जीवन दर्शन

आनन्दित जीवनको बाटो

आनन्दित जीवनको बाटो
+
-

कृष्णानन्दः मनभोग
आनन्दको अनन्त यात्रा कहिँ नसक्नुको छ। सुक्ष्मादी सुक्ष्म आनन्द अनुभूतिजन्य विषय भयो, पदार्थको सतही सूचनामार्गमा आनन्द कहिँकतै भेटिदैंन। यदि कोही आनन्दको नाममा साध्य बनाएर धन कमाउने धन्दामा लागेका छन् भने ती निर्धनीहरु एकदिन क्षमताले भ्याएसम्म धन कुम्ल्याएपछि पनि निर्धन नै रहनेछन्। आनन्दको अनन्तधारमा हामी पौडन सकिन्छ, अरु कोहीलाई पौडाउन सकिदैँन। पौडीबाज आफ्नो रागमा पौडिरहेका बखत वरपर बसेकाहरु दृष्य हेरेर लाभान्वित हुन सक्छन्। तर आनन्दमय पौडी नितान्त निजी कुरा हो। एकल अभ्यास हो। बुद्धआत्मा भन्छ, ‘ध्यानको बिजले हामी सत्य–जीवनतर्फ अंकुरित हुन्छौं।’ थाललाई पोखरी नाम दिएर हामी मनरुपी माछाका भूरालाई खेलाइरहेका छौँ र आत्मरतिमा रमाइरहेका छौं। पारदर्शी अक्वेरियममा जलचर राखेर दृष्यपान गरिरहेका छौं।

हामी चुक्यौं- विस्तारित पोखरीको सौन्दर्यदेखि, हामी निर्ममरुपमा चुक्यौं, नदीमा स्वतन्त्र परिभ्रमण गर्ने जलचरको वास्तविक क्रिडादेखि। मन मैनजसरी पग्लिरहेको छ, ईश्वर साक्षात्कार गर्ने मानवीय चोलाको सम्भावना थाल हेरेर खुम्चिरहेको छ। संसारको सार हरेकको बेग्लै हुन्छ। धारण गरेपछि निर्मित कृत्यले धर्म नाम पाएको छ, र वृत्तमा पूर्णचन्द्रमा बनाएको। धर्म केवल धर्म हुनसक्छ। वृत्त केवल वृत्त हुनसक्छ। त्यसलाई कसलाई पाइन पार्न शुद्ध धर्म वा विशिष्ट धर्म भनी अशीष्टता देखाउने भिरुले देखाएको भिरको बाटोमा हिँडिरहेका पथिकहरुमाथिको शोषण कहालीलाग्दो छ। वृत्त आफैँमा पूर्णकार शब्द हो। त्यसलाई अझ पूर्णवृत्ताकार भनेर शाब्दिक जंगलमा भड्काएर ईश्वरको घर फर्काउन अवरोध खडा गर्ने मन्दबुद्धिका पोषकहरु समवेदना चुसिरहेका छन्। असली घरको आस हरेक गाँसमा बोकेर श्वास ढुकढुकिरहेको छ। जीवन बाँसुरीमा बज्ने धेरै धुनहरुले परिणामतः एकैखाले आनन्द दिन्छन्। कृष्ण कल्की मिलाउँदै गहिरो हेराइ साथमा बोकेर चारैतिर चहारिरहेका छन्।

आदिगुरु सद्गुरुको पाश्र्वछायाँमा नृत्यरत स्वामीको स्वधारा अनन्ततर्फको अश्रुधारा हो। आफैँसित बात मार्छन्, केहीबेर हाँस्छन्, केही बेर रुन्छन्। तर छाडेका छैनन् आफैसँग मिल्ने, घुल्ने प्रक्रियादेखि। गरेका कृत्यहरुप्रतिको सजगता, फुत्केका वाणीहरुमाथिको शोभनीय होस पर्याप्त छ अरुको हवास उडाउन। आनन्दमयी बादल गर्नेर पर्दैन, गर्जिरहन्छ, बर्षिरहन्छ, बनिरहन्छ, मेटिइरहन्छ। श्वेतचउर ओढेका बोधीबृक्ष भन्छ, हेर म जे गरिरहेकोछु, त्यो मेरो निजत्व हो, तिमी आफ्नो निजत्व खोज, चिन र अँगाल। मेरो नक्कल नगर बाउ। मन्द मन्द फुत्केको काव्यरस बताउँछ, आफैसँगको मिलन नै योग हो। म उदाहरण बनेर आफैँलाइे हरे, हार्दै आएँ, हराउँदै आए अब तिम्रो पालो। आऊ हारका लागि तयार होऊ।

