
काठमाडौं-विराटनगरस्थित कोरोना स्वास्थ्य उपचार केन्द्रमा कार्यरत चिकित्सक तथा कर्मचारीको सुरक्षाका लागि डेलिभेरी ब्वाइ खटिने भएको छ।
कोभिड १९ भाइरस मानिसबाट सर्ने भएको हुँदा उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमा जोखिम उच्च रहन्छ। त्यसैलाई मध्यनजर गर्दै विराटनगरका पाँच युवाले विराटनगर महानगरपालिकाको समन्वयमा डेलिभरी ब्वाइ तयार गरेका हुन्।
तयार डेलिभरी ब्वाइलाई आइतबार महानगरमा परिक्षण गरि कोभिड १९ स्वास्थ्य उपचार केन्द्रलाई हस्तान्तरण गरिएको छ।‘डेलिभरि ब्वाइ’ रोबोट हो र यसले कोभिड १९ उपचार केन्द्रमा संक्रमितसम्म खाना पुर्याउने र सेनेटाइजर औषधि छर्ने कार्य गर्दछ,’ रोबोट निर्माता २५ वर्षीय रिषभ आचार्य बताँउछन्।
विराटनगरको बुढानिलकण्ठ माध्यमिक विद्यालय एसएलसी पुरा गर्दै हाल महेन्द्र मोरंग कलेजमा केमेष्ट्रीतर्फ स्नातक तह पुरा गरेका आचार्यले करिब ५ दिनको समयमा अन्य चारजना साथीहरुसँग मिलेर रोबोट तयार गरेको बताए। यस रोबोटका लागि उनीसंगै टोलीमा स्थानीय सुमन निरौला, विवेक मुखर्जी, अनुभव र प्रकाश सुवेदी रहेकाछन्।
रोबोटमा १२ भोल्टको ब्याट्री जडान गरिएको बताएका अर्का निर्माता सुमनले भने, ‘यसलाई पुरा चार्ज गर्दा कम्तीमा २५ मिनेटको समय निरन्तर चलाउन सकिन्छ।’ मोबाईल एपबाट समेत रोबोट सञ्चालन गर्न सकिने बताएका सुमनले भने, ‘यसमा व्हील चियरको पांग्रा, वाईफाईजडित क्यामरा, मोटर वाइपर जडान गरिएको छ। साथै करिब ५० मिटरको दुरीबाट यसैमार्फत फोटो समेत खिच्न सकिनेछ।’
डेलिभरि ब्वाइलाई ८ सय मिटरको दुरीसम्मबाट रिमोटबाट नियन्त्रण गर्न सकिने बताएका आचार्यले हौसिदै भने, ‘यसलाई कोभिड १९ अस्पतालले प्रयोग गर्ने तय भएको छ। साथै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत एकथान निर्माणका लागि कुरा आएको छ।’
रोबोट बनाउनका लागि चुनौति भन्दापनि विदेशमा जादाँ सिकेको अनुभव काम लागेको आचार्यले बताउछन्। विद्यालयस्तरीय अध्ययनका क्रममा आचार्य सातवर्षअघि जापानमा आयोजित रोबोट प्रदर्शनी एशियन साइन्स क्याम्प पुगेका थिए। सोही अनुभवले यसक्रममा धेरै सहयोग पुराएको उनले बताए। यसैगरि पछिल्लो चारवर्षदेखि उनी चीनमा पनि विज्ञान प्रदर्शनी अवलोकन गर्न निरन्तर पुग्ने गर्छन्।
अर्कोतर्फ, कोशी अस्पतालकी निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.संगीता मिश्राले ‘डेलिभरी ब्बाइ’ले सही रुपमा काम गर्न सके स्वास्थ्यकर्मीलाई केही राहत पुग्ने विश्वास लिइन्।
रोबोटले उपचारका लागि भर्ना गरिएका संक्रमितसम्म खाना पुराउने कार्य गर्ने बताएकी डा. मिश्राले एकपटक प्रयोग गरेपछि धेरैकुरा भन्न सकिनेछ। ‘तरपनि खाना रोबोटबाट पुराउन सकिए, स्वास्थ्यकर्मी र संक्रमितको प्रत्यक्ष भेटको संभावना कम हुन्छ र यसले अवश्यनै सहजता हुनेछ,’ डा. मिश्राले भनिन्।
डेलिभरी ब्वाइको निर्माणमा करिब ५० हजार रुपैया खर्च आएको बताउने टोलीले आइतबार नै अस्पताललाई रोबोट हस्तान्तरण गरेको हो।
विराटनगरमै कारखाना नामक कम्पनी चलाउदै आएका आचार्यको टोलीले अहिलेको परिस्थितीमा देखापरेका प्राविधीक तथा बैज्ञानिक आविष्कारको विषयमा विभिन्न विद्यालयमा जानकारी गराउने गर्दछन्।
विराटनगर १० स्थित केन्द्रमा प्रदेश एकका विभिन्न स्थानबाट कोरोनाभाइरस कोभिड १९ का ३० जना संक्रमितहरुलाई उपचारका लागि भर्ना गरिएको छ। जसमा उदयपुरबाट २८, भोजपुर र झापाबाट समान एक जना रहेकाछन्। संक्रमित मध्ये तीन जना महिला रहेका छन्।