
सिमकोट-पाँच हजार मिटर अग्लो न्यालु लेकको चार फिट अग्लो हिउ छिचोल्दै वडा अध्यक्ष समस्या लिएर सदरमुकाम सिमकोटमा डेलिगेशन आई पुगेका छन्।
गाउँमा धेरै कुराका समस्या एक साथ देखिएपछि उनीले बाटोको हिउ पन्छाउन अन्य तीन जना सहयोगी लिएर ज्यानको बाजी थाप्दै सिमकोट आई पुगेका हुन।
नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीका गाउँ लिमीका अध्यक्ष पाल्जोर तामाङले गाउँमा एक साथ धेरै समस्या देखिएपछि सदरमुकाम सिमकोट आई पुगेको बताए। अहिलेको चिसो मौसममा ज्यानको बाजी थापेर अध्यक्ष तामाङको टोली आइपुगेको हो। यो सिजन न्यालु लेकबाट कोही पनि हिडेर आउने समय होइन। तर उनी आपतका बेला गाउँको समस्या समधान होला भन्दै ज्यानको जोखिम उठाएर आई पुगेका हुन।
पहिलो कुरा खाद्यान्न गाउँमा सकिने अवस्थामा रहेको बताउदै अध्यक्ष तामाङले तत्काल सरकारले खाद्यान्न ब्यबस्था नगरे लिमीका तीन गाउँमा भोकमारी फैलने बताए। तीनतिर चीनसंग सिमाना जोडिएको लिमीमा कोरोना कहरपछि चीनको ताक्लाकोटबाट खाद्यान्न आउने अबस्था छैन । यतिबेला चीनसंगका नाका बन्द रहेका छन्।
उत्पादन निक्कै कम हुने लिमीमा गत कार्तिकमा चीनको ताक्लाकोटबाट ल्याएको खाद्यान्नले गुजारा चलेपनि अब सरकारले खाद्यान्नको व्यवस्था नगरे ठूलो समस्या आउने उनको निष्कर्ष छ । लिमीका तीन गाउँमा १४७ घरधुरीको एक हजार जनसंख्या रहेको छ । लिमीबासीले कोरोना संक्रमणको कारण देशमा बन्दाबन्दीको भएको खबर पाँच दिनपछि काठमाडौंका आफन्तबाट थाहा पाएका थिए। अर्को स्वास्थ्यकर्मी र औषधी पनि छैन लिमीमा।
मानिस बिरामी पर्दा लामा बसाल्नुको बिकल्प छैन् । अहिले झन कोरोना कहरको त्रास थपिएको बेला लिमीमा कोरोना भाईरस संक्रमण बिरुद्ध प्रयोग हुने औषधी, उपकरण र सामाग्री पनि पुगेको छैन। यो व्यवस्था गरेर गाउँ फर्कनु पर्ने छ उनलाई। अर्को उनले अब लिमी जाने नाका खुल्ने बेला भएकोले सुरक्षाकर्मीको पनि आवश्यकता रहेको बताए।
लिमीको सुनखानीमा रहेको प्रहरी चौकी चिसो बढेको बन्दै गत कार्तिकमा सिमकोट झरेको थियो। हालसम्म फिर्ता भएको छैन। त्यसैगरि लिमीमा नेपाल टेलिकमको भिस्याट टेलिफोन पनि बिग्रेको छ।
उक्त टेलिफोन चलेको भए अध्यक्ष तामाङ फोनबाटै सम्बन्धित निकायसँग कुरा गर्ने पक्षमा थिए। तर फोन नचलेपछि सिमकोटसम्म जोखिम उठाउदै आउनु परेको उनको गुनासो छ।
वर्ल्ड लिंक कम्युनिकेशन प्रालिले जोडेको इन्टरनेट पनि बिग्रेको छ। त्यसैगरी नुनको पनि समस्या छ । सरकारको ढुवानी अनुदानको नुन कहिल्यै लिमीमा पुग्दैन। अहिले चीनसँग नाका बन्द भएपछि नुनको पनि अभाब देखिन थालेको हो।
त्यसैगरी ठूलो संख्यामा लिमीका नागरिक काठमाडौंमा रहदै आएका छन्। उनीको उद्धारका लागि पहल गर्नु पनि अध्यक्ष तामाङलाई बाध्यता रहेको छ । यी समस्याहरु अध्यक्ष तामाङले एक चरणमा प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईसँग पनि राखि सकेका छन्। अर्को, प्रदेश र संघीय संसदमा प्रतिनिधित्व गर्ने सासदहरुलाई पनि यी समस्याको समधानका लागि पहल गर्न आग्रह गर्ने पक्षमा उनी छन्।