
काठमाडौँ– अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार खोल्न निर्देशन दिएका छन्। ‘जुम’मार्फत आइतबार नेपाल धितोपत्र बोर्डको २८ औँ वार्षिकत्सवलाई सम्बाेधन गर्दै उनले सुरक्षाका उपाय अपनाएर सेयर बजार खोल्न निर्देशन दिएका हुन्।
उनले लामो समयसम्म सेयर कारोबार बन्द गर्न नहुने बताए। आगामी दिनमा धितोपत्र बोर्ड सशक्त रुपमा अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे।
उनले भने, ‘आगामी दिनमा धितोपत्र बोर्ड पुँजी बजारको सशक्त निकायको रुपमा अघि बढ्ने अपेक्षा गरेको छु। पुँजी बजारको औचित्यका बारेमा लामो समयदेखि बहस भइरहेको छ। पछिल्लो चरणमा केही चुनौतीहरु थपिएका छन्।’
उनले बोर्डले ती चुनौतीहरुलाई सामना गर्न सक्ने विश्वास व्यक्त गरे। उनले धितोपत्र बोर्ड आन्तरिक पुँजी परिचालनका माध्यमबाट दीर्घकालीन लगानीका लागि एउटा अवसर सिर्जना गर्ने प्रणाली भएको बताए।
यस्तै सेयर बजारमा अब ऋणपत्रहरुको कारोबार बढाउनु पर्ने अर्थमन्त्री खतिवडाकाे भनाइ छ।
अर्थमन्त्री खतिवडाले भने, ‘ऋणपत्रको विकास गर्ने कुरा छ, जुन उपयुक्त पनि छ। अहिले बैंकहरुले ठूलै परिमाणमा डिभेन्चरहरु इस्यू गर्दै छन् भने क्रमशः औद्योगिक डिभेन्चर पनि अघि आउन सक्यो भने ऋणपत्रको बजार पनि अघि बढ्छ।’
यस्तै अर्थमन्त्री खतिवडाले क्रेडिट रेटिङलाई व्यवस्थित बनाउन र आगामी दिनमा यसको शुल्क घटाउन सुझाव दिएका छन् ।
लकडाउनको कारण सेयर बजार बन्द हुँदा कारोबार गर्नेलाई समस्या भएको हुनसक्ने र अहिलेका लागि सेयर बजारमा समस्या भएपनि यो अल्पकालिन हुने उनले दाबी गरे।
कोरोनासँग लडदै आर्थिक क्रियाकलपाप सूचारु गर्दै जान उनले बोर्डको ध्यानर्कषण गराए। ‘हामी कारोना भाइरससँग लड्दै हाम्रा दैनिक आर्थिक क्रियाकलापलाई सहज रुपमा अघि बढाउने छौँ’, उनले भने, ‘सरकारले यसै विषयमा काम गरिरहेको छ।’
यसैगरी उनले दैनिक जीवनयापन सहज बनाउनका लागि बैंक, बीमा खोल्न आवश्यक रहेको बताए। ‘खासगरी जीवनरक्षा पहिलो कर्तव्य हो। जीवनरक्षा सँगसँगै जीवनका अरु पक्षहरु आधारभूत दैनिक आवश्यकताका कुराहरु पूरा गर्न आर्थिक क्रियाकलाप चलाउनु पर्छ। त्यस कुरामा सरकारले गृहकार्य गरिरहेको छ’, उनले भने।
अर्थमन्त्री खतिवडाले लामो समयसम्म लकडाउन भएपनि बजार भने लामो समयसम्म बन्द गर्न नमिल्ने बताए।
यसैगरी अर्थमन्त्रीले बजारको जोखिम लिन नचाहने र बजारका आउन चाहनेलाई म्यूचुअल फण्ड आएको भएपनि यो प्रारम्भिक चरणमा रहेको भन्दै यसको विकासमा लाग्न बोर्डलाई आग्रह गरे। व्यक्तिगतका साथै संस्थागत लगानीकर्ता बढाउनेतर्फ जोड दिनुपर्ने उनले बताए।
धितोपत्र बजार चलाउन तरलता चाहिने भन्दै यस्तो तरलता व्यवस्थापन धितोपत्र बोर्ड र नेप्से मिलेर उपलब्ध गराउन सक्ने उनले बताए। ‘मार्जिनका कुराहरु, कारोबारलाई छिटोछिटो गर्ने कुराहरु हुन सक्छन्’, उनले भने, ‘धितोपत्र बोर्डले नेप्सेसँग छलफल गरेर काम गर्यो भने त्यहाँबाट तरलता उपलब्ध गराउन सकिन्छ।’
यस्तै अर्थमन्त्रीले बजारमा स्टक डिलर आएपछि अस्वभाविक रुपमा हुने उतार चढाव कम हुने दावी गरे। तर यसको लागि कानून निर्माण लगायतका काम भइरहेको उनले बताए। ‘ स्टक डिलर आएपछि बजारमा उचार चढाव आउँदैन’, उनले भने।
अर्थमन्त्रीले बोर्डलाई वित्तीय साक्षरतामा ध्यान दिन तथा नाफा सुनिश्चित गर्ने विषयमा लगानीकर्तालाई जानकारी दिन आग्रह गरे। ‘हाम्रो वित्तीय साक्षरता पुगेकै छैन। सेयर बजारमा कसरी मुनाफ आर्जन गर्न सकिन्छ भन्ने पनि साक्षरताभित्र पर्छ। त्यसका लागि बोर्डले काम गर्न जरुरी छ’, उनले भने।
उनले जनतालाई यस सम्बन्धी जानकारी दिन धितोपत्र बोर्ड, नेप्से लगायतले काम बाँडफाँड गरेर अगाडी बढ्नसमेत सुझाव दिए। आगामी दिनमा सार्क स्तरिय पुँजी बजारमा ध्यान दिन पनि उनले आग्रह गरे।
कोरोना भाइरसका कारणले नेपालको भन्दा यूरोप, अमेरिकाको सेयर बजारमा असर परेको उनले बताए।
दक्षिण एसियाली मुलुकमा पुँजी बजार विस्तार गर्न सकेमा लगानी भित्र्याउन सकिने उनको भनाइ छ। पुँजी परिचालनका लागि सेयर बजारको भूमिका रहने बताए।
यस्तै निजी क्षेत्रको ऋणपत्र आउने तथा त्यसले आर्थिक वृद्धिमा सहयोग गर्ने र त्यसको लागि धितोपत्र बोर्डको सहयोग आवश्यक भएको उनको भनाइ छ।
विश्वभर फैलिएको महामारी कोरोना भाइरसका कारणले सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको हो। लकडाउन सुरु गरेको अवधिभर धितोपत्र बोर्डले सेयर बजार २ दिन मात्र खोलेर हालसम्मलाई बन्द गरिएको छ।