नव–वनका वैज्ञानिक सबैले विचारलाई नराम्रो संज्ञा दिएका छन्। सतही गुरुले पनि विचारलाई नराम्रो उपमा दिएका छन्। विचार शून्यतापछिको बोध हात नपारेपछि अरु के नै दिन सकिन्छ? आऊ तिमी उफ्रिरहने बाँदररुपी चञ्चल विचारको सुक्ष्म बनोटमाथि मूल्यांकन गर। नियाल नजिक बसेर। सुँघ विचारको रागमय भेषमा र फैलन नदेऊ मृगमरिचिकाको रुग्णबादल देशमा। पछ्याऊ सेतो बादललाई, उडाई विवेकी सेता परेवालाई र पठाऊ आनन्दको सन्देश स्वर्गमा बसेर अहइरहेका परमईश्वरलाई। सम्यक विचारले जीवनमा क्रान्ति ल्याउँछ। भावदशाले थलिएर पत्ता लागेको स्थलगत् ज्ञान। यसलाई अन्यथा नलेऊ र राम्रो नराम्रोको कित्ताबाट उन्मुक्ति पाऊ।

परमगुरुको अन्तिम शवयात्रामा सलाई कोरेर उत्सवको धुवाँ नृत्यरत भक्तजन् भन्तेको स्वरुपमा रातभर मनको चिसो ढुंगामा बसेर साधना गरिरहे। बाँसको झांगबाट कलिल हराएजस्तो। चराले गुँड सारेजस्तो। बाँसको फूल हेरेर भक्त कहिल्यै नास नहुने बासको खोजमा थलो छोड्छन्। भक्त अरुको दृष्टिमा एक चौकीदार थिए, अंगरक्षक थिए तर आफ्नै दृष्टिमा स्वयंको रखवाली गरिरहेका थिए। कोतवाली उनको पुर्ख्यौली पालगुें पेशा थियो। गुरुले उनको गन्धमा सुगन्ध थप्न आफैलाई नियाल्ने अचूक भूमिका दिए। शिष्य प्रकाशबाट टाढा होला भनी आगो सल्काउन प्रमिथससँग झिल्को उधारो लिएर गतिलो कससहित द्वारपालको भेषमा उभ्याएका थिए। अबेर रातसम्मको घमासान अनन्त द्वन्द्वमा उम्लिरहेका बेला साधक खोलाको किनारै–किनार खरानीको ओस अञ्जुलीमा लिएर संसारमा प्रवेश गरे। शायद अन्तसमा गुरुको संकेत त्यही थियो। शरिरी उद्गार भन्थ्यो, ‘तिमी मेरो शरीर शेषपछि पनि विचलित कहिल्यै नहुनु, म अझ विस्तृत सँग्लो भएर तिमीसँगै रहनेछु, तिमी जहाँ हुनेछौ म त्यही आउनेछौं।

प्रयोजनविहीन् भई अल्लारिरहेका बेला फुटेको भाकाको सौन्दर्य, उपायहीन भई हाडेगाठो खोल्ने चेष्टा थाकेर थाग्नामा बिसाएका बेला अनायास गाँठो फुकेको छ। ऊर्जाको उर्ध्वगमनमा फक्रिएको कुण्डलिनीमा डब्का लगाएको स्थूल शरीरलाई सम्यक विचारको कमण्डलुले विगत आगत नासेर वर्तमानमा पस्किरहेको छ। 

तिमी बोलाउनु म सुन्नेछु, तिमी ध्यानको धुवाँ उडाउनु म हेर्नेछु र तिमीभित्र एकाकार भई समाहित हुनेछु। तिमी कहिल्यै विचलित नहुनू। उखुको लोभमा चिनीको चास्नी खान नभूल्नु, सख्खर, खुँदो मिश्रीको अंशमा त्यही गुलियो लुकेर बसेको हुन्छ। तिमी नूतन उखुको डाँठ समाएर नबस्नुू। पूजा सामग्रीका थाबो बनेर उभिएको उखु, केराको बोट, भरिपूर्ण जलघडा, शोभा दिएका फुल, उडीरहेको अगरबत्तीको अत्तरमय आलोक सबै अंशमा म बिभक्त भएको हुन्छु।’ तिमी मान यो अनन्त आकाशको कुनै किनारा छैन। सुरुवात छैन, अन्त्य छैन। मान हामी इन्द्रेणीको पुछार समाई बसेका चौकीदार हौं, आऊ गुरुशिष्यको उपमा भत्काऊ र इन्द्रेणीको रंगमा बिलाइजाऔं।

