
सिमकोट – बन्दाबन्दी सुरु भएयता एक सय ९० जना हुम्लाका बासिन्दा नेपालगञ्जमा अलपत्र परेका छन्।
चैत्र १० गते काठमाडौँ लगायत देशका विभिन्न शहर र भारतबाट हुम्ला आउने तयारीमा रहेका उनीहरु हवाई सेवा बन्द हुँदा घर आउन नपाएपछि नेपालगञ्जमै अलपत्र परेका हुन् ।
सिमकोट गाउँपालिका वडा नम्बर ४ का गणेश बहादुर महतले हुम्ला जाने तयारी भएर पनि बन्दाबन्दीले जान नपाएर नेपालगञ्जमा एक सय नब्बे जना हुम्लाबासी अलपत्र परेको बताए ।
ती मध्य ६० जना राँझास्थित होटेलमा एक महिनादेखि बस्दै आएका छन् । होटेलमा बस्ने खाने समस्या भैरहेको उनले बताए । २० जना वृद्धवृद्धा रहेका छन् भने ६० जना विद्यार्थी रहेका छन् ।
होटेलमा बस्नका लागि खर्च सकिएपछि विद्यार्थीहरुको बिचल्ली भएको छ । उनीहरुले सुरक्षित रुपमा घर जाने व्यवस्था मिलाईदिन सरकारलाई आग्रह गरेका छन् ।
यात्राको व्यवस्था गर्न नसके नेपालगञ्जमै खान बस्नको व्यवस्था मिलाईदिन उनीहरुले आग्रह गरेका छन् । उद्धारका लागि पहल गरेपछि कतैबाट सुनुवाई हुन नसकेको गुनासो उनीहरुको छ ।
यता अलपत्र परेका १५ वर्ष भन्दा कम उमेरका बालबालिकाहको सम्बन्धित वडाले अभिलेख तयार गरेर ल्याउन वडा अध्यक्षहरुलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताइन् ।