
सिमकोट-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई आग्रह गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वुधवार भएको छलफलमा मुख्यमन्त्री शाहीले रोजगारीको लागि भारत गएका नागरिकहरु फिर्ता भएसंगै कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण वढेको वताउदै सहयोगको लागि दाताहरुलाई आग्रह गरेका हुन।
भारतवाट फर्किनेहरुको संख्या ३५ हजार पुगेको वताउदै मुख्यमन्त्री शाहीले क्वारेन्टिईन व्यवस्थापन, आईशोलेसन व्यवस्थापन र संक्रमण परिक्षणमा सरकारलाई समस्या परेको बताए।
कर्णाली प्रदेशवाट झण्डै डेढ लाखको संख्यामाभारत र तेश्रो मुलुकहरुमा रोजगारीको लागि गएको वताउदै उनले अझै एक लाख भन्दा वढी नागरिक कर्णाली फर्कने अनुमान सरकारको रहेको बताए।
ठूलो संख्यामा विदेशवाट फर्किएका नागरिकहरुवाट संक्रमण रोक्न निकै चुनौतीपूर्ण रहेको वताउदै मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुको सहयोग आवश्यक रहेको स्पष्ट पारे।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा स्थापना गरिएका दुईवटा प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५ सय नमुना मात्र परिक्षण गर्न सकिने वताउदै प्रयोगशालाको संख्या वृद्धि गर्न आवश्यक रहेको बताए।
मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुलाई कोभिड-१९को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाईन र आईशोलेसन व्यवस्था, पीसीआर प्रयोगशालाको स्थापना, परिक्षणका लागि आवश्यक किट र एम्वुलेन्समा सहयोग गर्न आग्रह गरे।