अमेरिका, युरोप तथा बेलायतका राजनीतिज्ञले सामाजिक सञ्चाल फेसबुकले आफ्ना लाखौँ प्रयोकर्ताको जानकारी गलत कामका लागि प्रयोग हुन दिएको भन्दै शंका जताएका छन् ।
अमेरिकी सिनेटरले फेसबुकका प्रमुख मार्क जुकरबर्गमाथि यस विषयामा रहेर अनुसन्धान हुनु पर्ने बताएका छन् । त्यसपछि मात्रै कांग्रेसले आफ्ना प्रयोगकर्ताको जानकारी र उनीहरुलाई सुरक्षित राख्नका लागि फेसबुकले के गरिरहेको छ भन्ने अध्ययन हुनु पर्ने सिनेटरको माग छ ।
यसैगरी युरोपियन संसदका प्रमुखले फेसबुकले प्रयोगकर्ताको डाटा सुरक्षित गर्न कस्ता प्रक्रिया अपनाएको छ वा छैन भन्ने बारे अनुसन्धान गर्ने बताएका छन् । आफूहरु यस विषयमा निकै गम्भीर र चनाखो रहेको बेलायती प्रधानमन्त्रीका प्रवक्ताले जानकारी दिएका छन् ।
गएको हप्ता बेलायती पत्रिका द गार्डियन र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले फेसबुकका दशौँ लाख प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग भइरहेको र यसबारे फेसबुकले प्रयोगकर्तालाई जानकारी नदिएको भन्दै खबर छापेका थिए । डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले फेसबुकबाट प्रयोगकर्ताको जानकारी संकलन गरेको उनीहरुले दाबी गरेका छन् ।
यो खबर आएपछि फेसबुकले क्याम्ब्रिज एनालिटिकाको पेज बन्द गरेको छ । एनालिटिकाले अनधिकृत रुपमा जानकारी संकलन गरेको र त्यसलाई डिलिट पनि नगरेको दाबी गरिएको छ । एनालिटिकाले बनाएको पर्सनालिटी क्वीज एप्लिकेशन मार्फत फेसबुक प्रयोगकर्ताको जानकारी संकलन गरिएको दाबी छ ।
यसरी संकलन गरिएको जानकारी सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा प्रचार गर्नका लागि प्रयोग भएको दाबी गरिएको छ ।
फेसबुक र क्याम्ब्रिज एनालिटिका दुवैले आफूहरुले प्रयोगकर्ताको जानकारीको अनधिकृत र अवैध प्रयोग नगरेको दाबी गर्दै आएका छन् ।
तर यो घटना बाहिर आएपछि अमेरिकामा अनुसन्धानका लागि प्रक्रिया सुरु भएको छ भने युरोपियन कमिसनले फेसबुकसँग सम्पर्क गरिसकेको बताइएको छ । यस्तै बेलायतले पनि कदम चालिसकेको छ ।
एनालिटिकाले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको पक्षमा जनमत बनाउनका लागि फेसबुकका ५० मिलियन प्रयोगकर्ताको जानकारी प्रयोग गरेको आरोप छ ।
आरोपले फेसबुक समस्यामा परेको छ । पछिल्लो समय प्रयोगकर्ताको बढोत्तरी सोचे अनुसार नभएर चिन्तामा रहेको फेसबुकलाई यो आरोपले थप अप्ठ्यारोमा पारेको छ । आरोप प्रमाणित भएमा फेसबुकमाथि प्रतिबन्ध पनि लाग्न सक्छ ।