
पोखरा- उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतलाई सम्बन्धित विषयको सुझाव पत्र हस्तान्तरण गरिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले पोखरामा फागुन २३ गते सम्पन्न ‘प्रदेश ४ मा खेल पर्यटनको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा उठेका सुझाब तथा निष्कर्षहरुलाई मन्त्री समक्ष बुझाइएको हो।
नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष के्शब पाठकको नेतृत्वमा गएको टोलिले मन्त्री बस्नेतलाई कार्यक्रममा उठेका २५ बुँदे सुझाब पत्र र कार्यक्रमको प्रतिबेदन बुझाएको हो। सुझाव प्रतिवेदन बुझ्दै मन्त्री बस्नेतले आफुले सुझाब मनन गरेर सोही अनुरुप नीति निर्माणमा जोड दिने प्रतिवद्धता व्यक्त गरे।
सुझावले नीति निर्माणमा समेत सघाउ पुर्याउने भन्दै उक्त कार्यको प्रशंसा समेत गरे। उनले भने, ‘अब छिट्टै मन्त्रालयले प्रदेशका गतिविधि र बिकासका कार्यहरुलाई तदारुकताका साथ कार्यान्वयनमा अघि बढाउँछ।’
उद्योग, वन, पर्यटन, आपूर्ति, विज्ञान तथा प्रविधि, वातावरण लगायतका सवालहरुमा विषयगत विज्ञहरुबाट सुझाव संकलन सुरु गरिएको पनि उनले जानकारी दिए।
उनले प्रदेश ४ लाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा अघि बढाएमा पर्यटनले फड्को मार्न सक्नेतर्फ इंगित गर्दै पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्य पहिचानमा पनि मन्त्रालयले कार्य थाल्ने बताए।
मन्त्री बस्नेतलाई कार्यक्रमको प्रतिवेदन सहित २५ बुँदे सुझाब तथा निष्कर्षमा खेलकुद र पर्यटनको सर्वाङ्गिण विकासमा कार्यक्रममा सहभागिले राखेको अपेक्षा र सुझावलाई मन्त्री समक्ष बुझाएको नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष के्शब पाठक बताए ।