स्व–साधनाको बतासले मनको धुलो उडाइरहेको छ। ध्यानले मनको मैलो लुडाइरहेको छ। संसारी खोला किनारमा बसेर सफा कायाको परावर्तन हेर, पारदर्शी जलमा फलेको स्फटिकरुपी तिम्रो आभा अभावमा रहेकाहरुका लागि उपदान बन। सबैको सहयोगमा जुट। कारणरहित प्रेमको प्रसाद सबैलाई बाँड। फलरहित कर्मको झरीमा रुझ्दै विवेकरुपी स्याकूँ ओढेर फराकिलो यात्रा तय गर र दिनदुःखीका घरघरसम्म पुग।

सम्झ तिमी शितकालीन याममा एकाबिहानै कर्कलाको पात हल्लाएर झारेका शितका थोपा। तिम्रो निर्मल हृदयमा रोपेको थिए, जसरी किसान असार साउनमा धानको बिउ छुपछुपे खेतमा रोप्छ। आउने फसल काट्ने मौसममा फेरि भेट निश्चिततः हुने नै छ। फुत्केका वाणी तरुलको बिउ जस्तै हो। एकचोटि रोपेपछि तिमी जहिले चाहन्छौँ, तहिले भोक मेटाउनसक्छौं। तिमीले बिर्सेपनि तरुल लतिका मसिना भूराफल मार्फत तिमीलाई सम्झाइरहनेछ र आफ्नो अस्तित्व जनाइरहनेछ। आफैँलाई झकझकाऊ, हल्लाऊ र हात लाऊ गर्भगृहमा– शून्यता अमृतप्राप्तिको दिशातर्फ जाने द्वार हो। हामी कोलाहल रमझममा सन्तुष्टि खोजेर झ्यालबाट छिर्ने चोरको नियति जसरी हाम फालिरहेका छौं। तर यी कर्मलिलाको मर्म बुझ र आफ्नो जीवनपद्धति आफैँ बुन। तिम्रो कुरुस तिमी आफैँ हौ, तिम्रो डिजाइन र साजसज्जा तिम्रो आफ्नो हो। शरीरको आकार पो मिल्नजाला आम शरीरसँग तर तिम्रो आन्तरिक आलोकको न आकार मिल्छ, न रंग मिल्छ न ढंग मिल्छ। तिमी एक्लो सत्य हौं, तिम्रो सत्य तिमीलाई ठिक अरुलाई बेठिक। अरुको सत्य अरुलाई ठिक तिमीलाई बेठिक। मान हरेकको बिशिष्टता एक अर्कासँग मेल खाँदैन। तिमी बुनिराख आफ्नो आत्माको पहिरन, स्वभावलाई जोडेर व्यवहारलाई पगालेर तर नखोज बाहीरी जगत्‌मा, अरु आम चोलामा आफ्नो नियति नपोख।

चौडा जगतमा उठेका ज्वारभाटा शान्त गर्न अनेकरुपी मनरंगले लोभ्याउन थाले र उत्तरको खोजमा भौँतारिन थाले। जबदेखि उत्तरहरुको खोज त्यागे तबदेखि प्रश्नहरु फेरि ढोका ढकढकाउन आएका छैनन्। अचम्मको शान्तिवन रोपिएको छ। हृदयमा सुगन्ध पलाएको छ। विजयी हुने आकांक्षामा लुकेको पराजयी अवस्थालाई समयमै सुँघ्न सकिएन।

