
लन्डन- कोरोना भाइरसको संक्रमणले नराम्रोसँग थलिएको स्पेनमा सोमबारदेखि कलकारखाना र निर्माण सम्बन्धी कामहरु सुचारु भएका छन्।
अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएअनुसार स्पेनका मेट्रो स्टेसनहरुमा १० औँ लाखको संख्यामा प्रहरीले मास्कहरु वितरण गरेको छ। काममा फर्किएका कामदारहरुमा मेटल उद्योग, निर्माण कम्पनी, क्लिनर्स, उधोग, पानीजहाज,सुरक्षासँग सम्बन्धित छन्।
फलाम, काठ तथा फर्निचर सम्बन्धी उधोग खोल्दा स्पेनमा १७ लाख कामदार काममा फर्कने जनाइएको छ। स्पेनमा दुई सातायता लकडाउन गरिएको थियो। त्यहाँ हालसम्म करिब १७ हजार पाँच सय जनाको मृत्यु भएको छ भने ६४ हजारभन्दा बढी निको भएका छन्।
स्पेनमा १ लाख ६९ हजार पाँच सय जनामा कोरोना संक्रमण भेटिएको छ। स्पेनमा मार्च ३० यता सबैभन्दा कम नयाँ संक्रमित भेटिए, आईतबार। ३ हजार चार सय ७७ जना नयाँ संक्रमित भेटिएको जनाइएको छ। आईतबार स्पेनमा मृत्यु हुनेको संख्या पाँच सय १७ थियो।
यसैगरि युरोपको सबैभन्दा बढी प्रभावित इटालीले पनि लकडाउन खुकुलो बनाउने तयारी गरेको छ। इटालीले मंगलबारदेखि किताब पसल, स्टेसनरी, बच्चाको कपडा बेच्ने स्टोरहरु खोल्न दिँदै छ।
इटालीमा लामो समययता लकडाउन छ। त्यहाँ करिब २० हजारको मृत्यु भइसकेको छ भने एक लाख ५६ हजार संक्रमित छन्। संक्रमितमध्ये ३४ हजार जना निको भएका छन्।