
विराटनगर- नेपाली कम्पनीले चिनी उत्पादन गर्दा पनि धेरै नेपालीको चियामा नेपाली चिनी पर्दैन।
नेपालमा उत्पादन हुने चिनी बजारमा भन्दा पनि डाबर नेपाल, बोटलर्स नेपाल, पेप्सीकोला लगायतका कम्पनीमा पुग्ने गरेको छ।
सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनीको खपत हुन्छ। प्रदेश नम्बर एक उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य श्रवण अग्रवाल नेपाली उद्योगको ६० प्रतिशत माग पनि पुरा गर्न क्षमता भएको बताउँछन्। तर, ‘पाकिस्तानबाट प्रतिटन ३५० देखि ३६० अमेरिकी डलरमा चिनी नेपाल भित्रिँदा नेपाली उद्योगमा संकट बढेको’ उनको भनाइ छ।
नेपाली चिनी उद्योगले पाकिस्तानमा उत्पादित चिनीसँग मूल्यमा कडा प्रतिस्पर्धा गर्नु परेको हो। नेपाली उद्योगले भारतमा उत्पादित चिनीसँग प्रतिस्पर्धा गरिरहँदा पाकिस्तानको चिनी नेपाली बजारमा बिक्री हुन थालेपछि नेपाली उद्यमीको चिन्ता बढेको छ।
पाकिस्तानमा उखुको उत्पादनमा भएको वृद्धिले पाकिस्तानी चिनी प्रतिकेजी ३६ रुपैयाँमा पाइने गरेको छ। भन्सार महसुल १५ प्रतिशत र मूल्य अभिबृद्धि कर १३ प्रतिशत लगाउँदा पनि चिनी ४९ रुपैयाँमा नेपालमा आयात भइरहेको थियो। अर्थमन्त्री यूवराज खतिवडाको रिफरेन्स मूल्यमा कर लगाउन निर्देशन दिएपछि चिनीको आयात केही समय प्रभावित भएको थियो। रिफरेन्स मूल्यप्रति टन ४६० डलरमा कर लगाउँदा पनि प्रति केजी ५२ रुपैयाँमा चिनी आयात भइरहेको छ।
चिनी उद्योगीको दवाब सरकारले रिफरेन्स भ्यालुमा कर लगाएको चिनी आयात गर्ने व्यवसायीहरु आरोप छ।
उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य एवं चिनी आयातकर्ता अग्रवाल चिनी उद्योगको दबावमा सरकारले चिनीमा रिफरेन्स मूल्यका आधारमा कर लगाएर आतंक फैलाएको बताउँछन्।
सरकारले चिनी उद्योगलाई फाइदा पुर्याउन नै नेपाली जनतालाई सस्तोमा चिनी उपभोग गर्ने अवसरबाट बन्चित गराइरहेको उनको आरोप छ।
चिनी उद्योगी भने सरकारले विदेशी चिनीमा कडाइ नगर्ने हो भने स्वदेशी उद्योगहरु धराशायी हुने बताउँछन्। उनीहरु स्वदेशी चिनी उद्योगलाई जोगाउन सरकारसँग आग्रह गरिरहेका छन्।
चिनी आयात कर्ता रिफरेन्स मूल्य हटाउन माग गर्दै र चिनी उद्योगहरु चिनी आयात कडाइ गर्न माग गर्दै अर्थ मन्त्रालय आउने गरेको अर्थ मन्त्रालय उच्च श्रोतले जानकारी दिएको छ।
उद्योगीको तर्क छ, नेपाली चिनी उद्योग आजको दिनमा भारतका उद्योगसँग पनि प्रतिस्पर्धा गर्न सक्दैनन्। भन्सारमा कडाई नगर्ने हो भने नेपाली कम्पनी नै बन्द हुनेछन्।
भारतमा भन्दा नेपालमा किन चिनी महंगो ?
भारतमा सरकारले कृषकलाई दिने सहुलियत नै यसको मुख्य कारण भएको चिनी आयातकर्ता एवं उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य श्रवण अग्रवाल बताउँछन्। उनले भने, भारत सरकारले उखु किसानलाई सरकारले सहुलियत दिँदा उखुको मुल्य नेपाल भन्दा कम रहेको छ, जसका कारण चिनी नेपाल भन्दा कम मुल्यमा उत्पादन र बिक्री हुन्छ।
प्रदेश नम्बर एकमा रहेको एकमात्र चिनी उद्योग इस्टर्न सुगर मिलका प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्मा अग्रवालको तर्कमा सहमत छन्। उनी भन्छन्, ‘नेपालमा चिनी मिलले कृषकबाट उखु खरिद गर्दा महंगो मुल्य तिर्नु पर्ने हुन्छ।’
सुनसरीको बर्जु गाउपालिका ५ मा अवस्थित उक्त मिलले उखु कृषकबाट ५ सय ३१ रुपैया २० पैसामा प्रति क्विन्टलमा खरिद गर्दछ जुन भारतको भन्दा मंहगो भएको उद्योगी बताउँछन्। झापा, मोरङ र सुनसरीमा उखु उत्पादन गरिदाँ पनि नेपालमा उत्पादनहुने उखु चिनी उत्पादनका पर्याप्त नहुने शर्माको भनाइ छ। इस्टर्न सुगर मिलमा प्रतिदिन २० देखि २१ हजार क्विन्टल उखु पेलिन्छ। यसबाट करिब २१ सय किलो चिनी उत्पादन हुने गर्दछ। शर्मा भन्छन्, हामी कहाँ प्रति १ क्विन्टल उखुबाट सरदर ९ किलो चिनी उत्पादन हुन्छ।
‘अब मिल पनि पुरानो हुँदै गएको छ, बार्षिक मर्मतसम्भार, तेस्रो मुलुकबाट केमिकल आयात गर्नुपर्ने कारणले पनि पहिले जस्तो चिनी उत्पादन सहज छैन,’ उनी भन्छन्।
सरकारले किसानलाई सहुलियत नदिने हो भने चिनी उत्पादनलाई निरन्तरता दिन गाह्रो छ।
चिनी उत्पादनका लागि भारतमा ब्राजिल तथा थाइल्याण्डबाट सरकारले कृषकबाट सस्तो मूल्यमा उखु खरिद गर्ने गरेको छ। भारतमा मुख्यगरी उतरतर्फ विहार, हरियाणा, उत्तराखण्ड, पन्जाब र दक्षिणतर्फ महाराष्ट्र, कर्नाटका, तामिलनाडु, गुजरात, आन्ध्रप्रदेश, मध्यप्रदेशमा सर्वाधिक उखु खेती हुने गर्दछ। भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक मन्त्रालयका अनुसार, भारतमा ५० करोड मानिस उखु उत्पादनमा प्रत्यक्ष रुपमा जोडिएका छन्।
भारत सरकारले उखु उत्पादक किसानलाई ४ खर्ब २५ करोड भारतीय रुपैयाँ वितरण गरेको छ। भारत सरकारले कृषकसंगै चिनी मिल पनि वित्तीय अनुदान उपलब्ध गराउँदै आएको छ।