
लन्डन – विश्व फुटबलमा सर्बकालिन महान् खेलाडीबारे बहस चल्दै आएको छ वर्षाैँदेखि। यस विषयमा एकमत देखिँदैन। खासगरि चार खेलाडीको नाम बहसमा सुनिने गर्छ।
अर्जेन्टिनाका डीएगो म्याराडोना र लियोनल मेस्सी, ब्राजिलका पेल र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोबारे बढी चर्चा हुने गर्छ। यी चारै जनाको पक्षमा ठूलो जमात देखिन्छ। मेस्सी र रोनाल्डो वर्तमान फुटबलमा दुई प्रतिस्पर्धी नाम हुन्। यी दुवै जना सर्वोत्कृष्ट भएको र तुलना गर्न नमिल्ने पनि चर्चा सुन्ने गरिन्छ।
पेलेले ब्राजिलका लागि तीनपटक र म्याराडोनाले अर्जेन्टिनाका लागि एकपटक विश्वकप जिते। पेलेले अन्तिमपटक विश्वकप जितेको १६ वर्षपछि म्याराडोनाले यो सफलता हात पारेका थिए। मेस्सी र रोनाल्डोले यो सफलता हात पार्न सकेका छैनन्। तर विश्वकपबाहेक उनीहरु दुवैले सबै जितेका छन्।
हालसालै इटालीका विश्वकप विजेता कप्तान फाबियो कानभारोले सर्बकालिन महान् खेलाडीबारे आफ्नो मत सार्वजनिक गरेका छन्। कानभारोका अनुसार म्याराडोना सर्वकालिन महान् खेलाडी हुन्। कानभारो यस्ता खेलाडी हुन् जसले मेस्सी र म्याराडोना तीनै जनाविरुद्ध खेलेका थिए। कानभारो पोजिसनका हिसाबले डीफेन्डर हुन् भने बहसमा नाम सुनिने गरेका सबै खेलाडी स्ट्राइकर।
कानभारो म्याराडोनालाई ‘अर्कै विश्व’ मान्छन्।
‘म मेस्सीलाई सम्मान गर्छु। उनी नयाँ पुस्ताका लागि सर्वोत्कृष्ट मध्ये एक हुन्। तर म्याराडोना फरक छन् किनभने त्यतिबेलाको फुटबल नै फरक थियो। मैले पेलेको खेल हेर्न पाइन तर सात वर्षको उमेरदेखि म्याराडोनाको खेल हेरेको छु। उनी सर्वोत्कृष्टमध्ये एक होइनन्, सर्वोत्कृष्ट नै हुन्’, कानभारो भन्छन्। म्याराडोनाले विश्वकप जित्दा कानभारो १३ वर्षका थिए। म्याराडोनाले त्यसअघि नै इटालीमा दुईपटक सिरिए उपाधि जितेका थिए, नापोलीका लागि।
कानभारोले रियल म्याड्रिडका लागि खेल्दा मेस्सीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए। सन् २००६ मा इटालीलाई विश्वकप मात्र जिताएका थिएनन्, त्यस वर्षको बेलोन डीअर र फिफा वर्ष खेलाडी अवार्ड पनि जितेका थिए कानभारोले।