
सिमकोट – हिमाली जिल्ला हुम्लाका लागि दुई हजार क्वीन्टल खाद्यान्न थप भएको छ । खाद्यान्न अपुग हुने देखिएपछि जिल्लाको माग अनुसार नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त खाद्यान्न थप गर्ने निर्णय गरेको हो ।
लिमिटेडका खरिद एकाई प्रमुख डिल्लीराज लम्सालले बोर्ड बैठकबाट चालु आर्थिक वर्षको निर्धारित कोटा भन्दा थप दुई हजार क्वीन्टल खाद्यान्न थप भएको बताए ।
हुम्लामा चैत्रदेखि असारसम्म खाद्यान्न समस्या हुने गर्दछ । प्रमुख लम्सालका अनुसार यसै समस्यालाई ध्यान दिएर लिमिटेडले खाद्यान्न कोटा थपेको हो ।
उक्त खाद्यान्न नेपालगञ्ज र सुर्खेतबाट शनिबारबाट ढुवानी सुरु भइसकेको छ । लिमिटेडका सिमकोट शाखाका प्रमुख राम बहादुर बिष्टका अनुसार थप कोटाको खाद्यान्न व्यवस्था भएपछि अब हुम्लामा खाद्य संकट हुने छैन ।