
सिमकोट– कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ५१ पुगेको छ। जसमध्ये दैलेखका मात्रै ९८ जना छन्। कोरोनाको संक्रमणबाट दैलेखको दुल्लुका एक जना ३५ वर्षीय पुरुषको मृत्यु भइसकेकाे छ।
अन्य प्रदेशहरु भन्दा पछि मात्रै कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशमा पछिल्लो समय संक्रमण तीब्र गतिमा फैलिँदै गएको छ।
अहिलेसम्म सुर्खेतमा ६२ जना, सल्यानमा ५३ जना, जुम्लामा १९ जना, कालिकोटमा १८ जना र मुगुमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यी मध्ये कालिकोट र जुम्लाका सबै संक्रमितको जिल्लामै उपचार भइरहेको छ भने दैलेखका एक जना, बाजुराका एक जना, बझाङका एक जना र सल्यानका १२ जना गरी ७७ जनाको सुर्खेतमा उपचार भइरहेको छ। अरु सल्यान, मुगु र दैलेखका संक्रमितको उपचार पनि जिल्लामै भइरहेको छ।
संक्रमण पुष्टि भएकाहरुको प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परिक्षण गरिएको थियो।
यी तीन स्थानमा स्वाब परीक्षण गर्दा २६२ जनाको रिपोर्ट पोजेटिभ आएकाे भएपनि नौ जना अछाम, एक जना बाजुरा र एक जना बझाङका रहेका छन्।
कोरोना संक्रमणको उपचार गरिरहेका कर्णालीका सबै क्यक्तिहरुको स्वास्थ्य सामान्य रहेको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले बताए।