरामीको आइसोलेसनमा उपचार भइरहेको छ ।