
काठमाडौँ – सामान्य दिनहरुको जस्तो छैन, तर बिहानीको चहलपहल दिउँसोको भन्दा अलि बढी नै देखिन्छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लकडाउनको १९ दिन शनिबार बिहान नै मानिसहरुको फाट्फुट हिँडडुल देखिन्थ्यो ।
अत्यावश्यक बाहेकका कामले हिँड्नेहरु लगभग शून्य प्रायः थिए । केही मर्निङ्ग वाकमा थिए । केही पूजाका लागि बत्ति बालेर मठ मन्दिर पुगेका थिए । आफ्नो कामका लागि विभिन्न स्थानमा पुग्ने तथा अत्यावश्यक सामग्री तरकारीसहितको ठेला व्यापार गर्नेहरुलाई हतारो सुरु हुँदै थियो ।
सामान्य अवस्थामा जस्तै सक्रिय देखिन्थे सफाई कर्मचारीहरु । उनीहरुले शहरका विभिन्न क्षेत्रमा कुच्च लगाउने तथा फोहोर सोहोर्ने काम गरिरहेका थिए । सबै बाहिर निस्कनेहरुले मास्क भने लगाएका देखिन्थ्यो ।
कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप नेपाल विगत १९ दिनदेखि लकडाउनमा छ । देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले शनिबार बिहान लकडाउनमा उपत्यकाको जनजीवन केही तस्बिरमा समेट्ने प्रयास गरेका छन् ।