
सिमकोट-नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानमा पैदल मार्गबाट हुम्लाका दुई वटा डिपोका लागि आएको खाद्यान्न मुगुमा रोक्का गरिएको छ। मुगुको छायाँनाथ नगरपालिकाको वडा नम्बर १४ का वडा अध्यक्षले हुम्ला आउन नदिएर रोकेपछि खाद्यान्न रोकिएको हो।
बिहीबारबाट तीन वटा खाद्यान्न लोड भएका ट्रक वडा अध्यक्ष नन्दबहादुर बढुवालको निर्देशनमा छायाँनाथ नगरपालिकाको वडा नम्बर १४ को बाममा रोकिएको खाद्यान्न ढुवानीको जिम्मा पाएको सप्लार्यका प्रतिनिधि बीर बहादुर बुढाले बताए।
तीन वटै ट्रकमा ९७ दशमलव पाँच क्वीन्टल खाद्यान्न रहेको छ। अध्यक्ष बढुवालले वडाको नाका भएर जान नदिने भएपछि खाद्यान्न उतै रोकिएको उनले बताए। वडा अध्यक्षले बाममा भएको खाद्यान्न हुम्ला जान नदिएपछि हाल मुगुमा पुगेको पाँच सय क्वीन्टल खाद्यान्न पनि गमगढीमै रोकिएको प्रतिनिधि बुढाले बताए।
मुगुको गमगडीबाट समेत स्थानीय प्रशासनले कुनै रोकटोक नगरेको अबस्थामा वडा अध्यक्ष खाद्यान्न रोकेपछि फसादमा परेकोे र यस बारे चाँडै छिनोफानो गरी दिन सरोकारवाला पक्षलाई उनले आग्रह गरेका छन्।
उक्त खाद्यान्न सर्केगार्ड डिपोका लागि दुई सय क्वीन्टल र चंखेली गाउँपालिकाको देउली बिक्री केन्द्रका लागि चार सय क्वीन्टल खाद्यान्न रहेको छ। यस सम्बन्धमा वडा अध्यक्ष बढुवालको मोबाईल नम्बर ९८४८१९३५१६ मा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।