दाङ– राप्ती गाउँपालिका वडा नं. ५ लठ्ठहवास्थित दोलही खोला तटबन्धको काम सुरु भए पनि स्थानीयको विरोधको कारण रोकिने अवस्थामा पुगेको छ। खोलाले धार परिवर्तन गरेपछि खोलाको भाग खोलेर चौडा पार्नुपर्ने र त्यहाँ तटबन्ध गर्दा व्यक्तिगत पुर्जावाला जग्गामा क्षति पुग्ने भन्दै स्थानीय केही व्यक्तिले विरोध गरेका छन्।
‘साविक खोला बगेको ठाउँबाट खोला लैजानुपर्छ, अहिले तटबन्ध गर्न थालिएको खोलाको क्षेत्र भनिए पनि त्यो व्यक्तिगत जमिन हो, मेरोमात्रै पाँच कठ्ठाभन्दा बढी जग्गा नासिँदै छ’, स्थानीय मानबहादुर चौधरीले भने, ‘२४ वटा कित्ताको २ बिगाह जमिन मासिँदै दैछ, यति धेरै जग्गा नासिँदा किसानको उठिबास लाग्छ।’
वडाध्यक्ष गोवर्धन रावतको रोहवरमा गाउँलेहरुको बीचमा भएको सहमतिका आधारमा ठेकेदारले तटबन्धको काम अघि बढाएको हो। २२ सय मिटर लामो तटबन्ध खोलाको दुवै किनारमा गर्ने योजना छ। अहिले ६ सय मिटर लामो ड्याम निर्माणका लागि डोजरले खोला खोल्ने काम गरेको छ। तर, स्थानीयको विरोध भएपछि काम बीचमै रोकिएको छ।
गाउँले भेलाले व्यक्तिको जग्गामा खोला बग्ने भएमा खोलाले छोडेको ऐलानी जग्गा सोही जग्गाधनीलाई गराउने, पुनः नापी आएमा सोही व्यक्तिको नाममा नापी गराई लालपुर्जा बनाउन सहयोग गर्ने सर्वसहमतिबाट निर्णय गरिएको थियो। ‘विगतमा खोलाको भाग १६ मिटरमात्रै रहेको नक्सा थियो, त्यही आधारमा तटबन्ध गर्दा क्षति कम हुन्थ्यो तर खोलाको भागलाई साँघुरो बनाउँदा वर्षामा पानी अट्न सक्दैन,’ गाउँका अगुवा नारायण चौधरीले भने, ‘कम क्षतिमा तटबन्ध गर्ने विषयमा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, ठेकेदार र असन्तुष्ट गाउँलेबीच छलफल गरिरहेको छु।’
जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीले दोलही खोला तटबन्ध गर्न पाँच वटा सेक्टरमा काम अघि बढाएको छ। चार करोड रुपैयाँभन्दा बढी बजेट खोलही खोलामा व्यवस्थित तटबन्धको काम सुरु भएको कार्यालयका इन्जिनियर रामचरित्र चौधरीले बताए। ‘पाँचवटा प्याकेजको काम दोलहीमा छ, खोलाको दुवैतर्फ ड्याम उठाएर खोलालाई तटबन्ध गरी व्यवस्थित गर्ने योजना हो,’ उनले भने, ‘हरेक वर्षको वर्षामा दोलहीले वितण्डा मच्चाउँदै आएको छ, यस खोलालाई तटबन्ध गरी व्यवस्थित गर्ने योजना प्राथमिकतामा छ, स्थानीयको सकारात्मक सहयोग भयो भने बाढीमा हुने जोखिम घटाउन सक्छौं।’
विवादित ठाउँमा तटबन्धको योजना अघि बढाउन समस्या पर्ने भएकाले विवाद नभएको ठाउँबाट काम सुरु गर्ने तयारी निर्माणव्यवसायीले गरेका छन्। ‘जहाँ विवाद हुन्छ, त्यस ठाउँमा काम गर्न समस्या पर्छ’, निर्माण व्यवसायी पुरण चौधरीले भने, ‘सबैसँग सहमति गरेर विवादित ठाउँ छाडेर अन्यत्र जाने तयारीमा छौं।’
यो पनि हेर्नुहोस्:

भर्खरै
लोकप्रिय






































































































































































