कृष्ण–आनन्दः मनोवाद
कृष्ण आनन्दको छटा छगंछंग गर्छ। लामो ओभरकोट लाएको, मोटो सिगार हातमा समाएको, कान ढाक्ने टोपी लाएको, मफलरले गलगाड छापेको तर रुद्रघण्टीबाट निस्कने अपूर्व भिन्दै खाले आवाजको मालिक गाढारातो रंगको पुष्पक विमानमा संसार खियाइरहेको छ। एक्लोपनको संगीतमा आनन्दको झल्को पाउने, आफैँले आफैँलाई रिझाउने अचुक अस्त्रबारेको रहस्य हात लागेको छ। अरुको परवाह गर्न छाडेदेखि आफ्नो स्मरण आउन थालेको अचम्म कथा फुरिरहेको छ। द्वैतवादको तेलमा अद्धैत रंग निकालिरहेको भक्तका गुण गुणातित् अवस्थामा पुगेका छन्। तिमीलाई जाडो भयो होला भन्दै ओढ्ने सिरक दिएर कोदे हल्लाइरहेको अवस्थामा एक्लै कुरकुराउँछ, मलाई तातो बनाउने मेरो सत्य छ, मान मेरो हातमा रहेको सिगरेट त्यसको प्रतिनिधि अवतार हो।

लैजाऊ यो आँप, चुसेर खाऊ र आँतलाई सफा बनाऊ। म तिमीले खाएको दृष्य हेरेर हराउनेछु तर तिमी चाल पाउने छैनौं। अस्तित्वको संगीत जानेका सबैजन पागलझैँ लाग्छन्, उनीहरुको कृत्य र भाषा पनि आमजनले बनाएको पागलको परिभाषामाभित्र अटाउँछन्। रुखमा माछा सुरेली खेलिरहेको देख्ने, नदीमा आगो बलिरहेको देख्ने, आँखाले सुन्नसक्ने, कानमार्फत रुन सक्ने आदि विशिष्ट लिलाहरुको नायक भक्त कृष्णआनन्दको खोल ओढेर सूर्यदेवको चरणमा घुरिरहेको छ।

मनोवादमा फसिरहेका बेला कोही गुनगुनाउँछ, ‘जीवनको तृष्णा यसरी बाक्लिएर गाँजिएको छ, लाग्छ सुन्धाराको सम्मुखमा बसेर पनि बर्षौँदेखि प्यासी नै छु। माथिसम्म आउने गमबुट दोचा लाएर पनि हिलोपानी टेकिने भयले वशिभूत छु। जीवनरहित अण्डा खाएर शाकाहारीको भेषमा पौष्टिक तत्वको प्रवक्ता भइरहेको छु। खाऊ यी अण्डा। प्राणविहीन अण्डा। सम्झ यी आलु हुन्। उमाल वा तार तर अवश्य खाऊ। तिमीलाई यकिनका साथ भन्छु स्तनपान पछिको सर्वाधिक पौष्टिकतत्व तिमीले अण्डापानबाटै पाउनेछौं । खेलाची नगर, आऊ, अण्डा खाऊ। म अण्डाको सेवक, मलाई काम लाउने, अह्राउने अदृष्य डण्डा के तिमीले देख्यौ कि?’

गाउन नपाएका गीतको मोह लागेर आएको छ। लेख्न नपाएका शब्दको छायाँले वशिभूत पारेको छ। बनाउन नपाएको सोपानमय मूर्तिचित्रको मुहार यद्यपि झक्झकाएर जान्छ। गहिरो शून्यतामा बजिरहेको रहस्यमयी संगीत सुन्ने बानी बसालेदेखि आकाशमा उडेका पक्षीहरुको बाटो देख्न थालेजस्तो भएको छ। पानीमा लहरिरहेका जलचरको बाटो पहिल्याएको जस्तो लाग्न थालेको छ। हरेक दिन फल्ने, फुल्ने र मर्ने फूल एउटै बोटको भएर पनि उही होइन भन्ने दृष्य आँखा छोपेर हेर्न जानेदेखि अजम्बरी गन्धकुटीमा साँधुमनले दाल झानेसरी सुवास चारैतिर फैलाएको छ।

प्रयोजनविहीन् भई अल्लारिरहेका बेला फुटेको भाकाको सौन्दर्य, उपायहीन भई हाडेगाठो खोल्ने चेष्टा थाकेर थाग्नामा बिसाएका बेला अनायास गाँठो फुकेको छ। ऊर्जाको उर्ध्वगमनमा फक्रिएको कुण्डलिनीमा डब्का लगाएको स्थूल शरीरलाई सम्यक विचारको कमण्डलुले विगत आगत नासेर वर्तमानमा पस्किरहेको छ।

