
काठमाडौँ– बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक हुँदैछ। अर्थ मन्त्रालय स्रोतका अनुसार बजेट कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नमा केन्द्रीत हुनेछ।
‘यस वर्षको बजेट स्वास्थ्यमा केन्द्रीत छ। आगामी दिनमा स्वास्थ्य सम्बन्धी आउन सक्ने जोखिमका लागि अपनाउनु पर्ने नीतिगत व्यवस्थाहरु समेटिएको छ’, अर्थमन्त्रालयका एक अधिकारीले भने।
कोरोना भाइरसले निम्त्याएको आर्थिक संकटले स्रोत व्यवस्थापनमा ठूलो चुनौती थपेको अर्थमन्त्रालयको विश्लेषण छ।
यस्तै बिहीबार अपराह्न ४ बजे सार्वजनिक हुने बजेटमा रोजगारीको सिर्जना तथा कृषि प्रविधि क्षेत्र लगायत नयाँ कार्यक्रमहरु पनि समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।
आगामी वर्ष १५ लाख नयाँ रोजगारी सिर्जना गर्नुपर्ने अनुमान सरकारको छ। १५ लाख नयाँ रोजगारी सिर्जना गर्नको लागि प्रोत्साहनको नीति सरकारले लिनेछ।
मन्त्रालयका अनुसार बजेटले प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरुप परिवर्तन गर्ने लगायत श्रम बैंकको घोषण गर्नेछ।
यसैगरी बजेटमा सूर्तीजन्य, मदिरा र सवारीसाधनको कर बढ्ने तथा स्वदेशी वस्तुको प्रवर्द्धन गर्नको लागि विदेशबाट आयात गर्ने वस्तुहरुमा करको दायरा बढाइने छ।
बजेटमा अनावश्यक खर्च कटौती गर्नुका साथै विशेषगरी टुक्रे आयोजनाहरु केही कटौती हुने मन्त्रालयले जनाएको छ। स्रोतले भन्यो, ‘सरकारले खर्च कटौती गर्न नयाँ सवारीसाधन खरिद नगर्ने र तालिम तथा प्रोत्साहनका नाममा दिइने भत्ता पनि नदिने घोषणा गर्नेछ।’
स्रोतका अनुसार बजेटमा कर्मचारीको तलब नबढाइने र कर्मचारीको सुविधा यथावत नै रहने छ भने सामाजिक सुरक्षा भत्ता आर्थिक अवस्थाको आधारमा दिने घोषणा गर्नेछ।
विशेषगरी कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्न यस बजेटले विशेष जोड दिने मन्त्रालयले जानकारी दिएको छ।
कुन–कुन क्षेत्र बजेटमा पहिलो प्राथमिकतामा परे ?
आर्थिक वर्ष २०७७/०७८ को बजेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पहिलो प्राथमिकतामा परेको छ। मन्त्रालय स्रोतका अनुसारका सो विमानस्थल आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना छ।
यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, एसियाको ’ट्रान्जिट हब’ विमानस्थलका रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको थप स्तरोन्नति, विराटनगर विमास्थलमा टर्मिनल भवन निर्माण र नेपालगञ्ज विमानस्थलमा सुविधा सम्पन्न क्षेत्रीय अन्तर्राष्ट्रिय उडानका लागि नयाँ टर्मिनल भवन बनाउने लगायतका विषय बजेटमा समावेश गरिएको स्रोतले जानकारी दिएको छ।
यसैगरी सातै प्रदेशमा उडान गर्न सकिने गरी विमानस्थलको विस्तार गर्ने, सुर्खेत विमानस्थल विस्तार, दाङमा क्षेत्रीय आन्तरिक विमानस्थल निर्माण र काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने विषय पनि बजेटको प्राथमिकतामा परेको स्राेतले बतायो।