
धनगढी-कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनका कारण खोप कार्यक्रम स्थगित हुँदा बालबालिका जोखिममा परेका छन्।
खोप कार्यक्रम स्थगित गरेका कारण सुदूरपश्चिम प्रदेशका हजारौँ बालबालिका नियमित खोपबाट वञ्चित भएका छन्।वालवालिकाले खोप नपाउँदा उनिहरुमा भाइरल रोगहरूसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
लकडाउनका कारण गर्भवतीलाई दिइने खोप समेत बन्द गरिएको छ। जन्मिएको १५ महिनासम्म बालबालिकालाई ११ किसिमका खोप लगाउनुपर्छ। बीसीजी, पोलियो,पीसीभी, दादुरा, रुबेला, जेई, टीडी लगायत खोप शिशुलाई दिइन्छ। तर अहिले खोप सेवा पूर्ण रूपमा बन्द रहेका छन्।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अहिले सबै खोप बन्द गरिएको बताए। संघीय सरकारको निर्णयअनुसार खोप कार्यक्रम बन्द भएको उनले जानकारी दिए।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले कोरोना जोखिम न्यूनीकरणकै लागि खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए।उनले खोप लगाउन खोप केन्द्रमा बालबालिका जम्मा गर्नुपर्ने र सामाजिक दूरी समेत कायम राख्नुपर्ने भएकाले अहिलेलाई सम्भव नभएको बताए।