शुन्यताः जीवनको अन्तिम गीत
रहस्यमयी जीवनको शिक्षा मौन प्रवचनमा पाइएको छ। शून्यको स्वर सुनेदेखि कान धनधान्य भएका छन्। शब्दहीन् संवादको प्रथम अनुभव एकान्तमा घटेको छ।

शब्दचित्र लिलाको मूर्च्छनामा विचारको सम्मोहन शास्त्र। ध्यानको यात्रामा आउने विचारको बोझ त्यागेर आनन्द भोलिको बिहान ब्युँझ्याउने चरलाई प्राण दिन रातभरि जाग्राम बसेका छन्। साक्षात नारायण भगवानले स्नानले गरेको नदीमा अर्धनग्न भई रस चुसिरहेका छन्। कारखानादेखि हातसम्म आइपुग्न सयौँ किलोमिटरको जोखिा यात्रा गरेर रस संरक्षण गरेको बिर्को निमेषमा काम नलाग्ने हुन्छ, उनका औँलाले आग्लो खोल्छन् र समुन्द्रतर्फ सोझिएको नदीमा फाल्दै भन्छन्, तँ भाग्यमानी रहेछस्, तेरो यात्रा पूर्ण होस्।

जीवनको समग्र स्वीकृति नै समर्पित हृदयको अन्तर्साधना हो। समर्पणदशामा केही गर्नु पर्दैन सबै आफैँ हुन्छ। शून्यतालाई सुन्न सक्यौं भने वस त्यही हो तिम्रो जीवनको गीत। एकान्तिकताको संसारी शब्द र संगीतले तिमीलाई भित्रीस्वरुपमा रहेको शून्यसंगीतर्फ चियाउन सहयोगी हुनेछन् तर तिमी सचेत भई धैर्य गर्न सक्नुपर्छ।

धेरैजसोको समान मनोदशा देखिन्छ। तिमी र तिम्रा संगतीहरुको, जो जंगलमा दरबार बनाइबसेका छ न्, जो शहरमा कुटी बनाई हौसेका छन्। दुवैको श्रम व्यर्थ गयो। बन्दताल्चा चाबीले खोल्न सकिएन भने तिमी किमेकरकहाँ धाउनुपर्छ, के थाहा कालान्तरमा त्यो किमेकर नै चोर हो त्यसको विगत चोरी थियो वा रातमा गैरकानूतीरुपमा ताला फोर्छ दिनमा कानूनीरुपमा फोर्छ वा प्रारुप बनाउँछ। अज्ञानताको पिडाले चिथोरिरहेको छ र अज्ञाततर्फको बाटो अलमलिएको छ। चित्तको दर्पणमा जन्म जन्मको धुलो टाँसिएको छ। त्यसलाई बोधिचित्तले समर्पण भावदशामा प्रकाशमय बनाउनुपर्नेछ। अँध्यारो गुफामा बलिरहेको टिलपिल बत्तीलाई बाहिर सूर्यको प्रकाशसँग लयबद्धता जनाउनु पर्नेछ।

तारमा बिजुली दौडिनुपहिले हृदयको पालामा झप्की मारिरहेको दियोले प्रकाशमा बनिरहने प्रतिती दिएर जान्थ्यो। जसरी हरेक साँझ थाम्न नसकिने सूर्य आफ्नो लोकमा निवेष भएपछि आउने अध्यारो कालखण्ड अखण्डसत्य बनेर सर्लक्क छोपिरहेका बेला दियो भूईमा भरभराइरहेको हुन्थ्यो। के बुद्धिबतासले रोक्न सक्थ्यो दियोको प्रकाशलाई? गौतम बुद्ध कानमै आएर साउती मार्नुहुन्छ, ‘अप्प दिपो भवः’। माटोको पालामा तेलको आडले पालिएको उधारो दियोलाई मनभित्रको मलिलो माटोमा जोत्नुहुन्छ। प्रेमको बिउ छर्नुहुन्छ र फल खाने मौसम आएपछि उहाँ अलप भइदिनुहुन्छ। ब्रह्मसत्य घन्किन्छ;

अबको यात्रा तिम्रो। नितान्त तिम्रो। आफ्नो स्वरुपमा अब एक्लै फर्क।

nepalcentrekathmandu@gmail.com

(नाउलेहिल, नागार्जुन । १९ अप्रिल, २०२०)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?