
सिमकोट – कोरोना कहरले बन्दाबन्दीको अवस्थामा गाउँमा पहिलो पटक शुद्ध खानेपानी ल्याउनका लागि स्थानीय बासिन्दाहरु मिलेर कुलो खन्न लागिपरेका छन् ।
यसअघि गाउँमा भएको कुवाको पानीले नपुग्ने र सधैँ पानीको समस्याबाट पीडित हुनु परेपछि चालु आर्थिक वर्षमा परेको खानेपानी योजना निर्माण गरेर गाउँमा पानी ल्याउन स्थानीय बासिन्दा लागिपरेका हुन् ।
खानेपानीको समस्या भोग्नु पर्दा हैरान भएका सिमकोट गाउँपालिका वडा नम्बर ८ को स्याँडा गाउँका बासिन्दाहरु कुलो खन्न थालेका स्थानीय पुर्णसिंह बुढाले बताए ।
यतिबेला योजनाको निर्माण कार्य सकेर धारामा पानी खसाल्नु पर्ने बेला भए पनि कोरोना कहरपछि जारी लकडाउनका कारण काम रोकिएको थियो । तर अहिले भने लकडाउनकै बेला पनि काम सूचारु गर्ने निर्णय गरिएको हो ।
यो योजना सम्पन्न भए ११ वटा धारा, चार वटा इन्टेक, र तीन वटा आरकिटि ट्याङ्की निर्माण भएर गाउँबासीको खानेपानी समस्या समाधान हुने ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले बताए ।
नेपाल सरकार, फिनल्याण्ड सरकार, गाउँपालिका र स्थानीय जनताको जनश्रमदान गरि ६० लाख ७४ हजार रुपैयाँमा सो खानेपानी योजना सम्पन्न हुनेछ ।