
हेटौँडा-प्रदेश नं ३ को चालु आर्थिक वर्षको पहिलो बजेट यही चैत २० गतेभित्र पेश गरिने भएको छ। विहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्नाका साथै सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई तोकेको छ।
बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयक, स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक र केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक पारित गरेको छ । ती विधेयक संसद् सचिवालयमा शुक्रबार दर्ता गरिने प्रवक्ता ढुंगेलले सञ्चारकर्मीलाई जानकारी दिए।
प्रदेश सरकारले तीन महिनाभित्र २३ कानून निर्माण गरिसक्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ। तीमध्ये प्रदेशसभा नियमावली पारित भइसकेको छ भने २२ कानून निर्माण हुन बाँकी छन्।