
हुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोना भाइरस फैलावट रोक्न परीक्षणलाई तीव्र पार्न निर्देशा दिएका छन् ।
शनिबार बसेको विपद व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री शाहीले प्रदेशमा भित्रिएका नागरिकहरुलाई केन्द्रीत गरि कोरोना परीक्षणलाई तीव्रता दिन निर्देशन दिएका हुन्।
उनले लकडाउनले समस्यामा परेका कारण उद्धार गरि जिल्लामा पुगेका मजदुर तथा विद्यार्थीहरुवाट सम्भावित संक्रमणको जोखिम कम गर्न कोरोना परीक्षणलाई तीव्रता दिन जरुरी रहेको बताए ।
कोरोना परीक्षणका लागि आवश्यक टेस्ट कीट लगायतका सामग्रिको तत्काल आपूर्ति व्यवस्था मिलाउन मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिए ।
उनले संघीय सरकारबाट प्राप्त हुन सक्ने अवस्था भएमा तत्काल माग गर्न र आपूर्ति हुन नसक्ने अवस्थामा खरिद गरेर भएपनि परीक्षणका लागि आवश्यक सामग्रीको व्यवस्थापन गर्नुपर्ने बताए ।
कोरोना परीक्षण तथा नियन्त्रण कार्यका लागि सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वंसेवकहरुको एकिकृत प्रतिकार्य समूह निर्माण गरि परिचालन गर्नु पर्नेमा उनले जोड दिएका छन् ।